पर्यटक आगमन बढेसँगै ‘फ्रि भिसा’मा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि ।
मुलुकमा पर्यटक भित्रिने प्रमुख स्थलमार्ग रुपन्देहीको बेलहिया हुँदै आउनेको संख्या उल्लेख्य बढेको छ । यो नाका हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटक अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष भूकम्पपछि नेपालका विषयमा अन्तरराष्ट्रिय समुदायमा भएको नकारात्मक प्रचार र ५ महिना लामो नाकाबन्दी तथा मधेस आन्दोलनका कारण पर्यटक आगमनमा असर परेको थियो ।
अध्यागमन कार्यालय भैरहवा बेलहियाका अनुसार सन् २०१६ को अक्टोबरसम्म १ लाख ९ हजार ९ सय ८१ पर्यटक नेपाल आएका छन् । गत वर्ष सोही अवधिमा ७९ हजार ५ सय ९६ पर्यटक सो नाका हुँदै नेपाल भित्रिएका थिए ।
बेलहियाबाट यस वर्ष सुरुदेखि नै पर्यटक आगमन उत्साहजनक रहेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख आनन्द पौडेलले बताए ।
गत वर्षभरिमा बेलहियाबाट कुल १ लाख २० हजार ६ सय ३६ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । यसअघि सन् २०१४ मा १ लाख १७ हजार २ सय ६३ पर्यटक भित्रिएको पौडेलले जानकारी दिए । व्यवसायीहरू पनि यस वर्षको पर्यटक आगमनबाट उत्साहजनक देखिएका छन् ।
पर्यटक आगमन बढेसँगै ‘फ्रि भिसा’मा नेपाल आउने पर्यटकको संख्या पनि बढेको छ । सरकारले सार्क मुलुकसहित चिनियाँ नागरिकलाई पहिलोपटक नेपाल प्रवेश गर्दा पहिलो एक महिनाका लागि भिसा शुल्क लिने गरेको छैन । यसरी निःशुल्क भिसा बढी उपभोग गर्नेमा श्रीलंकाली पर्यटक अगाडि छन् ।
पछिल्ला दुई वर्षको तुलनामा चालू वर्षमा पर्यटक आगमन उत्साहजनक रहेको सिद्धार्थ होटल एसोसिएसन सान का सदस्य गोविन्द ज्ञवालीले बताए ।
चालू वर्षको ३ महिना ९अगस्ट, सेप्टेम्बर र अक्टोबर०मा मात्रै स्थलनाका हुँदै ४४ हजार ८ सय १७ पर्यटक आएका छन् । गत वर्ष सोही अवधिमा २७ हजार ५ सय पर्यटक आएका थिए । सरकारी तथ्यांकअनुसार वार्षिक ४० हजारभन्दा बढी श्रीलंकाली नागरिक लुम्बिनी भ्रमणमा आउने गर्छन् । यस्तै, चिनियाँ पर्यटक पनि उल्लेख्य बढेका छन् ।
अगस्टपछिका तीन महिनामा २८ हजार ६ सय ४८ पर्यटक निःशुल्क भिसामा स्थलमार्ग बेलहिया हँुदै नेपाल आएका थिए । गत वर्ष सोही अवधिमा १७ हजार ८ सय ६३ पर्यटक आएका थिए ।
स्थलनाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । उनीहरूमध्ये कतिपय चितवन, पोखरा तथा काठमाडौंसम्म जाने गरे पनि अधिकांश भने लुम्बिनीको दर्शनसँगै फर्कने गरेको पाइन्छ ।
पर्यटकको बसाइ लम्ब्याउन स्थानीय व्यवसायीहरू पनि प्रयासरत छन् । सरकारले पनि यसका लागि पहल गरिरहेको पर्यटन कार्यालयले जनाएको छ ।