‘याक अट्याक’ साइकल दौड प्रतियोगिता अन्नपूर्ण पदमार्गमा सुरु

कार्तिक २१, २०७३, संसारकै उच्च हिमाली क्षेत्र लक्षित ‘याक अट्याक’ साइकल दौड प्रतियोगिता शनिबारदेखि चक्रीय अन्नपूर्ण पदमार्गमा सुरु भएको छ । पहिलो दिन पहाडी क्षेत्र लमजुङका ग्रामीण भेगको १ हजार ६ सय १६ मिटर उचाइमा पुगेर करिब ३२ किमिको साइकलयात्रा गरी टोली बेंसीसहर फर्केको छ । नेपालमा यस्तो प्रतियोगिता हुन थालेको १० औं वार्षिकोत्सवको अवसर पारेर आयोजित उक्त प्रतियोगिता बेंसीसहरबाट सुरु भएर घलेगाउँ फेदी पुगी खुदी हुँदै बेंसीसहरमै झरेको हो । दोस्रो दिन आइतबार बेंसीसहरबाट मनाङ सदरमुकाम चामे पुग्नेछ ।

‘याक अट्याक’ साइकल दौड प्रतियोगिता सुरु
‘याक अट्याक’ साइकल दौड प्रतियोगिता सुरु

प्रतियोगिता यसअघि काठमाडौंको शिवपुरीदेखि सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गथ्र्यो । दसौं संस्करण कुल १२ दिनको हुनेछ । प्रतियोगीले दुई दिन थकाई मेटाउनेछन् र १० दिन साइकल दौडाउनेछन् । प्रतियोगिताका क्रममा उनीहरूले पदयात्रामा पर्ने संसारकै सबैभन्दा अग्लो हिमाली भन्ज्याङ थोराङला ९५,४१६ मि।० उचाइ पार गर्नेछन् । प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । नोभेम्बर १५ तारिखका दिन मुस्ताङ सदरमुकाम जोमसोममा पुगेर टुंगिने उक्त प्रतियोगिताका सहभागीले ३ सय ५० किलोमिटर बढी दूरी पार गर्नुपर्नेछ ।

बेलायतको माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यती ग्रुप अफ कम्पनीअन्तर्गत यती ट्रेल्सको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा ३८ जनाले सहभागिता जनाएका छन् । पहिलो दिन ३९ जना सहभागी भएकामा नेपाली प्रतिस्पर्धी आयमान तामाङ लडेर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको टोलीले जनाएको छ । नेपालसहित विभिन्न १५ देशका प्रतियोगीमा अब ३० पुरुष र ८ महिला सहभागी छन् । नेपाली सहभागी आठ जनामध्ये एक महिला छन् । एक पुरुष घाइते भएपछि नेपाली सात जनाले प्रतियोगितामा भाग लिएका छन् ।

पहिलो दिन पुरुषतर्फ नेपालका अजय पण्डित क्षत्री पहिलो, अस्ट्रेलियाका पिटर बुट दोस्रो र दक्षिण अफ्रिकाका थिनुस रेडेलिङघुएज तेस्रो भएका छन् । महिलातर्फ क्यानडाकी मिरिली माउन्टमिनी पहिलो, अमेरिकाकी विन्डी लेयल दोस्रो र अस्ट्रेलियाकी सब्रिना फिल्जमोसर तेस्रो भएका छन् ।

आयोजक संस्थाका साइकल दौड प्रतियोगिता निर्देशक फिल इभान्सका अनुसार प्रतियोगितामा ५ हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको छ । पुरुष र महिलातर्फका विजेतालाई बराबरी पुरस्कार दिइने उनले बताए । पहिलो हुनेलाई १ हजार २ सय ५० डलर, दोस्रोलाई ७ सय ५० डलर र तेस्रोलाई ५ सय डलर प्रदान गरिने उनले बताए । दसौं संस्करण भएकाले यसपटक लमजुङबाट सुरु गर्दै नयाँ ठाउँ पुगेको र अर्को नयाँ ठाउँ माथिल्लो मुस्ताङ जाने कार्यक्रम राखिएकोसमेत उनले बताए । ‘सुरुमा मैले रहरका रूपमा कार्यक्रम गरें ।
अहिले हिमालमा साइक्लिङको प्रतिस्पर्धा गराउन र नेपालको पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम गर्दै आएको छु,’ इभान्सले भने, ‘सरकारी निकायसँग समन्वय गर्न खोज्छु, चासो दिएको छैन ।’ उनका अनुसार गत जूनमा श्रीलंकामा पनि यस्तै प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा १५ जना गतवर्षका प्रतियोगी छन् । बाँकी नयाँ प्रतियोगी रहेको इभान्सले बताए । गतवर्षका विजेता अजय पण्डित क्षत्री, सन् २०१३ का विजेता नारायणगोपाल महर्जनलगायत प्रतियोगितामा सहभागी छन् । राजधानीको जोरपाटीका अजय गत वर्षसम्म पाँचपटक च्याम्पियन बनिसकेका छन् ।

उनले भने, ‘हाई अल्टिच्युटमा नेपालीहरूको अभ्यास राम्रो भएकाले त्यसको फाइदा हरेक वर्ष नेपाली खेलाडीले उठाउँदै आएका छन् ।’ यसपटकको प्रतियोगितामा बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, पोर्चुगल, हंगेरी, फ्रान्स, अस्ट्रिया, जापान, मलेसिया, सिंगापुर, क्यानडा, अमेरिका, डेनमार्क, दक्षिण अफ्रिका र नेपालका प्रतियोगी सहभागी छन् । प्रतियोगितामा भाग लिन विदेशीले प्रतिव्यक्ति ४ हजार डलर र नेपालीले प्रतिव्यक्ति ३ सय डलर जम्मा गरेको इभान्सले बताए । प्रतियोगिताका व्यवस्थापन संयोजक यती ग्रुपका टुर्स म्यानेजर दीपेन प्रधानले माथिल्लो मुस्ताङको लोमान्थाङसम्म पुग्ने कार्यतालिका रहेको बताए ।

‘हाई अल्टिच्युट’ व्यवस्थापनका लागि माथिल्लो मनाङमा एक दिन बस्नेछ । माथिल्लो मुस्ताङको लोमान्थाङमा पनि एक दिन बस्नेछ । गत वर्षसम्म म्याग्दीको तातोपानीमा पुगेर टुंगिने गरेको उक्त प्रतियोगिता यसपटक लमजुङ र माथिल्लो मुस्ताङमा पनि पुग्ने भएकाले जोमसोममै समापन हुने प्रधानले बताए ।


Facebook Comment


No ads found for this position