ट्रेकिङ जाँदा यी सामान बोक्नुहोस्

ट्रेकिङका लागि विश्वमै उत्कृष्ट गन्तव्यमा पर्छ नेपाल । दुई हजारदेखि पाँच हजार पाँच सय मिटरसम्म उचाइ ट्रेकिङका लागि उपयुक्त मानिन्छ । तपाईं पनि पहिलोपटक ट्रेकिङका लागि जाँदै हुनुहुन्छ भने के–के बोक्ने भन्ने विषयमा जानकारी नहुन सक्छ ट्रेकिङ गाइड भरत पौडेलले टिप्स दिएका छन्ः

भरत पौडेल ट्रेकिङ गाइड

भरत पौडेल
ट्रेकिङ गाइड

  • तीन हजार मिटरसम्मको उचाइमा मात्रै ट्रेकिङ जाने हो भने जाडो मौसमका लागि नर्मल स्पोर्टस् सुजले पनि काम दिन्छ । तर, तीन हजार मिटरमाथिको ट्रेकिङमा वाटरप्रुफ ट्रेकिङ सुज नै आवश्यक पर्छ । ज्याकेट पनि डाउन (भित्र फेदर राखेको) चाहिन्छ । डाउनमा पनि कस्तो क्वालिटीको लगाउने भन्ने टे«किङमा निस्किने मौसम र अल्टिच्युडमा निर्भर हुन्छ । तीन हजार मिटर माथि जाने हो भने विन्डप्रुफ ट्र्याक चाहिन्छ । हिमालको यात्रा गर्दा अन्य जुनकुनै सिजनमा पनि रेनकोट बोक्नु राम्रो हुन्छ । ट्रेकिङ जाँदा कहाँ र कस्तो ठाउँमा बस्ने भन्ने निश्चित हुँदैन । परिस्थितिअनुसार जस्तो ठाउँमा पनि बस्नुपर्ने हुन सक्छ । त्यसैले, स्लिपिङ ब्याग अत्यावश्यक पर्छ । राति पनि यात्रा गर्नुपर्ने या वासस्थानमा बत्तीको अभाव हुन सक्ने भएकाले टर्चलाइट अर्को आवश्यक साधन हो ।
  • ट्रेकिङ जानेले सामान्य बिरामीले प्रयोग गर्ने औषधि बोक्न भुल्नु हुँदैन । ज्वरो, रुघा–खोकी, पखाला लाग्दा प्रयोग गर्ने औषधिसँगै ब्यान्डेज र ह्यान्डिप्लास्ट छुट्नु हुँदैन । हाई अल्टिच्युडका लागि डायमक्स पनि चाहिन्छ । पानीको बोतलसँगै वाटर प्युरिफाई पनि बोक्नुपर्छ ।
  • गाइडको सहयोगविना ट्रेकिङ जाँदै हुनुहुन्छ भने नक्सा अनिवार्य हुनुपर्छ । नक्सा नहुँदा ट्रेकिङ रुट नै भुल्ने डर हुन सक्छ । त्यस्तै, हिमाली क्षेत्रमा घाम लाग्दा निकै पोल्ने भएकाले छाला बचाउन सनस्क्रिन लोसन आवश्यक पर्छ ।  ट्रेकिङ जाँदा लामा पन्जा, टोपी, फेरफारे कपडा र टावेल पनि बोक्नुपर्छ । यी दैनिक आवश्यक पर्ने सामान हुन् ।
  • रमाइलो ट्रेकिङ गर्दाको स्मरण त क्यामेरामा कैद गर्नैपर्छ । राम्रो क्यामेरा बोक्न नभुल्नुहोला । क्यामेराका लागि एक्स्ट्रा ब्याट्री पनि राख्नुहोला । अब, यी सबै सामान राख्नका लागि एउटा झोला आवश्यक पर्छ । ट्रेकिङमा जाने समयअनुसार झोला किन्नुपर्छ । पाँच दिनसम्मको ट्रेकिङका लागि ३५ लिटरसम्मको झोला भए पुग्छ । तर, लामै ट्रेकिङ जाने हो भने ७० लिटरसम्मको चाहिन्छ ।साभार नयाँपत्रिका


Facebook Comment


No ads found for this position