पोखरामा औद्योगिक व्यापार मेला सुरु

पोखरा, २३ मंसिररपोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा बिहीबार राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७३ सुरु भएको छ । आगामी पुस ४ गतेसम्म पोखराको नयाँबजारमा चल्ने मेलाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीले उद्घाटन गरे ।

पर्यटकिय नगरी पोखरामा औद्योगिक व्यापार मेला सुरु

उनले राजनीतिले गर्दा नै देशको अर्थतन्त्र अहिले परजीवीमुखी हुन पुगेको धारणा राखे । उनले कर्मचारीहरुलाई तलव खुवाउन पनि विदेशीको मुख ताक्ने स्थितिमा देश पुगेकोमा चिन्ता व्यक्त गर्दै भन्नु भयो– पढेलेखेकाले थलो र नपढेकाले हलो छाड्दै सवै युवाहरु भौतारिदै खाडीका मुलुकतिर जान थालेपछि देशको अर्थतन्त्र जर्जर वन्न पुगेको हो ।

शाहीले पार्टी नेताको ईज्जत र जनता झुक्याउन हतारहतारमा ठूल्ठूला आयोजनाको शिलान्यास गर्ने तर विसौं वर्षसम्म पनि काम अघि नवढ्ने प्रवृत्ति देखा पर्ने गरेको बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल पनि त्यस्तै भएको बताए । पश्चिमान्चलका क्षेत्रीय प्रशासक खगराज बरालले प्रकृतिलाई देखाएर मात्रै अव पर्यटन प्रवद्र्धन हुन नसक्ने भएकोले मानव निर्मित पर्यटकीय गन्तव्य बनाएर पोखराको पर्यटन प्रवद्र्धन गरिनु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आर्थिक उन्नति विना कुनै पनि काम अघि वढ्न नसक्ने वताए । उनले वन्द, हडताल, चक्काजाम सधैका लागि वन्द गरी कृषि, उद्योग धन्दा तथा कलकारखानाको विकास तीव्र गतिमा अघि वढाउनु पर्नेमा जोड दिए ।

मेला सुरु हुनुअघि प्रभातफेरीमा निस्किएको थियो । प्रभातफेरीमा विभिन्न आमा समूहहरु, टोल विकास संस्था, जातीय संघ÷संस्था र उद्योगी÷व्यवसायीको प्रतिनिधित्व थियो । “लगानीको प्रवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन “ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको मेलामा औद्योगिक, कृषिजन्य र हस्तकलाका सामानको उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका २ सय ९५ स्टल छन् ।


Facebook Comment