पर्यटकलाई पाल्पा घुमफिरमा समस्या
घुमफिर
पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । पाल्पामा पर्यटकीय गन्तव्य प्रसस्त रहेपनि पूर्वाधारको विकास हुन नसक्दा पर्यटक बसाइ लम्ब्याउन समस्या भएको हो । शीतल हावापानी पर्यटकका लागि घुमफिर गर्ने स्थल प्रशस्त भएपनि पूर्वाधारको अभावले पर्यटकको बसाइ लम्ब्याउन समस्या झेल्नुपरेको हो ।
पाल्पा नेपालकै घुमफिर गर्ने रमणीयस्थल भएपनि र पर्यटकलाई लालायित गर्ने सम्पदा प्रशस्त रहेपनि पछिल्ला वर्षमा थप पूर्वाधार निर्माण हुन नसक्दा पर्यटकलाई पाल्पा घुमफिरमा समस्या हुँदै आएको छ ।
पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाद्वारा सोमबार आयोजित सञ्चारकर्मीसँग सुझाव सङ्कलन कार्यक्रमका सहभागीले पूर्वाधार अवस्था कमजोर रहेकाले त्यसलाई निर्माण र पुनःनिर्माण हुनुपर्ने खाँचो रहेको आँैल्याएका हुन् ।
पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक सञ्जाल, सहज यातायात सेवा, पर्यटन सूचना केन्द्र, होटलको उचित व्यवस्था, सञ्चारको पहँुच, सभा हल, विमानस्थल, जलयात्रा सञ्चालन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रचार तथा पुनःनिर्माण गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।
वरिष्ठ पत्रकार मेघराज शर्माले निजी क्षेत्रले पाल्पालाई अघि बढाउन ठूलो हात रहेपनि मिडिया र निजी क्षेत्रको समन्वय हुन नसकेको बताउनुभयो । पाल्पा टाइम्स साप्ताहिकका प्रधान सम्पादक झपीन्द्र गैरेले पर्यटकीय क्षेत्रको विकासको प्रचारका लागि मिडियाको ठूलो भूमिका रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ पाल्पाका सचिव किरण कौशलले नेपाल पत्रकार महासङ्घ र उद्योग वाणिज्य सङ्घ सहकार्य गरेर अघि बढ्न सकेको अवस्थामा पर्यटकीय क्षेत्रको समेत विकास हुने बताउनुभयो । उद्योग वाणिज्य संघ पाल्पाका पूर्व अध्यक्ष राजु महर्जन सडक लगायतका पूर्वाधार विकास गरेर पाल्पामा अझै पर्यटक भित्र्याउन सकिने बताउनुहुन्छ ।