पाइलट प्रशिक्षणका लागि एभिया क्लबले बनाएको निजी धावनमार्गमा उडान वैध कि अवैध ?
घुमफिर,पाइलट प्रशिक्षणका लागि एभिया क्लबले बनाएको निजी धावनमार्गबाट बुधबार भएको उडान वैध वा अवैध के थियो भन्ने प्रश्न उठेको छ । बिहान ९ बजे भएको उडान दुर्घटनामा परेपछि त्यो प्रश्न उठेको हो । तर प्रश्नको जवाफ साँझसम्म फेला परेन । यसबारे नागरिक उड्डय प्राधिकरणको शाखा पोखरा विमानस्थल कार्यालयले एभियालाई बुधबारै जानकारी मागेको भए पनि उसले जवाफ फर्काएन ।
विमानस्थलका निर्देशक भोला गुरागाईंका अनुसार एभियाको ह्याङग्लाइडर दुर्घटनाबारे जाँचबुझ गर्न प्राधिकरणको टोली पोखरा आइसकेको छ । ‘हामीले एभियालाई सोधेका छौं, उनीहरुले आज दुर्घटनाकै कारण बिजी भयौं, भनेका छन्, भोलि जवाफ आउला,’ गुरागाईंले भने ।
पाइलट कोर्स पढाउने धावनमार्गबाट क्यानडेली पर्यटकलाई किन उडाइयो भन्ने यो दुर्घटनासँगै उठेको अर्काे प्रश्न हो । ह्याङ्ग्लाइडरको डोरीले तानेर उड्ने अल्ट्रालाइटमा पनि २ जना थिए । तिनीहरु पाइलटिङ सिक्दै थिए वा दृश्यावलोकनका लागि उड्न लागेका हुन् भन्ने पनि खुलेको छैन । चापाकोटको धावनमार्गबाट भएका कुनै पनि उडान पोखरा एयरपोर्टको टावरसँग सम्पर्कमा आउँदैनन् । एभिया क्लबले पाइलट कोर्स सिकाउन प्रयोग गर्ने गरी नागरिक उड्डयन प्राधिकरणबाट धावनमार्ग सञ्चालन अनुमति प्राप्त गरेको हो ।
बुधबारको दुर्घटना हुँदा रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभले ज्यान गुमाए । २७ वर्षीया क्यानडेली नागरिक जिलेनी भोल्कर घाइते भइन् । बिहान ९ बजेतिर आकाशमा उडेको केहीबेरमै जहाज भुइँमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख इन्स्पेक्टर मोहनमणि अधिकारी बताए । ‘धावन मार्ग छाडेर केही माथि पुगेपछि अल्ट्रालाइटभुइँमा बजारिएको हो,’ उनले भने, ‘अल्ट्रालाइट उत्तानो परेर बजारिँदा रसियन पाइलट म्याक्सिमोभको टाउको पनि बजारिन पुग्यो ।’
२ जना पर्यटक यात्रु बोकेको अल्ट्रालाइटलाई डोरीले तानेर उड्ने क्रममा अलेक्जेन्डरले उडाएको ह्याङ्ग्लाइडर दुर्घटनामा परेको हो । उडेर १ फिट उचाइ लिनेबित्तिकै डोरी छिनेको र ह्याङ्ग्लाइडर पनि खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
म्याक्सिमोभको उपचारको क्रममा मृत्यु भएको इन्स्पेक्टर अधिकारीले बताए ।उनले भने, ‘यस विषयमा विज्ञ प्राविधिक टोलीले अनुसन्धन अघि बढाएको छ ।’ विगत १५वर्षदेखि अल्ट्रालाइट उडाउँदै आएका म्याक्सिमोभ ६२ वर्षका थिए ।
घाइते भोल्करको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । भोल्करको पेटमा चोट लागेको अस्पताल स्रोतले जनाएको छ । उनको आइसियुमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
९ एन–एएलएल कलसाइन भएको ड्रागन जहाजले धावनमार्ग छाडेर केही माथि पुगेपछि सन्तुलन गुमाएको प्रहरी अधिकारी बताउँछन् । अर्काे अल्ट्रालाइट जहाजलाई डोरीलाई तानेर उडेको केहीबेरमै अलेक्जेन्डरले उडाएको जहाज भुइँमा खसेको हो । पछाडि डोरीले तानिँदै गरेको जहाज पनि सामान्य दुर्घटनामा प¥यो । तर, त्यसमा यात्रारत २ जना सकुशल रहे ।
पाइटलको भन्दा पनि टेक्निकल मिस्टेकले दुर्घटना भएको हुन सक्ने स्रोतको अनुमान थियो । ‘अनुभवी पाइलट हुन् उनी,’ स्रोतले भन्यो, ‘अट्रालाइटको सुरुवाती समयदेखि नै उडाउन थालेका हुन्, त्यति मात्र होइन उनी प्रशिक्षक पाइटलपनि हुन् ।’