रुकुमको आकाशमा पहिलोपटक प्याराग्लाईडिङ उडान
घुमफिर
रुकुमको आकाशमा पहिलो पटक प्याराग्लाईडिङ उडाईएको छ । परिक्षणको लागि जिल्लाको मुसिकोट नगरपालीकाको जन्तीबस्ने लेकबाट प्याराग्लाईडिङ उडाइएको हो । पर्यटन प्रवद्र्धन वातावारण संरक्षण केन्द्र रुकुमको आयोजना र जिल्ला विकास समिति अन्तरगतको पर्यटन समन्वय समिति, रुकुम उद्योग वाणिज्य संघ, डिग्रे मन्दिर व्यवस्थापन समिति र सम्वन्धित नगरपालिका तथा गाविस कार्यालयहरुको आर्थिक सहयोगमा प्याराग्लाईडिङ परिक्षण सुरु भएको हो ।
प्याराग्लाईड संचालनको सम्भाव्यता अध्यन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाईडिङमा व्यवशायिकता सुरु गर्ने प्रमुख लक्ष्यका साथ सुरु भएको प्याराग्लाईडिङले यहाँ आन्तरीक तथा बाह्य पर्यटकको विकास हुने र जिल्लाको आर्थिक विकास हुने,जिल्ला पर्यटन समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताए।
कास्कीको पोखराबाट यहाँ पुगेका इन्स्ट्रक्टर सुवास थापा, टेण्डम रमेश पहाडी, सोलो सिङगल प्रविण क्षेत्री र महेश रावलले यहाँको आकाशमा सफल परिक्षण गरेका थिए । इन्स्ट्रक्टर थापा जन्तिबस्ने लेकबाट उडेर मुसिकोटको घिमानेमा अवतरण गरेका थिए भने ,सोलो सिङगल क्षेत्री र रावल सल्ले एयरपोर्टमा अवतरण गरेका थीए । जिल्लाका सम्भावित ३ ओटा, मुसिकोट नगरपालिकाको जन्तीवस्ने लेक, रुकुमकोट गाविसको झुम्कामारे लेक र बाँफिकोटको झार्लेगोठ लेकमा प्याराग्लाईडिङ परिक्षण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
झुम्कामारे लेकमा मंसीर १ गते र झार्लेगोठमा मंसीर ३ गते परिक्षण गरिने छ । प्याराग्लाईडिङ परिक्षणका लागि कास्किको पोखराबाट ४ जनाको टोली रुकुम आईपुगेको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा परिक्षणको क्रममा रहेको र परिक्षण कार्य सकिएपछि सो कार्यमा लागेका टोलिसँग छलफल गरेर रुकुममा दिगो रुपमा प्याराग्लाईडिङ सञ्चालनको लागि सक्दो सहयोग गर्ने स्थानीय विकास अधिकारी रानाको भनाई रहेको छ ।
प्याराग्लाईडिङले जिल्लाको समग्र पर्यटन विकासमा ठुलो टेवा पुग्नुका साथै ५२ पोखरी ५३ टाकुरीको नामले प्रचित रुकुम जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्धत पुग्ने धेरैको विश्वास रहेको छ । यहाँ प्याराग्लाईडिङको सम्भावना राम्रो पाईएको इन्स्ट्रक्टर सुवास थापाले टिलिफोन मार्फत प्रतिक्रिया दिएका थिए ।
सिस्ने हिमाल, ठुलीभेरी, सानीभेरी नदी, स्यार्पु ताल, कमल दह, डिग्रे मन्दिर, यहाँका बजार तथा अन्य मनोरम दृष्यहरु देख्न पाईने र टेकअपको अवस्थापनि निकै राम्रो पाईएको उहाँको भनाई छ । तर ल्यान्डिङको भने समस्या रहेको थापाले बताए । सल्ले एयरपोर्टमा ल्याण्डिङको अवस्था राम्रो भएपनि ल्याण्डिङका लागि सधै एयरपोर्टलाई प्रयोग गर्न नसकिने उनको भनाई थियो ।।