२०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुने

२५ मंसिर, काठमाडौं । सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सञ्चालनमै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र क्षमता वृद्धिको काम जारी छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१२ मा निर्माणको जिम्मा पाएको स्पेनिस कम्पनी सान होसे कन्सत्रक्तोराले तोकिएको अवधिभित्र केवल १६ प्रतिशत काम पूरा गरेको छ ।

प्राधिकरण भने सो कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ प्रक्रियाबाट विस्तार आयोजना अगाडि बढाउने निष्कर्षमा पुगेको छ । प्राधिकरणका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले काम विभाजन गरी छुट्टाछुट्टै ठेक्का दिएर भए पनि सन् २०२० भित्र पहिलो चरणको काम सक्ने लक्ष्य राखिएको बताए ।

आयोजना सम्पन्न भएपछि टिआइएमा तीन सय मिटर धावनमार्ग हुनेछ भने अन्तर्राष्ट्रियतर्फ नौवटा पार्किङ एप्रोन, कन्भेयरबेल्ट, ट्याक्सी–वे, नयाँ टर्मिनल भवन, हवाई उडानका विभिन्न प्रविधि जडान हुनेछन् । टिआइएको विमानस्थल विस्तार र क्षमता वृद्धिको काम ६ अर्ब रुपैयाँभन्दा बढी लागतमा हुनेछ ।

भैरहवामा १ माघ ०७१ बाट सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । सन् २०१६ भित्र ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख ओम शर्माले विमानस्थल निर्माण विनाअवरोध सञ्चालन भइरहेको जानकारी दिए । सुरुमा डिसेम्बर ०१७ सम्म सम्पन्न गर्ने लक्ष्य थियो । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यको केही महिना ढिला काम सकिने आयोजनाले जनाएको छ।

विमानस्थल निर्माण गर्न चीनको नर्थवेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको हो । सो विमानस्थलमा तीन हजार मिटर लम्बाइ र तीन सय मिटर चौडाइको धावनमार्ग बन्दै छ । यो विमानस्थलको क्षमता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबराबरकै हुनेछ।विमानस्थल बनिसकेपछि टिआइएको हवाई चाप घट्नेछ ।

सन् २०२१ सम्म निर्माण सक्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति लिएको आयोजना प्रमुख दीपक अधिकारीले जानकारी दिए । इन्जिनियरिङ खरिद तथा निर्माण (इपिसी) मोडलमा निर्माण हुने विमानस्थलको पहिलो चरणमा डिजाइनको काम गरिनेछ । अधिकारीले भने, ‘डिजाइनको काम एक वर्षभन्दा कम समयमै सकाएर भौतिक संरचना निर्माणको कामलाई गति दिने लक्ष्य छ ।’ दुई हजार पाँच सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावनमार्ग रहने यो विमानस्थलमा बोइङ ७५७ मोडलसम्मका जहाज उडान–अवतरण गर्न मिल्नेछ ।

विमानस्थलमा एरोब्रिजयुक्त भवन र कार्गो भवन पनि निर्माण हुनेछ । यसबाहेक ट्याक्सी वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोलर टावर, एयरपोर्ट ह्यांगरजस्ता संरचना बन्नेछन् । विमानस्थल निर्माण गर्न ०३४ बाटै जग्गा अधिग्रहण तथा मुआब्जा वितरण थालिएको थियो । ४० वर्षअघि ३ हजार १ सय रोपनी जग्गा अधिग्रहण गरेर राखिएको थियो भने ५ सय २१ रोपनी जग्गा पछिल्लो समय अधिग्रहण गरिएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ उपलब्ध हुने भएको छ । यसमध्ये २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप प्राप्त गर्नेछ । बाँकी ७५ प्रतिशत रकममा भने नेपालले वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।


Facebook Comment


No ads found for this position