ह्विलचेयरसहित डोकोमा अन्नपूर्ण यात्रा पुरा गर्दा (फोटो फिचर)

timthumb-1गजेन्द्र बुढाथोकी

‘गजेन्द्र, अन्नपूर्ण हिमालतिर घुम्न जाने हो?’पूर्व सहकर्मी पत्रकार तथा लेखक ददि सापकोटाले करिब दुई महिनाअघि फेसबुक म्यासेन्जरमा अनौठो प्रस्ताव राख्नुभयो।

२०६५ असोज ८ गते सडक दुर्घटनामा परेर मेरुदण्डको पक्षघात (स्पाइनल कर्ड इन्जुरी) भएपछि मलाई काठमाडौंभित्रै यताउति आवतजावत गर्न कठिनाइ हुन्छ। काठमाडौं बाहिर र त्यसमाथि पदयात्रा क्षेत्रको भ्रमण त मेरो लागि कल्पनाभन्दा बाहिरको कुरा थियो। गत पुसमा आमाको निधन हुँदा अत्यन्तै सकसपूर्ण ढंगले गाईघाटस्थित घरसम्म पुगेको थिएँ। त्यही सम्झेर मैले भनेँ, ‘हुँदैन, मलाई समस्या हुन्छ।’
ददिजीले सम्झाउँदै भन्नुभयो, ‘हामीले शारीरिक रूपमा अपांगता भएकै व्यक्तिलाई यो यात्रामा लैजान खोजेका हौं, त्यस्तो अप्ठ्यारो केही हुन्न।’
मैले तैपनि आँट गरिहाल्न सकिनँ। जवाफ दिएँ, ‘होइन, नजाउँ होला, बरु अरू नै अलिअलि अपांगता भएका व्यक्ति कसैलाई लग्नुस् न है।’मैले नजाने मुड बनाइसकेको थिएँ, ददिजीले भने पिछा छाड्नुभएन।
केही दिनपछि फेरि सन्देश पठाउनुभयो, ‘हुँदैन, सक्दिनँ त जसले पनि भन्छन्, मन–मुटु दह्रो बनाए केही असम्भव हुँदैन। हामी सहयोग गर्ने छँदैछौं। तपाईंजस्तै अपांगता भएको ११ वर्षको बच्चा यही यात्राका लागि स्विट्जरल्यान्डदेखि आउँदैछन्। यो यात्रामा तपाईं र त्यही स्विस बच्चा जाने हो। कुनै पिर लिनु पर्दैन। सहयोगीका रूपमा तपाईं श्रीमतीलाई पनि लान सक्नुहुन्छ।’मैले श्रीमतीसँग सल्लाह गरेँ।
 
‘सहयोगी हुने भए जानुस् न त,’ उनले पनि मलाई हौस्याइन्।सुरुमा उनी पनि मसँगै जाने योजना थियो। पछि उनी कार्यरत बैंकमा लामो विदा मिलेन। त्यही भएर १३ वर्षको छोरा सुयोगलाई लिएर यही कात्तिक ३ गते हामी काठमाडौंबाट पोखरा हुँदै अन्नपूर्ण पदयात्रा मार्गको सफरमा निस्कियौं। साथमा थिए, यात्रा संयोजक स्विस मनोविज्ञानविद् प्थाथ्रिक जनेन, फ्रान्सलाई नै कार्यभूमि बनाउँदै आएका लेखक ददि सापकोटा, एक किसिमको मस्तिस्क पक्षघात (सेलिब्रल पाल्सी) बाट प्रभावित ११ वर्षीय स्विस बालक आन्त्वान, उनका पिता क्लोद बेदमेयर, आमा क्यारिन र उनका १२ वर्षीय दाइ आद्रियाँन।
बुद्ध एयरले हामीलाई पोखरामा ओराल्यो। त्यहीँ भेटिए हाम्रा सहयोगीहरू अनिल कार्की, रमेश भण्डारी, कृष्ण लामा, भरत थापा र कृष्ण कार्की। किम्चेसम्मको दुरी टाटा सुमोमा तय गरेपछि करिब १ बजेबाट हाम्रो डोको यात्रा सुरु भयो।
सुरुमा त मलाई निकै डर लागेको थियो। किनकि, हाम्रा सहयोगीहरू मभन्दा अलिकता पातला देखिन्थे। स्विस भाइ आन्त्वानलाई बोक्न समस्या थिएन। ऊ अलिअलि लर्खराउँदै भए पनि हिँड्न सक्थ्यो।  त्यसको तुलनामा ६०–६५ किलो तौल भएको र आधा शरीर नचल्ने मान्छेलाई बोकेर हिँड्न सम्म बाटोमा त कठिन हुन्छ भने त्यो पहाडी उकाली–ओरालीमा सहज हुने कुरै भएन।
