चिनियाँ पर्यटक बढाउन पहल

आगामी वर्ष सन् २०१७ लाई चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्ष हुने सम्भावना बढेको छ । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीसँग चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउनका लागि सहयोग गर्न आग्रह गरेपछि यस सम्बन्धी कार्यक्रम तय हुन सक्ने भएको छ ।
पौडेलले चिनियाँ परराष्ट्र मन्त्रालयको दक्षिण एसिया विभागकी उपमहानिर्देशक होउ याङ्छीसँग बुधबार बिहान भएको भेटमा नेपालमा चिनियाँ पर्यटकलाई प्रोत्साहित गर्न अनुरोध गरेका थिए । अन्य छिमेकी मुलुकमा धेरै चिनियाँले भ्रमण गर्ने गरेको उल्लेख गर्दै उनले सम्बन्ध अत्यन्त सुमधर भएर पनि नेपालमा चिनियाँ पर्यटकको संख्या न्यून रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । होउले सन् २०१७ लाई चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्ष गराउने आश्वासन दिएकी छन् ।
नेपालमा वार्षिक झन्डै डेढ लाख चिनियाँ पर्यटक भित्रिने गरे पनि डेढ वर्ष अगाडि नेपालमा गएको विनाशकारी भूकम्पपछि नेपाल घुम्न आउने चिनियाँको संख्या घटेको थियो । ‘आजसम्म कुनै पनि चिनियाँ पर्यटकले नेपालमा कुनै हैरानी बेहोर्नु नपरेकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल सुरक्षित छ भन्ने पुष्टि हुन्छ भनेर स्मरण गराएको छु,’ पौडयालले सञ्चारकर्मी सग भने, ‘पर्यटकबाट दुई देशबीचको सम्बन्ध जनस्तरमा फैलिने र तल्लो तहका जनताले पनि चिनियाँ पर्यटकबाट फाइदा लिन सक्ने भएकाले यसमा चीन सरकारको सहयोगी भूमिका आवश्यक रहेको बताएको छु ।’
चिनियाँ पर्यटन कम्पनी र विभिन्न हवाई कम्पनीलगायत सरोकार निकायसँग कुरा गरेर नेपालमा चिनियाँ पर्यटक बढाउने कामको थालनी भएको राजदूत पौडयालले दाबी गरेका छन् । आम चिनियाँसामु नेपालको प्रचारप्रसार गर्नका लागि विभिन्न चिनियाँ सञ्चार माध्यमका प्रतिनिधिलाई नेपाल भ्रमण गराउने तयारी गरिएको समेत उनले बताए ।
राजदूत पौड्यालले चिनियाँलाई नेपालसम्बन्धी जानकारीयुक्त लेख चिनियाँ भाषामा राखिदिन समेत आग्रह गरेका थिए । अधिकांश चिनियाँ सञ्चारमाध्यम सरकारको नियन्त्रणमा रहेकाले चीन सरकारले यस्तो कार्यमा सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनले बताए । ‘सन् २०१५ मा चीनको तिब्बतमा एक करोड चिनियाँले भ्रमण गरेका छन् । ल्हासाबाट हवाई तथा स्थल मार्गबाट बाह्य सम्पर्क नेपाल मात्र भए पनि हामीले त्यो संख्याको एक प्रतिशतलाई पनि आकर्षित गर्न नसक्नु दु:खको कुरा हो ।’
चिनियाँ पर्यटकका लागि नेपालको पर्यटन बजारमा पूर्वाधारको कमी रहेको उनले औंल्याए । ‘सीमित दोभाषे संख्या, चिनियाँ भाषाका सामग्री अभाव, पर्यटक गाइड अभाव, चिनियाँ परिकार पाइने सीमित रेस्टुरेन्टलगायत चिनियाँ पर्यटकलाई नै लक्षित गरी कुनै गुणस्तरीय पर्यटन प्रवद्र्धन र उत्पादन छैन, अब त्यतातिर चासो राख्नुपर्छ,’ उनले भने । उनले नेपाल वायुसेवा निगमले चीनका विभिन्न सहरबाट उडान गर्नुपर्नेमा समेत जोड दिए ।
‘नेपाली वायु सेवा कम्पनीले अहिले चिनियाँ कम्पनीको तुलनामा आधा सस्तोमा सेवा प्रदान गर्न सक्छ । नेपाली वायु सेवाले सस्तो गरेपछि चिनियाँ वायु सेवाले पनि मूल्य घटाउन बाध्य हुनुपर्छ,’ राजदूत पौड्यालले भने, ‘हवाई भाडा महँगो भएकै कारण पनि चिनियाँ पर्यटकहरू नेपाल नगएर भियतनाम, थाइल्यान्ड, जापान र कोरिया जान्छन् ।’