यसकारण जोखिममा नेपाली सेयर लगानीकर्ता

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले छोटो समयमा उच्च नाफा कमाएका छन् । बढ्दो बजार भएकाले सबैजसो लगानीकर्ताले आफ्नो लगानी रकमको तुलनामा केही न केही नाफा गरेका हुन सक्छन् । पछिल्लो समय बजार विकासका लागि सिडिएस सञ्चालनजस्ता केही पूर्वाधार विकास भएका छन् । तर, लगानीकर्ताको जोखिममा कस्तो फेरबदल भएको छ भन्ने चासो सम्बोधन हुन कठिन छ । बजार विकासको चरण अघि बढे पनि सामान्य लगानीकर्ताको जोखिम स्तर नघटेको विज्ञ बताउँछन् । स्टक ब्रोकर्स एसोसिएसन नेपालका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बजारको जोखिम यसरी बताए :  

सूचीकृत कम्पनीको विविधता छैन

मुख्यतया नेपालको सेयर बजारका सूचीकृत कम्पनीको प्रकृति र त्यसमा लगानी गर्नुपर्ने बाध्यता छ । सूचीकृत कम्पनीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्थाको छ । त्यसमा बिमासमेत मिसाउने हो भने ९० प्रतिशतभन्दा धेरै हुन्छ । यी दुई क्षेत्रका अलग–अलग नियामक निकाय नेपाल राष्ट्र बंैक र बिमा समिति छन् ।

त्यस्ता नियामकले विभिन्न समयमा जारी गर्ने निर्देशन र नीतिगत परिवर्तनका आधारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको कार्यशैली, दैनिक क्रियाकलाप र नाफामा समेत प्रभाव पर्ने हुन्छ । बैंक तथा वित्तीय संस्था र बिमाबाहेक अन्य कम्पनी छनोट गर्ने विकल्प कम हुँदा लगानीकर्ता बाध्य भएर यिनै कम्पनीको सेयरमा लगानी गर्नुपर्ने अवस्था छ । जलविद्युत् कम्पनी थोरै संख्यामा आएका छन् ।

थोरै कम्पनी भएको अवस्थामा लगानीकर्ताले लगानी विविधीकरण गरी आफ्नो जोखिम घटाउन सक्ने अवस्था छैन । त्यसकारण नेपालको पुँजीबजार दुई दशकभन्दा लामो समयको रेकर्ड हेर्दा कुनै निश्चित समयमा बजार बढ्ने र त्यो बढ्दो बजारमा नयाँ मान्छे आएर लगानी गर्ने गरेको देखिन्छ । यस्तो अवस्थामा नयाँ मान्छे फस्ने र पुराना लगानीकर्ता पैसा कमाएर बजारबाट निस्किन सक्ने अवस्था दोहोरिँदै आएको छ ।

जबसम्म नेपालको धितोपत्र बजारमा वास्तविक (रियल) क्षेत्रका र सेवाक्षेत्रका कम्पनीको हिस्सा बढ्दैन, तबसम्म नेपाली लगानीकर्ताले जतिसुकै मिहिनेत गरे पनि, जतिसुकै पोर्टफोलियो व्यवस्थापन गरे पनि र जतिसुकै बजारका सूचना संकलन गरे पनि अन्ततः उनीहरूले अपेक्षित प्रतिफल प्राप्त गर्न सक्दैनन् र सधैँ जोखिममा रहिरहन्छन् ।

एउटै प्रवृत्तिका लगानीकर्ता

नेपालको धितोपत्र बजारको आकार सानो छ । मूलतः काठमाडौंभित्र सीमित छ भने पनि हुन्छ । पछिल्लो समय सेयर लगानीकर्ताको संख्या बढे पनि सबै लगानीकर्ता एकै प्रकृतिका छन् । एउटा सानो सूचनाले काठमाडौंभित्र एकैपटक प्रभाव पार्छ । हाम्रो सेयर बजारको गहिरोपना कम छ, अर्थात् यस्तो बजारलाई थिन मार्केट (पातलो बजार) भनिन्छ ।

यस्तो बजारमा सानो सूचनाले मात्रै पनि बजारमा ठूलो असर पार्छ । त्यो सूचनामा पहुँच र हल्लाको पछि लाग्ने प्रवृत्तिले बजारलाई धेरै उतार–चढावपूर्ण बनाएको छ । यस्तो अवस्थामा धेरै लगानीकर्ताले सोचेभन्दा पनि ठूलो जोखिम उठाउनुपर्ने हुन सक्छ । जोसँग ठूलो पुँजी छ, तिनीहरूले धैर्य गर्न सक्छन् र नाफा कमाउन सक्छन् । पुँजी कम हुने वा तरल पुँजी लगानी गर्ने व्यक्तिले धैर्य गर्न नसक्दा घाटा सहन पनि बाध्य हुनुपर्ने अवस्था छ । यस्तो थिन बजारलाई बाक्लो वा गहिरो बजार बनाउन पनि नयाँ क्षेत्रका कम्पनी पुँजी बजारमा भित्राउनुको विकल्प छैन ।

