घुम्न जाने हो रारा ? यस्तो छ प्याकेज

rara @ghumphir (8)
पूर्वाधारको विकास प्रचारप्रसारको व्यापकतासँगै पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भएको छ। जसका कारण अहिले राजधानी, पोखरा, चितवनबाहेक सुदुर पश्चिमको क्षेत्रमा पनि आन्तरिक पर्यटकको चहपहल बढेको बताउँछन् पर्यटकनसँग सरोकार राख्नेहरु।
 यसरी पछिल्लो समय उदाएको गन्तव्य हो कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा ताल। प्राकृतिक सुन्दरताको अनुपम उपहार मानिने रारा विशेषगरी सडक पूर्वाधारको अभावको कारण खासै चर्चामा आउन सकेको थिएन।
 तर पछिल्लो समय बाटोको विकासले गर्दा यो तालमा आउने आन्तरिक पर्यटकहरु बढेको बताउँछन् सोसाइटी अफ ट्राभल टुर अपरेटर्स नेपाल(सोट्टो)का अध्यक्ष कृष्णबहादुर महरा।
 सीमित सुविधा, कमजोर यातायात पूर्वाधारकाबीच पनि पछिल्लो समय रारा जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। एकीन तथ्यांक नभएपनि पहिले सामन्यतया दैनिक २० जनासम्म पुग्ने रारामा पछिल्लो समय करिब २ सयको हाराहारीमा पुग्ने गरेका छन्।
 विदेशी पर्यटक कमै पुग्ने रारामा प्राय आन्तरिक पर्यटक पुग्ने गरेका छन्। प्रचारप्रसारको प्रभाव तथा धेरै जना नपुगेको नयाँ गन्तव्य भएकोले एकपटक पुगौं भन्ने भावनाले पनि रारा सबैको आकर्षण बन्न पुगेको नेपाल पर्यटन बोर्डका प्रवक्ता शरद प्रधानको भनाई छ।

