पोखराको सडकमा हजार सौर्य बत्ती जडान गरिने

पोखरा, ८ कात्तिक । तिब्बत सरकार र पोखरा उपमहानगरपालिकाबीच सौर्य सडक बत्ती जडान गर्ने सम्बन्धमा आज सम्झौता भएको छ ।

सम्झौतापत्रमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गाना र तिब्बत सरकारका वैदेशिक विभागका उपनिर्देशक मा कुविन सिङले हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार पोखराको विजयपुरदेखि हल्लनचोकसम्मको सडकमा एक हजार सौर्य बत्ती जडान गरिने र यसका लागि करिब रु १५ करोड खर्च लाग्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो । आगामी पुसदेखि सडक बत्ती जडान सुरु गरी एक वर्षभित्र सम्पन्न गर्ने बताइएको छ ।
सो अवसरमा उपनिर्देशक सिङले सौर्यबत्ती जडानबाट उपमहानगरपालिका र तिब्बत सरकारबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी अधिकृत ढुङ्गाना र सङ्घका अध्यक्ष पालिखेले सो सहयोगबाट पोखरावासी निकै हर्षित भएको धारणा राख्नुभयो ।


Facebook Comment


No ads found for this position