विदेशी पर्यटकको आगमन संख्या चार वर्षदेखि ओरालो

उत्तम काप्री 

उत्पादनमूलक र ट्रेडिङ बिजनेसमा स्थापित ठूला व्यापारिक घराना अतिथि सत्कार व्यवसायमा लगानी गरिरहेका छन् । उनीहरूको लगानीमा तारे होटेल धमाधम ठडिरहेका छन् । विदेशी पर्यटकको संख्याचाहिँ चार वर्षदेखि ओरालो लागेको छ । सन् २०१२ मा आठ लाखभन्दा बढी पर्यटक भित्रिएर रेकर्ड बनेयता पर्यटक आगमन क्रमशः घटिरहेको छ ।

निर्माणाधीन होटेल बनेपछि तारे होटेल/रिसोर्टमा गरी चार हजारभन्दा बढी कोठा थपिनेछन् । चालू अवस्थामा रहेका २३ हजार कोठामा ५० प्रतिशतमात्र अकुपेन्सी रहेको होटेल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार ७० प्रतिशत जति व्यापार आन्तरिक पर्यटकबाटै धानिएको छ ।

hotel-pokharaके हुन्छ त ?

‘केही समयको अन्तरालमा निर्माणाधीन होटेल परियोजना सम्पन्न हुँदा मागभन्दा आपूर्ति बढीको अवस्था हुनेछ’, सोल्टी होटेलसमेतको व्यवस्थापन गर्ने सोल्टी इन्टरप्राइजेजका प्रेसिडेन्ट इमिरेट प्रभाकरशमशेर राणा भन्छन, ‘केही समय सकस हुनेछ ।’ तैपनि होटेल स्वयमले मार्केटिङ गर्दा पर्यटक आगमन बढ्नेछ । सशस्त्र द्वन्द्वका बेलाजस्तो होटेल बन्द हुने अवस्था नहुने उनको अनुमान छ । राणाको समेत लगानी रहेको सूर्य इन्टरप्राइजेजले रविभवनमा ६ तारे स्तरको डिलक्स होटेल बनाउने योजना छ ।

अब थपिने चार हजार कोठा (कुल २७ हजार) का लागि वार्षिक कम्तीमा १६ लाख पर्यटक नभित्र्याइ नहुने होटेल एसोसियन अफ नेपाल (हान) का महासचिव विनायक शाह बताउँछन् । सन् २०२० सम्ममा २० लाख पर्यटक आगमन गराउने सरकारी गुरु योजनाको लक्ष्य छ । तर, लक्ष्य पूरा गर्न गर्नुपर्ने पूर्वाधार निर्माणको काम सन्तोषजनक छैन । सरकारको लक्ष्यमा कागजमा सीमित हुने खतरा छ । पछिल्लो समय तारे होटेल विभिन्न सभा÷सम्मेलनको भरमा टिकेको एयरपोर्ट होटेल सञ्चालक शाहले बताए । पर्यटक आगमन बढाउन सरकार आफैं नभिडी हुन्न । ‘होटेल आफैंले व्यापारका लागि पर्यटक भित्र्याइ हाल्छन् भन्ने मानसिकताले हुन्न’, उनी थप्छन् ।

अन्तर्राष्ट्रिय होटेल चेन मेरियटको व्यवस्थापन हुने गरी नक्सालमा पाँचतारे र ठमेलमा चारतारे होटेल एकसाथ बनाइरहेको एमएस समूहका अध्यक्ष शशीकान्त अग्रवाल पर्यटक आगमन घटेका बेला एकसाथ धेरै होटेल थपिन लाग्दा सशंकित भएको सुनाउँछन । ‘हामीले होटेल परियोजना घोषणा गर्दा यसरी एकैचोटि धेरै लगानीकर्ता यो क्षेत्रमा आउने अनुमान थिएन’, उनी थप्छन् ।

पर्यटकको आगमन बढाउन गरिने प्रवद्र्धन कार्यक्रम भने अझै परम्परागत छ भन्ने पर्यटन विज्ञ तथा पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको बुझाइ छ । जब, सरकार/निजी क्षेत्र साझेदारीमा सन् २००७ देखि सुरु भएको कार्यक्रम प्रभाकारी भयो । सशस्त्र विद्रोहको सकिनुको सकारात्मक प्रभाव पर्यटनमा पर्‌यो । सन् २०११ को पर्यटन वर्ष पनि सफल ठानियो । नेपाल अब विस्तारै शान्तिको बाटोमा लम्केको छ भन्ने सूचना फैलिँदा सन् २०१२ मा आठ लाखभन्दा बढी पर्यटक भित्र्याउन सफल पनि भइयो ।

