कल्भर्ट नबन्दा सवारी आवागमनमा जोखिम

काँकडभिट्टा (झापा), ८ कात्तिक । पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रमा कल्भर्ट भत्किएको एक महिना बितिसक्दासमेत सम्बन्धित निकायले बनाउने चासो नदिँदा सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य छन् ।

गत असोज ५ गते अविरल वर्षाका कारण बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको कल्भर्ट भत्कियो । सडक विभागले तत्कालै जेसिबी लगाएर पुरपार पार्दै यातायातलाई कामचलाउ बनाए पनि भत्केकै अवस्थामा रहेको साँघुरो एकातर्फी ट्र्याकबाट सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य भएका हुन् ।

मुलुककै एकमात्र राजमार्ग भएका कारण यहाँ यातायातको उच्च चाप छ । यस्तो जान्दाजान्दै पनि सरकारले भत्किएको कल्भर्टको ठाउँमा नयाँ पुल बनाउने ठोस योजना बितेको एक महिनामा बनाउन सकेको छैन । यस्तो महत्वपूर्ण राजमार्गमा भत्केको कल्भर्ट सरकारले एक हप्तामै बनाइसक्नुपर्ने मेची बस व्यवसायी सङ्घका सचिव राजेन्द्रले रिजालको भनाइ छ ।

“राज्यका लागि जनताको हितभन्दा ठूलो अरु केही हुन सक्दैन”, रिजाल सरकारलाई प्रश्न गर्नुहुन्छ – “एउटा कल्भर्ट बनाउने कुरा कुन ठूलो काम हो र ?”

सरकारले बजेटको व्यवस्था मिलाउने हो भने सो स्थानमा नयाँ कल्भर्ट तीन महिनाभित्रै बनाउन सकिने झापाका अगुवा निर्माण व्यवसायी शेरबहादुर थापा बताउनुहुन्छ ।

दमकस्थित डिभिजन सडक कार्यालयले सो स्थानमा बक्स कल्भर्ट निर्माणका लागि १० दिनअघि टेन्डर आह्वान गरेको छ । तर बजेट बिना नै टेन्डर खोलेका कारण योजना कार्यान्वयन हुनेमा शङ्का छ ।

भर्खरै सरुवा हुनुभएका डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले रु एक करोड २४ लाखमा बक्स कल्भर्ट बनाउन टेन्डर आह्वान गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले आगामी जेठसम्ममा नयाँ कल्भर्टबाट गाडी गुडाइने दाबी पनि गर्नुभयो ।


Facebook Comment


No ads found for this position