अनुमति बिनाका हिमाल आरोहण गरेका अमेरिकी नागरिकलाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम ३३ हजार डलर नगदसिहत कारबाही हुने ।

सरकारले आरोहणका लागि खुला नगरेका हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले आरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अमेरिकी नागरिकले आरोहण दाबी गरेका हुम्ला जिल्लाका तीन हिमालमध्ये एउटाको आरोहण नै खुला भएको छैन । उनको यो आरोहण गैरकानुनी हो ।

1111

ब्रुचले हुम्ला जिल्लामा रहेको हालसम्म नै मानव पाइला नपरेको चण्डी हिमाल (६१४२ मि), चाङ्ला हिमाल (६५६३ मि) को आरोहण गरेको दाबी गरेका छन् । यस बाहेक हुम्ला भ्याली रिजनको काङ्गुँ हिमाल आरोहण गरेको दाबी गरेका छन् । मन्त्रालयका अनुसार यो हिमाल आरोहणका लागि खुला नै भएको छैन । ब्रुचले आरोहण दाबी गरेको अन्य दुई हिमाल पनि ६ हजार मिटर माथिका छन् ।

मन्त्रालयका अनुसार ६ हजार मिटर माथिका हिमालमा जाँदा अनिवार्य रूपमा अनुमति लिनुपर्छ । यी हिमालमा पर्यटन मन्त्रालयको अनुमति बिना नेपाली मात्रै चढ्न पाउँछन् भने विदेशीले आरोहण गर्न चाहेमा तीन जना नेपाली अनिवार्य लैजानुपर्छ । विदेशीले आरोहण अनुमतिसहति गार्वेज डिपोटिज, नेपाली कामदारको बिमा, हिमाल आरोहण जाँदा आवश्यक पर्ने सबै प्रक्रिया पूरा गर्नुपर्ने भए पनि ती अमेरीकी नागरिकले कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । सुदूरपश्चिम र मध्यपश्चिमका हिमाल आरोहण गर्न सरकारले पाँच वर्षका निम्ति अनुमति शुल्क मिनाहा गरेको भए पनि आरोहण अनुमति भने अनिवार्य भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा १३ सय १० हिमाल रहेको भए पनि सरकारले भने चार सय १४ वटाको मात्रै आरोहणका लागि अनुमति दिने गरेको छ । सरकारले आरोहण खुला नगरेको हिमाल आरोहण गर्ने नपाइने पर्यटन मन्त्रालयको भनाइ छ । अनुमति बिनाका हिमाल आरोहण गरेका ती अमेरिकी नागरिकलाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम ३३ हजार डलर नगदसिहत कारबाही हुने भएको छ ।

यो ऐनमा भएको व्यवस्थाअनुसार नेपाल सरकारले आरोहणका लागि खुला नगरेको हिमाल आरोहण गरेमा सर्वोच्च शिखर आरोहणमा लाग्ने दस्तुरको तीन गुणा शुल्क जरिबानावापत दिर्नुपर्छ । सर्वोच्च शिखर सगरमाथाको आरोहण अनुमति शुल्क ११ हजार डलर रहेकोले कम्तीमा ३३ हजार डलर शुल्क जरिबाना लाग्ने मन्त्रालयको भनाइ छ ।

२१ दिनमा ३१ हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेको दाबी गर्दै हिडेका ब्रुच द नेपाल ट्रस्टमार्फत आरोहणमा गएका हुन् । ट्रस्टले भने उनको दाबीलाई आधिकारिकता दिन प्रयास भइरहेको बताएको छ । उनले एउटा हिमालको नाम भने आफ्नै हजुरआमाको नामबाट नामाकरण गरेको दाबी गरेका छन् । ब्रुच मंगलबार नै अमेरिका फर्किएको नेपाल ट्रस्टको भनाइ छ ।

सरकारले आरोहण खुला नगरेको हिमाल चढेको, एजेन्सी बिना गएको, नेपाली अनिवार्य जानुपर्नेमा नलगेको, पदयात्राको अनुमतिले पर्वतारोहणमा गएकोसहतिका कमजोरी भेटिएको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए । उनका अनुसार ती अमेरिकी नागरिकले अपराध गरेको अनौपचारिक रूपमा जानकारी आइसकेको छ ।

उनलाई आवश्यक कारबाही गर्न पर्यटन मन्त्रालयले पत्रमार्फत नै मातहतका निकाय र अन्य निकायसँग समन्वय गर्ने भएको जानकारी पनि दिए । मन्त्रालयका अनुसार २१ दिनमा ३१ हिमाल आरोहण सम्भव नभएको र ब्रुचले कुनकुन हिमाल आरोहण गरे भन्ने विवरण पनि नभएको बताएको छ ।


Facebook Comment


No ads found for this position