जनकपुरमा रामजानकी विवाह महोत्सव सुरु .

घुमफिर, भगवान रामको ससुराली र सीताको माईत जनकपुरमा रामजानकी विवाह महोत्सव मंगलबारदेखी औपचारिक रुपमा सुरु भएको छ ।

जनकपुरमा रामजानकी विवाह महोत्सव सुरु .
जनकपुरमा रामजानकी विवाह महोत्सव सुरु .

साताव्यापी रुपमा मिथिला परम्पराअनुसार गरिने यो वैवाहिक महोत्सवका लागि जनकपुरको जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको छ । प्राचिन मिथिलाको राजधानीको रुपमा धर्मग्रन्थमा उल्लेख गरिएको जनकपुरमा त्रेता युगमा रामसीता बीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन आयोजना हुने विवाह महोत्सव सबैभन्दा प्रमुख पर्वको रुपमा मानिन्छ ।

महोत्सवको पहिलो दिन जनकपुरमा नगर दर्शन कार्यक्रम गरिएको छ । यस अवसरमा जानकी मन्दिरमा रामलीलाको आयोजना समेत गरिएको हो । महोत्सव अन्तर्गत १५ गते फुलबारी लिला, १६ गते धनुष यज्ञ, चौथो दिन १७ गते तिलकोत्सव, १८ गते मटकोर, १९ गते शुभविवाह र सातौं दिन २० गते रामकलेवाको आयोजना गरिने मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए ।

महोत्सवलाई विशेष आकर्षक बनाउन र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न धार्मिक सांस्कृतीक झाँकी, धार्मिक कथा प्रवचन, सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।महोत्सवमा सहभागी हुन पर्यटक आउने क्रम सुरु भएकोले मेलामा भिडभाडलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मनोज यादवले जानकारी गराएका छन् ।

महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाईको नेतृत्वमा मूल समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको ।गत वर्ष मधेस आन्दोलनको बेला विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी जनकपुर आएपछि मधेसवादी दलले विरोध गर्दै जानकी मन्दिर परिसरमा नै ढुंगामुढा र पेट्रोल बम प्रहार गर्दा महोत्सवमा सहभागी हुन आएका दर्शनार्थीबीच भागाभाग भएको थियो ।

पर्यटकहरु विवाह उत्सवमा सहभागी समेत हुन नपाउंदा महोत्सव खल्लो भएको थियो । तर, यस वर्ष महोत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्न सबैपक्षलाई सहयोगको लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आग्रह गरेका छन् ।यो महोत्सव विश्वकै उदाहरणीय रहेको र नेपालबासीको धरोहर भएको हुनाले धार्मिक संस्कृतीको संरक्षणका लागि र जनकपुरको प्रचारप्रसारका लागि यसलाई राम्ररी सम्पन्न गर्न जनकपुरवासी र सम्पूर्ण राजनीतिक दललाई महन्थ दासले आग्रह गरेका छन् ।महन्थ दासले महोत्सवमा सहभागिताका लागि जानकी मन्दिरको तर्फबाट आमन्त्रण पत्र समेत छपाएर बाढेका छन् ।


Facebook Comment


No ads found for this position