बुद्धले नयाँ जहाज ल्याउने
२० मंसिर, काठमाडौं ।निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानी गरी अर्को एउटा जहाज खरिद गर्ने घोषणा गरेको छ। यसका लागि बुद्धले जहाज निर्माता कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको एकथान जहाज खरिद गर्न फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो। अब थप्न लागेको सिरिजको जस्तो जहाज बुद्धले हाल तीनथान सञ्चालन गरिरहेको छ।
‘अर्को एकथान एटिआर७२–५०० जहाज खरिद गर्न एटिआर कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गर्यौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइतबार नागरिकसँग भने, ‘यो जहाजका लागि करिब एक अर्ब रुपैयाँ लगानी गर्दै छौं।’
उनका अनुसार आगामी माघ १८ गतेभित्र यो जहाज काठमाडौं ल्याइसक्ने गरी प्रक्रिया अगाडि बढेको छ। त्यसपछि नियामक निकायमा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर एक महिनापछि फागुन १८ गतेबाट नियमित उडान गर्ने तालिका बनाइएको छ।
‘नयाँ बजार विस्तार गर्न वा अन्य वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले जहाज खरिद गर्न लागेका होइनौं,’ बस्नेतले भने, ‘विमानस्थलमा विविध कारण हुने गरेको ‘डिले’ र हाम्रा अन्य जहाज मर्मतका कारण यात्रुलाई समस्या नहोस् भन्ने उद्देश्यले जहाज ल्याउन लागेका हौं।’
थप जहाज आएपछि बुद्ध वर्षको ३ सय ६५ दिन नै उड्ने बस्नेतले जानकारी दिए। बुद्धसँग रहेका आठथान जहाजको मर्मत अवधि वर्षमा २ सय ४० दिन हुने गर्छ। यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ।
‘हो, यही मर्मत अवधिमा यात्रु तोकिएको समयमै आफ्ना गन्तव्य पुग्न सकून् भनेर नयाँ जहाज खरिद गर्न लागेका हौं,’ बस्नेतले भने, ‘नयाँ जहाज आएपछि नौथान जहाज हुनेछन् र मर्मत तालिकाअनुसार पालैपालो जहाज मर्मतमा बस्छन् र आठथान जहाज पालैपालो निरन्तर उडान गरिरहन्छन्।’
नयाँ आउने जहाजमा ‘पिडब्लु१२७’ इन्जिन जडान हुने बुद्धले जनाएको छ। ‘ब्रान्ड न्यु’ खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज करिब १ अर्ब रुपैयाँमा खरिद गर्न लागिएको कम्पनीको भनाइ छ। मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ।
बुद्धले माघ १८ भित्र थप एउटा एटिआर७२–५०० ल्याएको एक वर्षभित्र यही सिरिजको अर्को जहाज पनि ल्याउने योजना बनाएको छ। दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ करिब ७० प्रतिशत बजार हिस्सा ओगटेको छ। कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन्।
बुद्धले उडान सुरु गरेर २०७२ असोजसम्ममा स्वदेशी तथा विदेशी गरी ७८ लाख यात्रुलाई गन्तव्य पुर्याएको थियो। कम्पनीले पर्यटन/घरेलु उडानतर्फ सबैभन्दा बढी कर/राजस्व बुझाउन सफल पनि भएको थियो। ‘अहिले हामी वार्षिक ९ लाख यात्रुलाई गन्तव्य पुर्याइरहेका छौं,’ बस्नेतले भने।
बुद्धसँग हाल ७२ सिट क्षमताका तीनवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज सञ्चालनमा छन्। यी आठ जहाजको मूल्य ५ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ। त्यसबाहेक कम्पनीसँग १ अर्ब २५ करोड रुपैयाँबराबर मूल्यका जगेडा पुर्जा पनि छन्।
हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठवटा जहाजबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा उडान गरिरहेको छ। त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ तथा पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ। त्यस्तै विराटनगरबाट तुम्लिङटार उडान पनि गरिरहेको छ। दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन।
यसले दैनिक ४० भन्दा बढी उडान गरिरहेको छ। नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको छ।
बुद्धले हालै ‘इन्टरनेसनल सेफ्टी अडिट’ पूरा गरेको छ। ९ सय ५८ वटा मापदण्डअनुसार अडिट पूरा भएको कम्पनीले जनाएको छ। ‘उडान सुरक्षामा हामी कति गम्भीर छौं र कसरी काम गर्छौं भन्ने यसखालको अडिट पूरा हुनु भनेको नेपाली उड्डयन क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धी हो,’ प्रबन्ध निर्देशक बस्नेतले भने।
कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ। उक्त ह्यांगरमा आफ्ना जहाजमात्र नभई बंगलादेशको नोभो एयरका एटिआर जहाज र त्यहीँकै हेल्लो एयरका बिचक्राफ्ट जहाज पनि मर्मत गरिरहेको छ। विगतमा भुटानको ड्रुक एयरको एटिआर जहाज पनि मर्मत गरेको थियो।
यसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमतर्फ पूर्वी तराईमा सहकारीमार्फत करिब १ हजार बिघा क्षेत्रफलमा पूर्ण यान्त्रीकरण तथा ‘एसआरआई’ विधिबाट खेती सञ्चालन पनि गरिरहेको छ।