किम्चेबाट उकालो लागेको करिब एक घन्टापछि मौसम धुम्मियो। पानी पर्लाजस्तो भयो। नपरे पनि अचानक मेरो शरीर काम्न थाल्यो। मलाई पहिलो दिन नै कतै ‘युरिन इन्फेक्सन’ त भएन भन्ने डर लाग्यो। त्यसो भइदिएको भए यात्रा छाडेर फर्कनुपर्ने हुन सक्थ्यो। हामी स्पाइनल कर्ड इन्जुरी भएका मानिसको मुख्य समस्या नै पिसाबमा हुने संक्रमण हो। हामीलाई बेलाबेला यस्तो समस्याले सताइरहन्छ। यस्तो बेला दिसापिसाब आफैं प्राकृतिक रूपमा हुँदैन। क्याथेटर राखेर पिसाब निकाल्नुपर्ने हुन्छ। समयमै निकालेन भने त्यसले नै संक्रमण गराउँछ।
gajendraमानिसको मुत्रथैली कसैको कसिलो त कसैको खुकुलो हुने रहेछ। कसिलो मुत्रथैली भएका मानिसले धेरै बेर पिसाब रोक्न र जम्मा गर्न सक्दा रहेछन्। खुकुलो मुत्रथैली भएका मानिसको भने थैली भरिएपछि आफैं चुहिएर भए पनि मुत्रथैली केही खाली हुने रहेछ। मेरो मुत्रथैली खुकुलो थियो। म यसलाई आफ्नो समस्या मान्थेँ। यही समस्या यात्राका क्रममा मलाई ‘पिसाब संक्रमण’ बाट बचाउने समाधान बनिदियो। मैले पिसाब चुहिएर कपडा नभिजोस् भनी ‘एडल्ट डाइपर’ लगाएँ, जुन अरू बेला पनि प्रयोग गर्छु।
मलाई सहयोगीहरू कृष्ण लामा, भरत थापा र रमेश भण्डारीले पालैपालो डोकोमा बोकेर साँझ घान्द्रुक पुर्याए। पहिलो दिनको यात्रा भएकाले मलाई कति समयमा अप्ठेरो पर्दो रहेछ भन्ने बुझ्न सहयोगीहरूलाई समय लाग्यो। हाम्रा सामान भने खच्चरलाई बोकाएर लगिएको थियो। गुर्जुङका जसबहादुर गुरुङले खच्चरको व्यवस्थापन गरेका थिए।
जसबहादुरकी छोरी विपनालाई १५ वर्षअघि काका नाता पर्नेले बलात्कार गरेर खोलामा फ्याँकेको थियो। नेपाल घुम्न आएका स्विस मनोविज्ञानविद् प्याथ्रिक जनेनले त्यो घटनाबारे थाहा पाएर १४ वर्षदेखि नै जसबहादुरको परिवारलाई सहयोग गर्दै आएका रहेछन्। उनले म र आन्त्वानलाई जसबहादुरको गुर्जुङस्थित घरमै राख्ने व्यवस्था मिलाएका रहेछन्। यसको पछाडि कारण रहेछ। प्याथ्रिक हामीमार्फत् जसबहादुरलाई के बुझाउन चाहँदा रहेछन् भने, संसारमा तिमी मात्र दुःखी छैनौ, फरक–फरक प्रकृतिका मान्छेले फरक–फरक दुःख भोगिरहेका छन्।
gajendraभोलिपल्ट करिब पाँच घन्टाको कठिन यात्रा गरेर हामी गुर्जङ पुग्यौं। बाटोमा ‘अब कति बाँकी छ’ भनेर सोध्दा जसबहादुर र अरू स्थानीय भन्थे, ‘आधा घन्टा पर छ।’
हामीले जतिचोटि सोधे पनि उनीहरू त्यही जवाफ दिन्थे। ठाडो उकालोमा मलाई डोकोमा पनि कठिन भइरहेको थियो। हामीलाई बोक्ने सहयोगी साथीहरूलाई त झन् कति गाह्रो भयो होला! अघिल्लो दिनको अनुभवबाट मैले सहयोगी साथीहरूलाई लामो दुरीसम्म नबोकी, थोरैथोरै दुरीमा बोक्न र ठाउँ–ठाउँमा बिसाउँदै लैजान अनुरोध गरेँ।
स्विस मनोविद् प्याथ्रिकले कात्तिक ५ गते जसबहादुरकी छोरी विपनाको आत्मशान्तिका लागि लामा पाठ र गुरुङ संस्कृतिअनुसार अर्घौं गराए। हाम्रा लागि यो नौलो अनुभूति थियो।
