सावधान,उपत्यकामा लुटेरा समूह फेरि सक्रिय भएको छ ।

काठमाडौं- कालो पल्सर मोटरसाइकलमा सवार दुईजना हुइँकिएर आउँछन्, महिलाले लगाएको सिक्री र बोकेको नगद लुट्छन्। पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलको नम्बर थाहा नपाउँदै फरार हुन्छन्। अचम्म, उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन।

thief

काठमाडौं उपत्यकामा शुक्रबार यता यस्तै घटना भइरहेको छ। महानगरीय प्रहरीले महिलाले लगाएको सिक्री र बोकेको नगद लुटपाटमा नयाँ समूह सक्रिय भएको जनाएको छ। महानगरीय प्रहरीका अनुसार शुक्रबार यता सक्रिय समूहको निसानामा बुधबारसम्म पाँच महिला परिसकेका छन्।

प्रहरीले असार १२ मा यस्तै लुटेरा समूहलाई पक्राउ गरेपछि पाँच महिना शान्त रहेको उपत्यकामा नयाँ समूहको आतंक बढेको छ। ‘हामीले सुरक्षाका लागि हरसम्भव प्रयास गरिरहेका छौं, लुटेरा समूहको खोजीमा व्यापक प्रहरी परिचालन भएको छ, चाँडै पक्राउ पर्लान्,’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले नागरिकसँग भने।

महानगरीय प्रहरीका अनुसार सोमबार सिनामंगलमा सन्चुसेन शाहले लगाएको सिक्री लुटिएको छ। पीडितका अनुसार घटनामा कालो पल्सर मोटरसाइकलमा सवार दुई व्यक्ति बाटोमा हिँडिरहेकी शाहको सिक्री लुछेर भागे।

यस्तै, आइतबार भक्तपुरको सल्लाघारी र काठमाडौंका मनहरामा दुई महिला लुटिएका थिए। प्रहरीका अनुसार सल्लाघारीमा कटुन्जे बस्ने स्याङ्जा घर भएकी ३६ वर्षीया सुस्मिता सुवेदीको नगद ७३ हजार ६ सय ६९ रुपैयाँ लुटपाट भएको हो। सल्लाघारीमा रहेको आइएमईबाट आइतबार नगद निकाली झोलामा राखेर बाहिर निस्कने क्रममा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका दुई जनाले पैसा भएको झोला लुटेर भागेको सुवेदीले प्रहरीलाई बताइन्।

आइतबार नै दोलखा भीमेश्वर नगरपालिका–१२ हरहर महादेव घर भएकी ३० वर्षीया सन्जु थापा कार्कीको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री लुटपाट भएको छ। कार्की मनहरा लोमस औषधि फ्याक्ट्री नजिकै बाटोमा हिँडिरहेको अवस्थामा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका दुई जनाले सिक्री लुटेका थिए।

महानगरीय प्रहरी अपराध महाशाखा र उपत्यकाका तीनवटै परिसरको टोली अहिले अज्ञात लुटेरा समूहको खोजीमा सक्रिय भएको छ। प्रहरीले अनुसन्धानका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानको क्लोज सर्किट क्यामराको फुटेज चेकजाँच गरिरहेको छ। यस्तै मोटरसाइकलमा सवार सादा पोसाकका प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटिएका छन्। उपत्यकामा रहेका प्रभाग र वृत्तबाट समेत प्रहरी परिचालन गरिएको छ।

अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले केही व्यक्ति प्रहरीको निगरानीमा रहेको बताए। उनले लुटेरा पहिचानका लागि सम्भव भएसम्मका प्रमाण केलाइरहेको बताए। ‘उपत्यकामा भएका एकैप्रकारको लुटपाटको घटनामा एउटै समूह संलग्न रहेको भन्ने आधार फेला परेका छन्, यकिन भएको छैन, खोजीकार्य जारी छ,’ एसपी कार्कीले भने।

प्रहरीका अनुसार शुक्रबार र शनिबार पनि मोटरसाइलमा आएका लुटेराले काठमाडौंका दुई फरक स्थानमा दुई महिलाले लगाएका सिक्री लुटेका थिए। काठमाडौं प्रहरीका अनुसार नारायणटार र रानीवन पहेंलो गुम्बा नजिक दुई महिला लुटिएका हुन्।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–१५ नारायणटारस्थित राई स्कुल नजिकबाट नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजनाले स्थानीय कमला लिम्बूले लगाएको करिब डेढ तोलाको सुनको सिक्री शनिबार लुटेका हुन्। लुटेराको पहिचान हुन सकेको छैन।

यस्तै शुक्रबार नागार्जुन नगरपालिका–१ रानीवनकी शोभा पन्त क्षेत्रीले लगाएको पौने तोला सुनको सिक्री पहेंलो गुम्बानजिक पैदल हिँडिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजनाले लुटेका थिए।

‘सबै लुटपाट प्रहरी र क्यामरा नभएको स्थानमा भएका छन्, लागूऔषध प्रयोगकर्ता र संगठित समूह संलग्न भएको आशंकामा प्रहरी परिचालन भएको छ,’ एसपी कार्कीले भने। उनले सुरक्षाका लागि गरगहना लगाएर हिँड्दा सवधानी अपनाउन सर्वसाधारणसँग आग्रह गरे।

यसअघि प्रहरीले गत वर्ष भदौदेखि सक्रिय लुटेरा समूहलाई असारमा पक्राउ परेको थियो। लुटेरा समूहले उपत्यकाका विभिन्न स्थानमा १३ जना महिलालाई लुटेपछि असार १२ गते अपराध महाशाखाको फन्दामा परेको हो। त्यति बेला अनिल तामाङ, सञ्जीव तामाङ, सुजन तामाङ र सुदीप भन्ने बेलबहादुर बराइली पक्राउ परेका थिए।


Facebook Comment


No ads found for this position