नमुना बन्दै चित्रेका होमस्टे
मंसिर १०, २०७३- ग्रामीण पर्यटन विस्तारका लागि परीक्षणका रूपमा सुरु भएका यहाँका होमस्टे अहिले नमुना बनेका छन् । गाउँमा आन्तरिक पर्यटन विस्तारको सम्भावना देखेर २०६७ मा स्थानीय दुई अगुवाले सुरु गरेका होमस्टेमा हाल मासिक ३ सय जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
विभिन्न क्याम्पस, स्कुल, फोटोग्राफी र भिडियो सुटिङ गर्न आउनेहरू बढेको होमस्टे सञ्चालक समिति अध्यक्ष सुशीलादेवी गुरुङले बताइन । उनले भनिन्, ‘सुरुसुरुमा साथीसँग आउनेहरू अहिले समूह बनाएर छुट्टाछुट्टै आउने गरेका छन् ।’ उत्तर फर्किएको गाउँबाट देखिने धौलागिरि हिमशृंखलाका दृश्य समेटेर बर्सेनि यहाँ म्युजिक भिडियो बनाउन आउने पनि धेरै भएको उनले बताइन् । पहिलो चरणमा सुशीलाकै घरबाट सुरु होमस्टे अहिले यहाँका १२ घरमा छन् । यी एक दर्जन घरले एकपटकमा सयजना पाहुनालाई बास दिन सक्ने पूर्वाधार बनाएका छन् । ‘कहिलेकाहीं सय जनाभन्दा बढी पाहुनाको ग्रुप आउँछ तर, बास पाइएन भनेका छैनन,’ होमस्टे सञ्चालनका अगुवा एवं स्थानीय शिक्षक मधुसूदन अधिकारीले भने, ‘पाहुना राख्ने क्षमता थोरै विस्तार गर्नुपर्ने अवस्था छ ।’
पर्यटकीय पञ्चासे क्षेत्रको अवलोकन, गुरुङ समुदायका परम्परा र वैदेशिक रोजगारीले पारेका प्रभावलगायत विषयमा अध्ययन गर्न यहाँ आइरहने थुप्रै छन् । २५ सय १७ मिटर उचाइको पञ्चासे वन क्षेत्र साढे चार सय हेक्टरमा फैलिएको छ । उक्त वन वन्यजन्तु र वनस्पतिको अध्ययन गर्नेका लागि पनि सुगम थलो भएको छ । अध्ययन गर्न आउनेहरू चित्रेमा बास बस्छन् ।
४ सय ५७ घरधुरी रहेको चित्रेमा एक तिहाइ गुरुङ बस्ती छ । यो समुदायका अधिकांश घरबाट एक/एक जना विदेशी सेनामा कार्यरत वा अवकाश पाएका भेटिन्छन् ।
चित्रेका विभिन्न सामाजिक पाटाहरूको अध्ययन गर्न विभिन्न क्याम्पसका विषयगत अध्ययनदेखि विद्यावारिधि गर्नेहरू पनि आउने गरेको शिक्षक अधिकारीले बताए । चित्रे र पञ्चासेको अध्ययन गरी हालसम्म करिब दर्जन व्यक्तिहरूले विद्यावारिधि गरिसकेका छन् । ‘यहाँको सभ्यता र सामाजिक संस्कारका कुरा अध्ययन गर्न लायक छन्,’ काठमाडौं विश्वविद्यालयका प्राध्यापक महेन्द्र सापकोटाले भने, ‘ग्रामीण पर्यटन व्यवसायले यहाँको अध्ययनमा थप सहज भएको छ ।’ किशोरी शिक्षा र चित्रेको सामाजिक अध्ययनका लागि उनी गत साता यहाँ आएका थिए ।
अधिकांश घरका युवापुस्ता वैदेशिक रोजगारीमा भएकाले गाउँको विकास निर्माण र सामाजिक कामको अगुवाइ महिलाले लिएका छन् । होमस्टेमा आउने पाहुनालाई खाना र बसोबासमा पनि स्थानीय रहनसहनको पहिचान दिइन्छ । खानामा गुन्द्रुकको अचार, कोदो र फापरको ढिंडो, मकैको आँटो वा पाहुनाको इच्छाअनुसार दिइने होमस्टे सञ्चालक धनकुमारी गुरुङले बताइन् । त्यसमा स्थानीय कुखुराको मासुको स्वाद अनिवार्य हुन्छ । पाहुना सुत्ने खाट वा पलङमा स्थानीयस्तरकै अल्लोका कपडाको प्रयोग हुन्छ ।