कृष्णहरिले रुँदै भने- नेपाल सरकार मूर्दावाद ! नेपाल सरकार चोर हो !
पुष्प ढुंगाना
१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमणका लागि दिल्ली विमानस्थलबाट उड्ने तयारीमै थिए । उनी काठमाडौं ओर्लिइसकेकै थिएनन् ।
नयाँ बानेश्वर चोक र बबरमहलको बीचमा पर्ने बुद्धनगरभित्रबाट मोटरसाइकलमा सवार एक व्यक्ति अल्फाबिटा कम्प्लेक्स नजिकै पुगे । उनले मोटरसाइकलमा रगत बोक्न प्रयोग गरिने ‘मेडिकल बक्स’ बोकेका थिए ।
तर, बुद्धनगर चोकैमा बसेका ट्राफिक प्रहरीले उनलाई अगाडि बढ्न दिएनन् । प्रहरीले केहीबेरमा भारतका राष्ट्रपतिको सवारी भएपछि मात्रै जान सक्ने भन्दै रोके ।
उनले आग्रह गरे, ‘हस्पिटलमा मेरो बिरामीको अवस्था निकै क्रिटिकल छ, म उसका लागि रगत लिएर आएको हुँ । बबरमहलबाट अनामनगर हुँदै भित्री बाटोबाट जान्छु ।’
उनी रहेछन् कृष्णहरि कार्की । कार्कीका बिरामी आफन्त पुतलीसडकस्थित भ्याली म्याटरनिटी नर्सिङ होममा रहेछन् । तर, आदेश पालनामा खटिएका प्रहरीले उनको पीडा बुझ्न सकेनन् । प्रहरीले भने, ‘हरेकको व्यक्तिगत समस्या सुनेर छोड्न सकिँदैन, यो मेरो क्षेत्राधिकारभित्रको कुरा पनि होइन ।’
यति सवाल-जवाफमै कार्कीले भावुक हुँदै भने, ‘नेपाल सरकार मूर्दावाद ! नेपाल सरकार चोर हो !’
प्रहरी र कार्कीवीचको वादविवाद अनलाइनखबरले कैद गर्न लाग्दा कार्कीले हेलमेटको भाइजरले मुख छोप्दै भने, ‘मेरो बिरामी मर्न लागिसक्यो, फोटो नखिच्नुस् ।’
यति भन्दै गर्दा उनका आँखाबाट आँसु झरिरहेका थिए । कार्कीले भाइजर खोलेर आँसु पुछे । त्यसपछि निराश हुँदै बुद्धनगरभित्रकै सडकतिर फर्किएर अलप भए ।
कार्की फर्किएपछि ट्राफिक जवानले भने, ‘मैले उहाँको समस्या बुझेको छु, तर हाकिमले नछोड् भन्यो त मैले के गर्नु, मैले आदेश पालना गरेको हुँ ।’
आजभन्दा ठीक एक वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीले देश थिलथिलो बनेको थियो । सडक थियो, सवारी साधनहरु पनि थिए, तर इन्धनको अभावले गाडीहरु गुड्न सकेका थिएनन् । त्यो बेलामा पनि विरामी र तिनका आफन्तले यसैगरी आँसु बगाउनुपरेको थियो ।
गत वर्षको कात्तिक महिनामा इन्धन अभावमा एम्बुलेन्स चल्न नसक्दा राजधानीसँगै जोडिएको धादिङमा एकजनाको अकालमै मृत्यु भएको थियो । तर, यो त एउटा उदाहरण मात्रै हो, एक बर्षअघि भारतले लगाएको नाकाबन्दीबाट औषधि अभाव, इन्धन अभावका कारण धेरैले यस्तो सास्ती कति खेपे कति ।
तर, राष्ट्रिय समस्या भएकाले त्यतिखेर त्यसको दोष सरकारमाथि परेन । भारतले गरेको अघोषित नाकाबन्दीका कारण समस्या भएको भन्दै सबैले त्यसैअनुसार सामना गर्दै चित्त बुझाए । तर, अहिले जनताले सरकारसँग चित्त बुझाउने ठाउँ देखेनन् ।
बुद्धनगरचोकबाट अस्पताल जान नसकी फर्किएका कार्की कसरी र कतिबेला पुतलीसडकस्थित अस्पताल पुगे, त्यो जान्न सकिएन । तर, मुख्य प्रश्न हो- एक घण्टापछि भारतीय राष्ट्रपतिको सवारी हुने भन्दै कार्कीलाई बाटो काट्न दिइएन ।
कार्की एक घण्टापछि रगत बोकेर जाँदा डाक्टरले ढीला गर्नुभयो, बचाउन सकिएन भन्ने जवाफ दिएको भए ? यसमा मुख्य दोषी को हुन्छ सरकार ?साभार अनलाईनखबर