सगरमाथाको आधार शिविरमा सुविधासम्पन्न केन्द्रबन्ने

१८ कात्तिक, काठमाडौं । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ। चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको काखमा आधारभूत प्रबन्धसहितको सुविधासम्पन्न केन्द्र बनाउन लागेको हो।

everst trek @ghumphir (3)चीनको तिब्बत स्वायत्त प्रदेशको कङ्खर टाउनसिपमा आगामी वर्ष सन् २०१७ देखि निर्माण सुरु गरेर दुई वर्षपछि सन् २०१९ मा सप्पन्न गर्ने समाचार चीनको सरकारी प्रकाशन चाइना डेलीले लेखेको छ।

सगरमाथाको उत्तरी मोहोडादेखि उत्तरतिरको भूभागमा ८४ हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यो केन्द्रका लागि चीनले दस करोड चिनियाँ युआन (एक अर्ब ६० करोड रुपैयाँ) खर्च गर्नेछ। समाचारमा जनाइए अनुसार निर्माण हुने अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्रमा पर्वतारोही, हिउँमा चिप्लेटी खेल्ने खेलाडी, प्याराग्लाइडर र पथप्रदर्शकहरुलाई खानाको व्यवस्था हुनेछ।

स्वास्थ्य सेवा, ट्राभल्स एजेन्सी र हेलिकप्टर उद्दार सेवासमेत केन्द्रमा उपलब्ध हुनेछ। अहिलेसम्म तिब्बतमा उच्च अक्षांशमा परेका तथा हिमालमा फसेका व्यक्तिलाई हेलिकप्टरबाट उद्दार गर्ने व्यवस्था छैन। यस्तो अवस्थामा चीनको अनुरोधमा नेपालले हेलिकप्टरद्वारा उद्धार गर्दै आएको छ।

तिब्बत स्वायत्त प्रदेशको खेलकुद ब्युरोका उपनिर्देशक निमा छिरिङलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार केन्द्रभित्र पर्वतारोहण संग्रहालय, कार भाडामा लगाउने व्यावसायिक कक्ष, कार मर्मत स्थल, मोटरसाइकल र साइकल भाडामा पाइने स्थल, रेष्टुरेन्ट र सुत्ने लजहरूसमेत बनाइनेछ।

कङ्खर टिङ्ग्री काउन्टीका पाँच टाउन्सिपमध्येको एक हो। नेपालसँग सीमा जोडिएको कङ्खरबाट सगरमाथा, चोयु, शिशापङ्मा, ल्होत्से र मकालु हिमालको सुन्दर दृश्य देखिन्छ। यस क्षेत्रको पर्यटकीय तथा आर्थिक र सांस्कृतिक विकास गर्नका लागि चीनले अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउन लागेको बताइएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। केन्द्र बनिसकेपछि साबिकभन्दा अधिक पर्वतारोही र पर्यटकहरु सो क्षेत्रमा आउने अपेक्षा चीनले गरेको छ ।


Facebook Comment


No ads found for this position