मध्यवर्ती क्षेत्रमा बाघको त्रास

पछिल्लो एक महिनामा बाघ आक्रमणबाट ३ जनाको ज्यान गएपछि नवलपरासीको मध्यवर्ती क्षेत्रमा त्रास फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बन्यजन्तु बस्ती पसेर बितन्डा मच्चाउन थालेपछि त्रास बढेको हो ।

मध्यवर्ती क्षेत्रमा बाघको त्रास
मध्यवर्ती क्षेत्रमा बाघको त्रास

शुक्रबार बिहान मात्रै घर नजिकैको जंगलमा घाँस काटन गएकी दुम्किबास ७ बघुवनकी आसमती मर्साङी मगरको बाघ आक्रमणबाट मृत्यु भएपछि स्थानीयले सुरक्षा माग गरेका छन् । यसअघि मध्यविन्दु ७ की ४५ वर्षीय आज्ञावती राना र कावासोती ११ का दिलबहादुर श्रेष्ठको समेत बाघ झम्टाइमा ज्यान गइसकेको छ ।

शृंखलाबद्ध रूपमा भएका यी घटनापछि स्थानीय बिहान र साँझ घरबाहिर निस्कन समेत डराउन थालेको कुमारवर्ती ८ का कमलराज शर्माले बताए । गर्मीभन्दा जाडो महिनामा बन्यजन्तु गाउँ पसेर आक्रमण गर्ने र बाली सखाप पार्ने उनले जनाए ।

बाघले मानिसलाई आक्रमण गर्ने र गैंडाले तरकारी खेती नोक्सान गर्न थालेपछि स्थानीय त्रसित छन् । इलाका प्रहरी कार्यालय नवलपुरका डीएसपी राजेश थापाले बाघको आक्रमणले नवलपुर क्षेत्रमा त्रास फैलिएपछि चितवन राष्ट्रिय निकुञ्जलाई नियन्त्रणका लागि जानकारी गराएको बताए ।
तीन वटै ठाउँमा आक्रमण गर्ने बाघ एउटै हो कि फरक हो भन्ने यकिन हुन नसकेकाले पनि सहयोग मागिएको उनको भनाइ छ ।

जीर्ण तारबारले जोखिम बढ्यो
निकुञ्ज र सामुदायिक वनबाट बस्ती छिर्ने बन्यजन्तु रोक्न ८ वर्ष अगाडि लगाइएको विद्युतीय तारबार प्रभावकारी नभएको स्थानीयको आरोप छ ।

मध्यवर्ती उपभोक्ता समिति तथा सामुदायिक वनको सहभागितामा लगाइएको विद्युतीय तारबारले गैंडालाई रोके पनि बाघ, बँदेल र हरिणजस्ता बन्यजन्तु रोक्न नसकेको लामीचौर मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए ।

८ वर्ष पुरानो तारबारको मर्मत नहुनु र ठाउँठाउँमा टुटेकाले जनावर सहजै गाउँ पस्न खतरा छ । विद्युतीय तारबारमा रातको समयमा करेन्ट छोडिन्छ । करेन्टको झडकाले पहिला जंगली जनावर जंगल तर्फनै फर्कन्थे । तर, अहिले तारबार पुरानो र मर्मत नहुँदा बन्यजन्तुलाई बस्ती पस्न सहज भएको हो ।

 


Facebook Comment


No ads found for this position