सहजीकरणले बढाएको जोखिम

अहिलेको अवस्था हेर्दा सिडिएस सुरु भइसकेको छ । अभौतिक (डिम्याट) रूपमा सेयर कारोबार भइरहेको छ । काम गर्ने तरिकामा केही सुधार भएको छ । बोनस सेयर खातामा जम्मा हुने अवस्था बनेको छ । तर, यसले सेयर बजारमा प्रतिफल दिने काम गर्दैन । सेयरमा लगानी गरिसकेपछि वास्तविक प्रतिफल पाउने भनेको कम्पनीको नाफाबाट प्राप्त हुने हो ।

सेयर बजारका पूर्वाधारले चाँडो र सजिलै कारोबार गर्न सघाउने मात्रै हो । पछिल्ला सुधारका कामले कारोबार गर्न केही मात्रामा सहज भएको छ । त्यसकारण अहिले कारोबार आकार बढेको छ । यस्तो अवस्थाले बजारको सूचकांक वा कम्पनीको सेयरको मूल्यमा आउने उतार–चढाव झन् फराकिलो बनेको छ । यसरी कारोबार बढेसँगै जोखिम पनि बढेको छ । सहज कारोबारले पुँजी बजारको जोखिम घटाएको छैन, झन् बढाएको छ ।

प्रविधि अभाव

लगानीकर्ताले लगानी गर्दा ५० वटा ब्रोकरमा नै सीमित हुनुपरेको छ । समस्या पर्दा त्यही ब्रोकरलाई आरोप लगाउने र ब्रोकरले आरोप खेपेर बस्नुपर्ने बाध्यता छ । अहिले पनि भनेको वेला सेयर किनबेच गरिदिएन भन्ने आरोप ब्रोकरमाथि छ । यो आरोपबाट मुक्त हुन अहिलेको जमानामा आफैँले अर्डर पोस्ट गर्न सक्ने सानो मेकानिजम बनाइदिए लगानीकर्ता आफैँले सोचेको समयमा स्वनिर्णयअनुसार सेयर किन्ने वातावरण बन्ने थियो ।

त्यसो भए हाम्रो सेयर बजारको दायरा काठमाडौंबाट एकैपटक विश्वव्यापी बन्ने थियो । यसबाट ब्रोकर आरोपबाट मुक्त हुने मात्र होइन, लगानीकर्ता स्वयं निर्णय गर्न उत्साहित हुने थिए । संसारभरबाट किनबेच गर्न सक्ने हुँदा व्यापक सहभागिता हुने थियो र बजार दिगो एवं व्यवस्थित हुँदै जाने थियो । लगानीकर्ताको जोखिम घट्न जान्थ्यो । त्यसो गर्न नसक्दा पनि लगानीकर्ताको तुलनात्मक जोखिम बढेको छ । अहिले ५० वटा ब्रोकरलाई दुई–दुईवटा टर्मिनल दिइएको छ । बजार यति छिटो तलमाथि हुन्छ कि हामीले कसैको अर्डर पोस्ट गर्नसम्म भ्याएका हुँदैनौँ । टुप्पामा एउटा कारोबार भएको हुन्छ, त्यसैलाई लिएर ब्रोकरप्रति लगानीकर्ताको गुनासो भएको हुन्छ । त्यसलाई अहिलेको अवस्थामा व्यवस्थित गर्न सक्ने सम्भावना छैन ।