घुमफिर वर्ष घोषणा गरेको नेपाल पर्यटन बोर्डले देशभित्रका प्रमुख गन्तव्यहरुमा आन्तरिक पर्यटकहरुको लागि विशेष प्याकेज पनि ल्याएको छ। पूर्वको पाथिभरा माई दर्शनदेखि सूदुरपश्चिमको खप्तडसम्मका विभिन्न गन्तव्यको लागि  ल्याइएका त्यस्ता प्याकेजबाट आन्तरिक पर्यटन अझै परिपक्क हुने बोर्डको विश्वास छ।
प्याकेजमा रहेका सातवटा गन्तव्यमा एउटा रारा पनि हो। काठमाडौंदेखि रारा पुगेर फर्कँदा प्रतिव्यक्ति २० हजार लाग्ने गरेको छ। रारा तुलनात्मक रुपमा टाढा र दुर्गम भएकोले पर्यटकहरुको सुविधाको लागि सरकारले प्याकेजमार्फत सेवा दिन खोजेको भनाई राख्छन् सोट्टोका अध्यक्ष महरा।  rara @ghumphir (15)
अहिले केही जाडो हुने भएपनि राराको मौसम सफा हुने भएकोले तातो कपडा तथा बन्दोबस्ती हुने हो भने कहिलै पनि बेमौसमी प्रवाह नहुने पर्यटन व्यवसायीहरु बताउँछन्। नेपालीमा घुमफिर गर्ने बानी जति बढ्दै जान्छ त्यसले अन्ततः पर्यटनलाई परिपक्क बनाउने भएकोले बोर्डले यसको लागि उत्प्रेरित गर्ने कार्यक्रम ल्याएको प्रवक्ता प्रधानको भनाई छ।
‘पर्यटकको चहपहल जति बढ्छ त्यसले सम्वद्ध सबै पक्षको व्यवहार सकारात्मक बनाउँदै जान्छ’ प्रधानले सेतोपाटीसँग भने, ‘फेरि एकपटक आफै पर्यटक भएर गएको मान्छेले आफ्नो ठाउँमा पनि पर्यटकप्रतिको व्यवहारमा परिपक्ता ल्याउँछ।’
३ प्रकारका प्याकेज र शुल्क 
सोसाइटी अफ ट्राभल टुर अपरेटर्स नेपाल(सोट्टो)सँगको सहकार्यमा ल्याइएको रारा गन्तव्यको लागि ३ प्रकारका प्याकेज छन्। जसमा फरकफरक शुल्क निर्धारण गरिएको छ। हवाई, जिप र बसमार्फत गरिने रारा यात्राको लागि न्यूनतम २८ हजार र अधिकतम ३८ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
सकेसम्म थोरै रकममा रारा घुमाउने लक्ष्य अनुसार आफूहरुले शुल्क निर्धारण गरेको सोट्टोका अध्यक्ष महराले बताए।  rara @ghumphir (2)
प्याकेज नम्बर १ः हवाई यात्रा
प्रतिव्यक्ति ३८ देख ४० हजारसम्म लाग्ने यो प्याकेज बढी सुविधा खोज्ने पर्यटकका लागि लक्षित गरिएको छ। यो प्याकेजमार्फत घुम्दा ३ रात ४ दिन बित्ने गर्दछ। पहिलो दिन काठमाडौंदेखि जहाजबाट नेपालगंज विमानस्थल पुगेर सामान्यः घुमफिरपछि थारु होमस्टे गभार भ्यालीमा बास बसिन्छ।
दोस्रो दिन खाजा खाएर गाडीबाट नेपालगंज विमानस्थल पुगिन्छ र त्यहाँबाट ताल्चा विमानस्थल पुगिन्छ जहाँबाट २/३ घण्टाको पैदल यात्रापछि राराको डाँफे रिसोर्टमा पुगेर बास बसिन्छ।  तेस्रो दिन खाजा खाइसकेपछि राराको दृष्यावलोकन गरिन्छ र त्यो दिन पनि रिसोर्टमै बास बसिन्छ।
चौथो दिन खाजा खाएर ताल्चा विमानस्थलमा फर्केर नेपालगंज आइन्छ। त्यहाँको अन्तिम उडानबाट काठमाडौं फर्किन्छ।
प्याकेज नम्वर २: जिप, बस र हवाईयात्रा 
चार रात पाँच दिनको यो प्याकेजको न्यूनतम शुल्क २८ हजार रहेको छ भने अधिकतम ३०  हजार रुपैयाँ। पहिलो दिन रात्रि वा दिवा बसबाट नेपालगंजसम्मको यात्रा गरिन्छ। त्यहाँबाट सिधै थारु होमस्टे गभार भ्यालीमा गई बास बस्ने व्यवस्था छ।
 rara @ghumphir (11)
दोस्रो दिन बिहानै गाडीबाट सुर्खेत, दैलेख हुँदै कालिकोट पुगिन्छ। स्थानीय रहनसहजको अध्ययन गरी स्थानीय होटलमा बास बसिन्छ। तेस्रो दिन जुम्ला हुँदै मुगुको यात्रामा गाडीबाट गइन्छ। राति डाँफे रिसोर्टमा बास बस्ने व्यवस्था छ।
चौथो दिन खाजा खाइसकेपछि राराको दृष्यावलोकन गरेर साँझपख रिसोर्टमा फर्किन्छ।  पाँचौं दिन बिहान ताल्चा विमानस्थलबाट उडान भई नेपालगंज आउने र त्यहाँबाट सुविधासम्पन्न बसबाट काठमाडौं फर्किन्छ।
प्याकेज नम्वर ३ : जिप र बस मार्फत
आठ दिनको यो प्याकेजको न्यूनतम शुल्क २२ हजार रहेको छ भने अधिकतम २५ हजार रुपैयाँ। पहिलो दिन रात्रि वा दिवा बसबाट नेपालगंजसम्मको यात्रा गरिन्छ। जहाँबाट सिधै थारु होमस्टे गभार भ्यालीमा पुगिन्छ। त्यहाँ केही क्षणको ‘रिफ्रेस’ र स्थानीय परम्पराको दृष्यावलोकन हुन्छ, त्यही बास बसिन्छ।
दोस्रो दिन बिहानै गाडीबाट सुर्खेत र दैलेखका केही पर्यटकीय गन्तव्यको दृष्यावलोक हुन्छ। दैलेखको होटल इन अथवा पंचकोशीमा बास बसिन्छ।   तेस्रो दिन बिहानै गाडीबाट कालिकोट हुँदै स्थानीय ठाउँको सुन्दर दृष्यावलोकन गर्दै जुम्लाको होटल कान्जिरोवा वा अन्य होटलमा बास बसिन्छ।
चौथो दिन बिहानै होटलबाट जुम्लाको दृष्यावलोकन गर्दै राराको डाँफे रिसोर्टमा पुगिन्छ। ‘रिफ्रेस’ र सामान्य घुमफिरपछि त्यही बास बस्ने व्यवस्था छ।  पाँचौं दिन खाजा खाइसकेपछि दिनभर राराको दृष्यावलोकन गरेर साँझपख पुनः रिसोर्टमा फर्किन्छ।
 rara @ghumphir (1)
छैटौ दिन बिहानै गाडीबाट कालिकोट फर्कने र त्यहीको होटलमा बास बसिन्छ। सातौं दिन गाडीबाट सुर्खेत पुगिन्छ र त्यहाँ रहेका होटल नमस्ते, सिद्धार्थ तथा अशोकामध्ये कुनैमा बास बस्ने व्यवस्था हुन्छ।
आठौं दिन सुर्खेतबाट सिधै काठमाडौं पनि आउन सकिन्छ अथवा नेपालगंज हुँदै काठमाडौं फर्किन सकिन्छ। प्याकेजमार्फत रारा जानको लागि सोट्टोको काठमाडौं कार्यालयमा सम्पर्क गर्न सकिने छ।
मौसम जस्तो भएपनि व्यक्तिगत रुपमा घुम्न जान चाहनेले आफ्नो बन्दोबस्ती आफै गरे पनि व्यवस्थापनमा कुनै पनि कमजोरी हुन नदिने सोट्टोका महराले प्रतिबद्धता व्यक्त गरे।


Facebook Comment


No ads found for this position