मेलवर्नमा नेपाल फेस्टिवलको तयारी तीब्र

गैरआवासीय नेपाली संघ भिक्टोरियाको आयोजनामा मेलवर्नमा आगामी डिसेम्बर १७ तारिखमा आयोजना हुन लागेको नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलवर्नमा नेपाल फेस्टिवलको तयारी तीब्र
मेलवर्नमा नेपाल फेस्टिवलको तयारी तीब्र

बहुसांस्कृतिक अष्ट्रेलियाली समाजमा नेपाली कला, संस्कृति र पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले मेलवर्नको मुटु फेडेरेसन स्क्वायरमा हुन लागेको यो एक दिने महोत्सव भब्य बनाउन लागिएको महोत्सव संयोजक केशव कँडेलले जानकारी दिए ।

अष्ट्रेलियाका बहुसांस्कृतिक मामिला मन्त्री, अष्ट्रेलियन मुख्य पार्टीका प्रतिनिधि, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायत अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरु लगायतलाई निम्ता पठाइसकिएको उनले जानकारी दिए । साथै नेपालबाट पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई सहभागिताका लागि निम्ता गरिए पनि अहिलेसम्म निश्चित हुन नसकेको उनले जानकारी दिए ।‘अघिल्ला बर्षहरुभन्दा सहभागिता बृद्धि गर्न हामीले प्रचार अभियानलाई तिब्र पारेका छौं,’ कँडेलले भने, ‘करिव ३० हजार सहभागी हुने अपेक्षा गरेका छौं ।’सिड्नीमा बिसौं हजार दर्शकलाई जुरुक्क उचालेको चर्चित ब्याण्ड कन्दराले मेलवर्नको नेपाल फेस्टिवलमा पनि आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छ ।

नयाँ पुस्तालाई नेपालीपनको अनुभूति

मेलवर्नमा हुर्किंदै गरेको दोस्रो पुस्ताको नेपालीलाई नेपाली कला र संस्कृति चिनाउनु महोत्सवको मुख्य उदेश्य रहेका उनले बताए । बिभिन्न सातवटा सांस्कृतिक समूहले भोजपुरी, शेर्पा, मगर लगायतका बहुसांस्कृतिक नृत्य प्रस्तुत गर्ने छ भने गुल्मी समाजले धार्मिक भजन प्रस्तुत गर्ने छ ।

यस्तै भिक्टोरियामा रहेका साहित्यिक संस्थाहरुले साहित्यसम्बन्धी प्रस्तुती गर्नेछन् भने सोही दिन बिहान स्टेट लाइब्रेरीबाट सुरु भई कार्यक्रम स्थलसम्म पदयात्रा हुने छ । जसमा बिभिन्न सांस्कृतिक झाँकीहरुसहित हजारौंं नेपाली सहभागी हुनेछन् । नेपाली हस्तकला र पर्यटन प्रर्बद्धनका लागि नेपाल हाउस स्थापना गरिने छ भने नेपाली हस्तकला, पर्यटन, फेसन र चियासम्बन्धी बिभिन्न स्टल रहनेछन् ।महोत्सवमा कुल ४५ स्टल रहनेछन् जसमध्ये ९ वटा नेपाली खानासम्बन्धी हुनेछन् ।

बिदेशी ल्याउन बिशेष कार्यक्रम

यसैवीच एनआरएन नेपाल महोत्सवमा स्थानीय अष्ट्रेलियन तथा अन्य देशका मानिसहरुको सहभागीता बढाउन ‘साथी ल्याउनुहोस्, साथीलाई ट्याग गर्नुहोस्’ अर्थात ट्याग अ मेट, बि्रङ अ मेट’ अभियान पनि सञ्चालन गरिएको छ । यसरी आउने अन्य देशका नागरिकलाई बिशेष सम्मानको ब्यबस्था गरिएको संयोजक कँडेलले जानकारी दिए ।‘नेपालीमात्र आएर यो महोत्सव सफल हुने हैन, हामीले बिदेशीलाई पनि सकेसम्म बढी सहभागी बनाउन नेपालीहरुलाई नै आफ्ना बिदेशी साथी महोत्सवमा ल्याउन प्रोत्साहन गरिरहेका छौं,’ कँडेलले भने ।


Facebook Comment


No ads found for this position