त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तार आयोजना अन्योलमा

१४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारमा सम्झौताबमोजिम काम नगरेको स्पेनी कम्पनीले क्षतिपूर्ति पाएमात्रै ठेक्का तोड्ने बताएपछि सरकार निर्णयविहीन बनेको छ । विमानस्थल विस्तारको ठेक्का पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले क्षतिपूर्ति मागेपछि सरकार ठेक्का सम्झौता गर्ने निर्णय कार्यान्वयनबाट तत्काल पछि हटेको छ ।
विदेशी कम्पनीसँगको सम्झौता एकतर्फी तोड्दा मुद्दामामिलाको झमेलामा पर्ने सम्भावना भएकाले नागरिक उड्डयन प्राधिकरणले निर्णय गर्न नसकेको हो ।
प्राधिकरण स्रोतका अनुसार ठेक्का सम्झौता तोड्ने वा पुनः नवीकरण गर्ने भन्ने विषय हाल अन्योलमा परेको छ । विमानस्थल विस्तारको जिम्मा पाएको तीन वर्षमा १६ प्रतिशतमात्र काम गरेको कम्पनीले ठेक्का तोड्ने हो भने २ अर्ब ३१ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ । कम्पनीसँगको ठेक्का सम्झौता अवधि गत कात्तिक २४ गते नै सकिएको हो ।
सन् २०१३ को मार्च १७ देखि काम सुरु गरेको स्पेनी कम्पनीले प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षको अवधिमा जम्मा १६ प्रतिशत काम सम्पन्न गरेको थियो । भूकम्प र नाकाबन्दीको कारण देखाएपछि प्राधिकरणले गत कात्तिक २४ सम्मको लागि ठेक्का सम्झौता नवीकरण गरेको थियो ।
“प्राधिकरणले पुनः नवीकरण गर्ने अथवा ठेक्का तोड्ने भन्ने निर्णय गरेको छैन, निरन्तर छलफलमा रहेकोले केही दिनमै निर्णय गर्नेछौं,” प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने । एसियाली विकास बैंकको सफ्ट लोनमा आयोजना अगाडि बढेकोले बैंकसँगको सल्लाहबाट मात्र अरु प्रक्रिया अगाडि बढाउने श्रेष्ठले जानकारी दिए ।
कम्पनीले विगत लामो समययता पशुपति क्षेत्रको भन्दा अन्यबाट माटो नल्याउने अडान लिएपछि प्राधिकरण र कम्पनीबीच सहमति हुन सकेको छैन ।
प्राधिकरणले अहिले कम्पनीलाई हटाउँदा फेरि आउनसक्ने कानुनी अड्चन तथा अन्य विषयमा समेत अध्ययन गरिरहेको बुझिएको छ । कम्पनीले भने प्राधिकरणसँग ठेक्का तोड्ने हो भने २ अर्ब ३१ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ । सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेबापत करिब ९६ करोड रुपैयाँ लगेको भए पनि खर्च गरेभन्दा दोब्बरभन्दा बढी रकम क्षतिपूर्ति मागेको छ ।
विमानस्थल विस्तारको पहिलो चरणको काममा ६ अर्बमा काम सम्पन्न गर्ने गरी लिएको ठेक्कामा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ ।
एसियाली विकास बैंक (एडीबी)को आठ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम सुरु भएको थियो । एडीबीको विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो ।
विस्तारपछि धावनमार्गको लम्बाइ तीन हजार छ सय ५० मिटर हुनेछ । हाल लम्बाइ ३ हजार ५० मिटर र चौडाइ ६० मिटर रहेको छ ।
अन्तरराष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण, अन्तरराष्ट्रिय उडानका यात्रुको सामान ल्याउने बेल्ट (कन्भेयर बेल्ट) निर्माणको जिम्मा पाएको भए पनि निर्धारित कामको गति निकै सुस्त रहेको छ । सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तरराष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ ।
योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङलगायत रहेका छन् । एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजना अनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको हो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।