पर्यटकीय ‘रिमिघा लेक’ ओझेलमा
रामपुर (पाल्पा), १० मङ्सिर । पाल्पा जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा रहेको रिमिघा लेक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।
फोक्सिङकोट र पिपलडाँडा गाउँ विकास समितिको शीरमा रहेको यो रिमिघा लेक समुद्र सतहदेखि एकहजार सातसय ९४ मिटर उचाइमा रहेको छ । रिमिघा लेक जैविक विविधताको हिसाबले धनी मानिन्छ ।
रिमिघा लेकमा जोगी गुफा, देश हेर्ने ढुङ्गा, टुँडिखेल, विशाल चउर, इनार, भुरे राजाले बनाएका घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिर लगायतका ऐतिहासिक तथा धार्मिकस्थलसमेत रहेका छन् । यस क्षेत्रमा भ्यू टावर निर्माण, खानेपानी व्यवस्थापन, क्रिडास्थल निर्माण, मोबाइल नेटवर्क विस्तार, जोगी गुफा जाने बाटो निर्माण, रिमिघासम्म पुग्ने मोटरबाटो निर्माण र विकास हुन नसकेको स्थानीयवासी एवत सारुले बताउनुभयो ।
यहाँबाट एकै नजरमा हिमाल, पहाड र तराई क्षेत्रको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ रहेको माछापुच्छ«्रे, धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी अग्लाअग्ला डाँडाका साथै तराईको समथर मैदान देखिने यस पर्यटकीय रिमिघा लेकको विकासका लागि आर्थिक अभावले पर्यटन विस्तार हुन नसकेको हो ।
फोक्सिङकोट गाविस तथा पिपलडाँडा गाविस कार्यालयबाट रिमिघा लेक पर्यटन प्रवद्र्धन गर्न समय–समयमा बजेट छुट्याए पनि पर्याप्त बजेट नहुँदा यहाँको पर्यटन क्षेत्रले विकासको गति लिन नसकेको हो ।
साहसिक खेल प्याराग्लाइडिङका लागि रिमिघा लेक राम्रो गन्तव्य बन्न सक्ने सम्भावनाका रुपमा पनि रहेको छ । यस्ता सांस्कृतिक, धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको संरक्षण हुन नसक्दा यिनको अस्तित्व र महत्व गुम्दै गएको छ ।
रिमिघा लेकमा प्रत्येक नयाँ वर्षका अवसरमा हुँगी, ताहुँ, हुमिन, गेझा, हेक्लाङ, वीरकोट, जल्पा, फोक्सिङकोट, पिपलडाँडालगायत विभिन्न क्षेत्रबाट पिकनिकका साथै घुमफिर गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी नारायण मश्राङ्गीले बताउनुभयो ।