अन्नपूर्ण हिमाल हेर्न र हिमालको अनुभूति समेट्न हिँडेको मेरा लागि अहिलेसम्म हिमालसँग साक्षात्कार हुने अवसर मिलेको थिएन। पोखरा ओर्लिएदेखि नै दिन धुम्मिएका थिए। पानी पर्लापर्लाजस्तो भएर बादल लागेको थियो। अग्लाअग्ला पहाडहरूबीचको गुर्जुङबाट हिमाल देख्न पाइएको थिएन।
gajendraशनिबार बिहानै हामी गुर्जङबाट छोमरुङका लागि हिँड्यौं। यो अझ कठिन मार्ग थियो। हामी अन्नपूर्ण साउथको फेदीतिर लाग्दै थियौं। छोमरुङको उचाइ २,१७० मिटर हाराहारीमा छ भने हामी बसेको गुर्जङको उचाइ २,०५० मिटर लेखिएको थियो। हामी निकै कठिन उकालो चढेर फेरि तल झर्यौं। उचाइ मापक त थिएन, तर त्यो पहाडको उकालो २,२०० देखि २,४०० कै बीचमा हुनुपर्छ भन्ने मेरो अनुमान छ। एक्लै हिँड्न त गाह्रो हुने त्यो कठिन र ठाडो उकालोमा सहयोगीहरू रमेश भण्डारी र भरत लामाले मलाई पालो गरी–गरी छोमरुङ पुर्याए।
आइतबार बिहान साढे ५ बजे उठेर आँखैअगाडि अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रे हिमालको अनुभूति लियौं। म भित्री मधेसमा जन्मेहुर्कें। हिमालले जहिल्यै मलाई खिचिरह्यो। ११ वर्षको हुँदा बुबासँग रौता पोखरी जाँदा त्यहाँबाट देखिने मधुरो सगरमाथा र अन्य हिमालले जति आह्लादित बनाएको थियो, ४० वर्षको उमेरमा अन्नपूर्ण साउथ आँखैअगाडि देखिँदा त्यति नै पुलकित भइरहेको थिएँ। मसँगै गएको मेरो १३ वर्षको छोरा सुयोग दंग पर्दै तस्बिरहरू खिचिरहेको थियो।
 दिउँसो ११ बजेतिर छोमरुङबाट फेरि गुर्जुङतिर झर्यौं। उकालो चढ्न जति कठिन हुन्छ, ओरालो झर्न त्योभन्दा गाह्रो हुन्छ। त्यसमाथि शारीरिक अपांगता भएका व्यक्तिलाई बोकेर ठाडै नाक सोझी ओरालो झर्नु जोखिमयुक्त पनि थियो। हरेक पाइलामा मेरा सहयोगीहरूले विचार पुर्याइरहेका थिए। चिप्लेर, ट्रेकिङ रुटमा बिछ्याइएका ढुंगा पल्टिएर लडी हाले, दुवैको ज्यान जोखिममा पर्न सक्थ्यो। यही सोचेर होला, टोली नेतृत्व गरिरहेका अनिल भाइले भने, ‘छोटो–छोटो गरौं है (स–सानो दुरीमा मात्र बोकौं)।’
यसरी अरूका पिठ्युँमा चढेर पदयात्रा पूरा गर्दा देख्ने–सुन्नेलाई जति सहज लागेको हुनसक्छ, वास्तविकता अलि फरक छ। आधा शरीर नचले पनि डोकोसँगै बुर्लुक्क बुर्लुक्क उफ्रिरहँदा मेरुदण्डलाई कसेका टाइटेनियम पाताहरू मर्याकमुरुक्क भएर दुख्थे। एकपटक त ढाड असाध्यै दुखेर प्राणै जालाजस्तो पीडा भयो। मैले दुर्घटनापछिका आठ वर्षमा पीडालाई बेवास्ता गर्ने अभ्यास गर्दै आएको छु। आफ्नो ध्यानलाई पीडा भइरहेको अंगबाट हटाएर अन्यत्रै लैजाने प्रयास गर्छु। यसका लागि कुराकानी गर्ने, रमाइलो गर्ने, संगीत सुन्ने, फिल्म हेर्ने र किताब पढ्ने गर्छु। केही सीप लागेन भने मात्र पेनकिलर खान्छु। त्यो रात म पेनकिलर नखाई सुत्न सकिनँ।
