सडक जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

सखुवासभा, ११ मङ्सिर । जिल्लाको पोखरी, आम्राङ, चौरीखर्के सडक जीर्ण हुँदैजाँदा त्यस क्षेत्रका बासिन्दालाई सास्ती भएको छ ।

पोखरी बजार हुँदै आम्राङ, चौरीखर्क जलजलासम्म जाने उक्त सडक २०६८ सालमा स्थानीय जनताबाट रु २५ लाख चन्दा सङ्कलन गरी निर्माण गरिएको थियो ।

साविक सिद्धपोखरी गाविसको वडा नं.२ देखि ७ र जलजला गाविसलाई जोडने १२ किलोमिटरको उक्त सडक निमार्ण भएसँगै त्यस क्षेत्रका बासिन्दालाई आउनजान र त्यहाँको कृषि उपजलाई बजारसम्म पुरियाउन सहज भएका छन् ।
स्थानीय जनताको जिवनस्तरसंग गाँसिएका सडक भएकाले यसको स्तरोउन्नतिको लागि जिविस सखुवासभाबाट २०६८ सालदेखि २०७१ सालसम्म प्रतिवर्ष रु पाँच लाखको दरले बजेट विनियोजनसमेत गर्दै आएका छन्

तर जिविसबाट बजेट विनियोजन हुन छाडेपछि अहिले त्यो सडकको अवस्था जीर्ण भएका छन् । मर्मतसम्भारको अभावमा उक्त सडकमा कतै पहिरो, कतै हिलाम्मे र कतै ठूला ठूला चट्टान निस्कँदा यातायातका साधन मात्र होइन, मानिसलाई पैदल हिँड्न समेत कठिन हुँदै गएको स्थानीय रामकुमार लिम्बू बताउनुहुन्छ ।

त्यस क्षेत्रका स्थानीय जनताको प्रत्यक्ष सहभागितामा निमार्ण भएको सो सडक खण्डलाई हाल सरकारी निकायबाट चासो नदिँदा जीर्ण भएको दुखेसो स्थानीयवासीको छ । हिउँद महिनाको सुक्खा मौसममा समेत सडकमा पानी जमेर हिलाम्मे हुँदै जाँदा स्थानीय आफैले कुटोकोदालो लगायतका औजार लिएर बाटो मर्मतमा जुट्न थालेका छन् ।


Facebook Comment


No ads found for this position