‘त्यसपछि जसरी यसलाई परिमार्जन÷ निरन्तता दिनुपथ्र्यो हुन सकेन’, श्रेष्ठ भन्छन्, ‘फेरि देशको राजनीति अवस्थामा पनि अस्थिर हुँदै जाँदा पर्यटक आगमनमा बढ्नुको सट्टा घट्दो क्रममा गयो ।’

touristपर्यटक आगमनको घट्दो अवस्था

सन् २०१२ मा आठ लाख तीन हजारभन्दा बढी पर्यटक आएका थिए । पर्यटन बोर्डका प्रवक्ता शरद प्रधानका अनुसार त्यसयता यो संख्या निरन्तर घट्दो छ । पर्यटक आगमन सन् २०१५ मा घटनुको कारण भूकम्प र भारतीय नाकाबन्दीलाई देखाउने गरिन्छ । तर, सन् २०१३ र २०१४ मा पर्यटक आगमन घटनुको कारण चाहिँ के त ? ‘राजनीतिक अस्थिरता,’ सरकारी अधिकारीको रेडिमेड जवाफ हुने गर्छ । अवस्था हेर्दा सन २०१६ मा ६ लाखभन्दा बढी पर्यटक नआउने अनुमान गर्न सकिन्छ ।

बोर्डका अनुसार सन् २०१६ को पहिलो ६ महिना (जनवरी-जुन) तीन लाख २० हजारमात्र पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या सन् २०१५ को सोही अवधिभन्दा करिब ४० हजारले मात्रै बढी हो । २०१३ मा करिब लाख ३९ हजार पर्यटक नेपाल आएका थिए । यसैगरी सन् २०१३ मा सात लाख ९७ हजार पर्यटक आएका थिए । यो संख्या पनि सन् २०१२ को भन्दा ६ हजारले कम हो । सन् २०१३ मा भन्दा २०१४ मा सात हजारले गिरावट आएको बोर्डले जानकारी दिएको छ । भूकम्प र भारतीय नाकाबन्दी भएको वर्ष (२०१५) मा साढे दुई लाखभन्दा बढी पर्यटक आगमन घटेको थियो ।

मन्त्रालयको आफ्नै अडान

अन्य वर्षको तुलनामा सन् २०१५ मा नेपाल भम्रणमा आउने पर्यटक घट्ने कारण देशकै आन्तरिक कारण (भूकम्प÷नाकाबन्दी) हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार अझै पनि नेपाल भ्रमणमा आउने विदेशी भूकम्पपछिको परकम्पका कारण डराइरहेका छन् । सरकारले कुनै समस्या छैन भने पनि विदेशी आश्वस्त हुन सकेका छैनन् । सन् २०१६ मा सात लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

‘संख्या पुग्ला वा नपुग्ला आफ्नै ठाउँमा छ’, उपाध्याय भन्छन्, ‘सन २०१५ भन्दा बढी हुनेमा ढुक्क छौं ।’ पर्यटकको संख्यामा कमी आए पनि गुणस्तरीय पर्यटक र तिनले गर्ने खर्च भने बढेको मन्त्रालयको दाबी छ । यही बसेर नेपाल सुरक्षित छ भन्नुभन्दा विदेशमा हुने पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागी भई मुलुकको वस्तुस्थिति जानकारी गराउनुपर्ने उनी बताउँछन् । भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण हुँदैछ ।

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुनेवाला छ । नेपाल वायु सेवा निगमले पनि नयाँ दुईवटा वाइड बडी विमान थप्दै युरोप, अमेरिका, जापान र दक्षिण कोरियालगायतको गन्तव्यमा सीधै उडान गर्न थालेपछि पर्यटक आगमनमा वृद्धि आउने निश्चित छ । ‘सरकारी योजनामा अवरोध नभए सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने लक्ष्य उति महत्वकांक्षी पनि हैन’, उनी थप्छन् । सरकार नेपालको प्रचारप्रसारमा खर्च गर्न कञ्जुस्याइँ गरिरहेको महासचिव शाह बताउँछन् । नेपालमा सन् २०२० सम्ममा थप २५ देखि ३० वटा तारे होटेल सञ्चालनमा आउनेछन् ।

दुई छिमेकी राष्ट्र भारत र चीनबाट आउने पर्यटकका लागि अहिले भइरहेको उडान संख्या वृद्धि गर्ने र मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि सुधार गर्न आवश्यक छ । अहिले नेपाल आउने पर्यटक बढी घुम्ने भनेको उपत्यकालगायत पोखरा र चितवन हो । यी ठाउँमा जाने विदेशीलाई लिने हवाई शुल्क महँगो हुनुका साथै पूर्वाधारमा स्तरोन्नति हुन सकेको छैन । उनी भन्छन्’ ‘सरकार र निजी क्षेत्र दुवै पूर्वाधार विकासमा केन्द्रित हुन जरुरी छ ।’साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position