सुरुमा हाम्रो छोमरुङबाट घुमेर लान्द्रुक हुँदै पोखरा फर्कने योजना थियो। तर, सामान बोक्ने भरियाको प्रबन्ध नभएकाले हामी फेरि गुर्जुङ र घान्द्रुक हुँदै पोखरा फर्कियौं। लगातार हिँडाइले सहयोगी साथीहरूलाई समस्या हुने भएकाले हामीले गुर्जुङमा एक रात र घान्द्रुकमा दुई रात बितायौं। प्याथ्रिक जनेनले घान्द्रुकका स्थानीयमाझ विपनाको वास्तविक कथामा आधारित भएर लेखेको पुस्तक ‘ल लेजँन्द दु विपना’को कथा बाचन गरेर सुनाए। त्यो कथा बाचनमा हामीलाई त्यहीँ भेट भएकी फ्रेन्च गायिका मारियाले पनि साथ दिइन्।gajendraदस दिनको यो ‘डोको पदयात्रा’ जति अद्भूत, अनौठो र रोचक थियो, त्यति नै जोखिमपूर्ण पनि थियो। आधा शरीर पूर्ण रूपमा नचल्ने ‘प्याराप्लेजिक’ म, आफ्नो शरीरमाथि नियन्त्रण नभएका ११ वर्षीय स्विस भाइ आन्त्वानलाई बोकेर उकाली–ओराली चढ्दा जे पनि हुनसक्थ्यो। लगातार डोकोमा बस्दा छालाको घाउ (बेडसोर/प्रेसर सोर) हुन सक्थ्यो। पिसाब संक्रमण हुनसक्थ्यो। धन्न केही भएन। यात्रामा जानुअघि ट्विटरमा रहनुभएका डाक्टर मित्रहरूको सुझावमा केही क्रिम र औषधि बोकेको थिएँ। मेरो छोराले ‘केयरटेकर’ का रूपमा हरेक बेलुका घाउ भए–नभएको हेर्ने, छालामा मोइस्चराइजर क्रिम लगाइदिने गरिरह्यो।
आठ वर्षअघि सडक दुर्घटनामा परेर अपांगताको अवस्था बेहोर्नुपर्दा मैले सोचेको पनि थिइन, एक दिन म अन्नपूर्ण हिमालको फेदीसम्म पुग्छु भनेर। सात वर्षअघि दैनिकी डटकमको सम्पादक हुँदा फोटोसपमा चल्दाचल्दै सगरमाथा आधारशिविरको फोटोमा आफ्नो फोटो टाँसेको थिएँ। लगभग त्यही बेला हिँड्न नसके पनि अल्ट्रालाइटमा भए पनि उडेरै छाड्छु भनेर फेसबुकमा स्ट्यास लेखेको थिएँ। यसपटक ती सबैभन्दा अलिकता फरक अनुभूति लिएँ। यसै वर्ष भदौ ९ गते ह्विलचेयरसहित केबलकार चढेर चन्द्रागिरि पर्वतको शिखरमा पुगेँ अनि कात्तिकमा डोको ट्रेक।
आज सम्झिरहेको छु, टिचिङ अस्पतालको बेडमा लडिरहँदा एक डाक्टरले आफ्ना साथीहरूलाई भनेका थिए, ‘हिज लाइफ इज युजलेस्, नथिङ क्यान डु, लाइक डेड बडी।’
 gajendraबाँच्ने उत्प्रेरणा मलाई त्यसले पनि मिलेको हो। अपांगता अन्त्य होइन, यसभित्र पनि बाँच्ने, रमाउने, समाजमा केही गरेर देखाउने सम्भावना खोज्न सकिन्छ भनेरै मैले यो चुनौती मोलेँ। यो चुनौती मोल्न मलाई उत्प्रेरणा दिनुहुने, यात्राको सम्पूर्ण व्यवस्थापन गरिदिनुहुने ददि सापकोटा, प्याथ्रिक जनेन, कठिन यात्रालाई सम्भव तुल्याइदिने पाँचै जना सहयोगी, क्लोद बोदमेयर र उनका परिवारसहित सबैप्रति आजीवन अनुग्रहित छु।
अहिलेसम्म दुवै हात वा दुवै खुट्टा नभएका र दृष्टिविहीनले सगरमाथा आरोहण र कृत्रिम हातखुट्टा राखेर पदयात्रा सम्पन्न गर्ने गरेका भए पनि पूर्ण रूपमा शरीर चल्दै नचल्ने ‘प्याराप्लेजिक’ अपांगता भएका व्यक्तिका रूपमा म पहिलोपटक हिमालको फेदीसम्म पुगेको छु। यो मेरा लागि मात्र नभएर नेपालभरि कुनै न कुनै रूपमा अपांगता भएका व्यक्तिका लागि समेत चाहना भए, साथ, सहयोग र समन्वय भए  पहुँचयुक्त पर्यटनको सम्भाव्यता केलाउन सकिने बाटो खुलेको छ भन्ने मलाई लाग्छ।साभार सेतोपाटी


Facebook Comment