शतबीज छर्न पशुपितमा जाग्राम (फोटो फिचर)

वर्षभरिमा दिवंगत भएका आफन्तहरूको शिवलोकमा बास होस् भन्ने कामना गर्दै सोमबार पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ। शतबीज छर्न आइतबार राति नै पशुपति क्षेत्रमा जाग्राम बस्न मानिसहरू आएका छन्।

श्रद्धालुहरू बिहान सबेरै उठेर शरीर शुद्धिपछि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ र लावाका साथै मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदोका टुक्राहरू छर्दै पशुपति क्षेत्रका देवीदेवताका मन्दिरहरू परिक्रमा गर्दछन्। सत्ययुगमा शिवले मृगको रूप धारण गरी जहाँ–जहाँ विचरण गरेका थिए त्यहाँ–त्यहाँ सतबीज छर्ने गरिन्छ। त्यसरी छरेको प्रत्येक सतबीजको गेडाले एक–एक तोला सुन दान गरे जतिको पुण्य मिल्छ भन्ने जनविश्वास रहँदै आएको छ।

छोराछोरी नभएका कसैकसैले आफू मरेपछि शिवलोकमा बास होस् भन्ने कामनाका साथ आफू जीवित छँदै सतबीज छर्न जाने पनि चलन छ।

यस दिन वर्षबन्धन भनेर पशुपतिनाथलाई दिनभरि चाँदीको कवचलगायत लगाइदिने परम्परा छ। भोलिपल्ट मंगलबार औंशीका दिन उक्त कवचका साथै पशुपतिनाथका सबै गहना तथा एकमुखी रुद्राक्ष आदि जाँच्ने र भेटी चढाएको रकमबाट सुन किनेर पशुपतिको ढुकुटीमा दाखिला गर्ने परम्परा छ।

बालाचतुर्दशीकै अवसरमा अघिल्लो रात विष्णुमती नदीको किनारमा अवस्थित इन्द्रायणी मन्दिरको सामुन्ने रहेको यज्ञकुण्डमा सर्पाहूति यज्ञ गर्ने परम्परा छ। यज्ञमा फटेंग्रा, माछा, भँगेरा र एक जोडी सर्प आहूति दिने र अर्को एक जोडी आकाशमा छोड्ने परम्परा छ।

साथै यज्ञमा राँगाको सिंगै एउटा टाउको, फोक्सो, कलेजोका साथै ३२ प्रकारको बीउबिजन पनि आहूति दिने गरिन्छ। त्यस अवसरमा इन्द्रयणी मन्दिरभित्र त्यौढ टुँ लाछीस्थित द्य:छेंबाट इन्द्रायणी (लुँती अजिमा), मजिपातदेखि येँगाल जाने बाटोमा पर्ने बाकु ननीका द्य:छेँबाट ज्वालामाई र नरदेवीका अष्टमातृका ल्याई राख्ने गरिन्छ।

मंगलबार बिहान इन्द्रायणी, ज्वालामाई, भुडीँगणेश, शोभाभगवती, अष्टमातृका र स्वाँपुगणेशलाई खटमा राखी थँहिटीचोकमा राखिन्छ र दिउँसो बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रमा गराइन्छ।


तस्बिरहरु : हेमन्त श्रेष्ठ/साभार कान्तिपुर


Facebook Comment