संरक्षित सूचीको वन्यजन्तु हाब्रे,पश्चिमी क्षेत्रमा बढी बासस्थान रहेको पहिचान

अब्दुल्लाह मियाँ
सरकारको पछिल्लो सर्वेक्षणले सुन्दर वन्यजन्तु हाब्रे (रेडपाण्डा) २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेकोसमेत पहिचान गरेको छ ।
सर्वेक्षणको नेतृत्व गरेको ‘रेडपाण्डा नेटवर्क’ का संरक्षण व्यवस्थापक डम्बर विष्टले हाब्रेको उपस्थिती, तिनको वासस्थान र आहारप्रजातिबारे नयाँ तथ्य पत्ता लागेको बताए ।
red panda ‘यसअघि गफकै आधारमा हाब्रेबारे व्याख्या गरिन्थ्यो,’ विष्टले भने, ‘अहिलेको अध्ययनले हाब्रे कहाँ कहाँ पाइन्छ भन्ने पुष्टि भएको छ ।’ विष्टसहित ४० जना जीवशाश्त्रीहरु संलग्न भएर गरेको सर्वेक्षणले २३ जिल्लाका ६४ गाविसमा यो वन्यजन्तु पाइने पत्तो लगाएको छ । वन मन्त्रालयले ‘हरियो वन कार्यक्रम’ को सहयोगमा पहिलो पटक हाब्रेको सर्वेक्षण गरेको हो ।
 सर्वेक्षणले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा हाब्रेको उपस्थिती रहेको देखाएको छ ।
 डोल्पा, लमजुङ र भोजपुरमा यसअघि नदेखिएको ठाउँमा पनि हाब्रे भेटिए । दार्चुला, डोटी, बझाङ, अछाम, बाजुरा, मनाङ र गोरखामा यसअघि पाइएका ठाउँमा यसपटक हाब्रो नभेटिएको विष्टले उल्लेख गरे । २ हजार मिटरभन्दा बढी उचाईँमा पाइने हाब्रे निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनूसूची १ र आइयुसिएनको रातो किताबमा अति संकटापन्न सूचीमा सुचीकृत छ ।
 मुलुकभर १६ हजार ३ सय १६ वर्गकिलोमिटर क्षेत्रमा हाब्रेको वासस्थान रहेको पनि थाहा भएको छ । त्यसमध्ये सबभन्दा बढी ४६ प्रतिशत पश्चिम, २८ प्रतिशत पूर्व र २६ प्रतिशत मध्य क्षेत्रमा हाब्रेको वासस्थान रहेको पाइएको छ । विष्टका अनुसार यसअघि मध्य भागमा बढी हाब्रे रहेको बताइन्थ्यो ।
 यो सर्वेक्षणले हाब्रेको ७५ प्रतिशत वासस्थान निकुञ्ज/आरक्ष वा संरक्षित क्षेत्र बाहिर र २५ प्रतिशत संरक्षित क्षेत्रभित्र रहेको देखाएको छ । ‘सर्वेक्षणले संरक्षण क्षेत्रभित्र भन्दा बाहिरी क्षेत्रमा यो जन्तुको संरक्षणमा जोड दिनुपर्ने देखाएको छ,’ उनले भने । अध्ययनकर्ता विष्टले १७ प्रकारका बाँस र निगालो प्रजाति हाब्रेको मुख्य आहार भएको पनि पुष्टि भएको बताए ।
हाब्रेको संख्या पत्ता लगाउन अनुसन्धानकर्ताहरुले हाब्रे पाइने विभिन्न जिल्लाबाट हाब्रेको ३५० वटा दिसाको नमुना काठमाडौं ल्याएको छ । त्यो दिसाको परीक्षणबाट तिनको संख्या यकिन गर्न सहयोग मिल्ने जानकारहरु बताउँछन् । यसअघि नेपालमा २ सय ६१ देखि १ हजारसम्म हाब्रे पाइने अनुमान गरिएको थियो । यसपटक गरिएको सर्वेक्षणले तिनको संख्या थाहा पाउन मद्दत पुग्ने बिष्टले उल्लेख गरे । पछिल्ला वर्षमा यसको छालालगायतको अंगको अवैध व्यापार बढेको छ । साभार कान्तिपुर


Facebook Comment


No ads found for this position