हस्तकलाका सामग्रीको निर्यात बढ्दो

१४ मंसिर, काठमाडौं । नेपालमा उत्पादित हस्तकलाका सामग्रीहरूको निर्यात बर्षेनि बढ्दै गएको छ । छिमेकी मुलुक चीन र भारत तथा तेस्रो मुलुकमा समेत हस्तकलाका सामग्रीहरूको माग बढेको छ । गत आर्थिक वर्ष ०७२/७३ मा ७५ करोड १२ लाख रुपैयाँबराबरको हस्तकलाका सामग्री निर्यात भएको छ । आयतीत वस्तुको बाहुल्यता भएको स्वदेशी बजारमा पनि हस्तकलाका सामग्रीमा उपभोक्ताको रुचि बढ्दो छ ।

bamboव्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २३.२ प्रतिशतले निर्यात बढेको छ । हस्तकला सामग्री नेपाल भ्रमणमा आएका विदेशीहरूले ह्याण्डक्यारीमा पनि उत्तिकै मात्रामा लैजाने गरेका छन् । ४२ प्रकारका नेपाली हस्तकलाका सामग्री संसारका ६० भन्दा धरै देशमा निर्यात हुन्छ ।

अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत र क्यानाडा नेपाली हस्तकला निर्यात हुने मुख्य देश हुन् । हस्तकलाका सामग्रीको बजार वार्षिक १५ प्रतिशतको हाराहारीमा बढेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि मेला आयोजना गर्छ । महासंघको तथ्यांकअनुसार हस्तकलामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ११ लाखले रोजगारी पाएका छन् ।

मुलुकभित्रै पनि सजावटका लागि हस्तकलाका सामान प्रयोग गर्ने प्रवृत्ति बढेको छ । नेपाल घुम्न आउने पर्यटकहरूले चिनोका रूपमा हस्तकलाकै सामग्री रोज्ने गर्छन् । कतिपय विदेशी राष्ट्रप्रमुख तथा महत्वपूर्ण व्यक्तिलाई दिइने उपहारमा पनि हस्तकलाकै सामान पर्ने गरेका छन् ।

सरकारले पनि नेपाली उत्पादनलाई बढावा दिने उद्देश्यले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाली हस्तकलाका सामान उत्पादनका लागि दक्ष कालिगढको अभाव छ । काष्ठकला, धातुकला, मूर्तिकला, पश्चिना, ऊन रेशम, कटन, अल्लो ढलोट, हातेकागज जस्ता समान विदेशमा मुख्य रूपमा निर्यात हुन्छन् ।

विदेशी बजार सरह नेपालमा पनि हस्तकलाका समानको खपत बर्सेनि बढ्दो छ । महासंघका अनुसार ७ सयभन्दा धेरै हस्तकलाका उद्योग दर्ता भएका छन् ।

सवा लाखद्वारा अवलोकन 

शुक्रबारदेखि राजधानीको भृकुटीमण्डमा सञ्चालित हस्तकला व्यापार मेलामा सोमबारसम्म १ लाख २० हजारले अवलोकन गरेका छन् । मेला मंगलबारसम्म सञ्चालन हुनेछ । वाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले मेला आयोजना गरेको हो ।

मेलामा ७ वटा पेभिलियनसहित १ सय ७८ वटा स्टल छन् । अन्तरराष्ट्रिय जगतबाट बंगलादेश, पाकिस्तान, चीनको स्वाशासित क्षेत्र तिव्बत र भुटानका प्रदर्शनकर्ताले भाग लिएका छन् ।

व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र ऊनी बुनाई विधामा प्रतियोगीहरूले प्रदर्शनीस्थलमै बसेर आफ्नो कला प्रदर्शन गरिरहेका छन् ।


Facebook Comment


No ads found for this position