बजार निर्माता र डिलर अभाव

बजारलाई वास्तविक गतिमा चल्ने वातावरण बनाउन वा व्यवस्थित गर्न बजार निर्माता (मार्केट मेकर), डिलर आवश्यक पर्छ । तर, नेपालमा त्यस्तो व्यवस्था नहुँदा बजार धेरै फराकिलो अन्तरमा उतार–चढाव हुँदा नियन्त्रण गर्न सक्ने अवस्था छैन । बजार निर्माताले त्यस्तो वेलामा खरिद–बिक्रीको सन्तुलन कायम गरेर बजारलाई एउटा तहमा राख्ने काम गर्न सक्थ्यो । त्यसले बजारलाई सुरक्षित बनाउँथ्यो । त्यसो हुन नसक्दा साना र मध्यमखाले लगानीकर्ताले बढी जोखिम बहन गर्नुपरेको अवस्था अहिले छ । हाम्रोजस्तो सानो मुलुक र सानो अर्थतन्त्रमा बजार निर्माताले प्रभावकारी काम गर्न सक्दैन वा चल्न सक्दैन भन्ने सैद्धान्तिक विश्लेषण पनि छ । त्यस्तो अवस्थामा डिलरसिपमार्फत पनि बजारमा माग र आपूर्तिको सन्तुलन मिलाउन सकिन्थ्यो । यसले बजारमा ठूला उतार–चढाव सिर्जना हुनबाट बचाउने काम गथ्र्यो । तर, त्यो काम पनि भएको छैन । ठूला संस्थागत लगानीकर्ता भित्राउन सके पनि बजार केही स्थिरतातर्फ जान सक्छ ।

नीतिगत परिवर्तन

पछिल्लो समय बैंक वित्तीय संस्थाको पुँजी बढाउने कुराले सेयर बजार बढेको देखिन्छ । बिमा कम्पनीको पुँजी बढाउने कुराले बिमा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको देखिएको छ । यी दुई नीतिमा परिवर्तन आउनेबित्तिकै सेयर बजारको अवस्था परिवर्तन हुन सक्छ । मानिलिऔँ, भोलिका दिनमा नयाँ सरकार आएर बैंक र बिमामा नयाँ लाइसेन्स खोलिदियो वा नीतिगत परिवर्तन गरिदियो भने सबै कम्पनीको मूल्य घटेर थुप्रै लगानीकर्ता घाटामा जाने सम्भावना यथावत् छ । अहिले बजारमा सेयरको संख्या बढेको छ । हकप्रद, बोनस, एफपिओ र नयाँ कम्पनीका नयाँ सेयर बजारमा थपिने क्रम जारी छ ।

विदेशी संस्थागत लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न खुला गर्ने, स्वदेशी मुद्रामा ऋणपत्र जारी गर्न दिनेजस्ता कुरा अघि बढाइएको छ । यसले आपूर्तिसँगै सेयर माग बढाउन पनि सहयोग पुग्ला भन्ने अपेक्षा गर्न सकिन्छ । तर, यसअनुसार लगानीकर्ताको क्षमता अभिवृद्धि गर्ने, नयाँ लगानीकर्तालाई सेयरबारे सुसूचित गर्ने, अभिमुखीकरण गर्नेजस्ता काम हुन सकेका छैनन् ।

औपचारिक सूचनामा अभाव

अहिले बजारबारे एकीकृत सूचना दिने निकाय नै छैन । नेपालको बजार निर्माता जो हो, उसको आफ्नो वेबसाइटमा सूचीकृत कम्पनीको विस्तृत विवरण केही पनि पाइँदैन । सबै सूचना ऊसँग संगृहीत हुन्छ, तर उसले त्यो सूचना सार्वजनिक गरेको छैन । धितोपत्र बोर्ड, स्टक एक्सचेन्जलगायत कुनै पनि निकायमा सूचीकृत कम्पनीबारे विस्तृत सूचना पाइन्न । औपचारिक सूचनाको स्रोत नभएपछि लगानीकर्ता हल्लाको पछि दौडिनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले बजार तुरुन्तै तलमाथि हुने गरेको छ । विदेशतिर एक्सचेन्ज र बजार निर्माताको वेबसाइट खोल्दा सबै सूचीकृत कम्पनीको इतिहास हेर्न सकिन्छ । तर, नेपालमा त्यस्तो डाटाबेस राख्ने र सार्वजनिक गर्ने व्यवस्था नहुँदा लगानीकर्तालाई जोखिममा धकेलेको छ ।

नियामकको भूमिका

संसारभर नै सेयर बजारमा सामान्यता सट्टेबाजी (स्पेकुलेसन) हुने गर्छ । तर, हाम्रो बजारमा सट्टेबाजी भएको हो वा चलखेल (मेनुपुलेसन) भएको हो भन्ने नियामक निकायले स्पष्ट पार्नुपर्छ । हुन त, नियामक निकायले आफ्नो तरिकाले बजारलाई नियालिरहेको बताएको छ । तर, वास्तविकतामा त्यस्ता गतिविधि भएका छन् भन्ने हो भने अहिलेसम्म त्यस्तो कारबाही भएको छैन । यदि चलखेल भएको छैन भने लगानीकर्तालाई स्पष्ट भन्न सक्नुपर्छ । नियामकको भूमिका प्रभावकारी नभएका संसारका सबै बजारमा थोरै लगानीकर्ताले बढी लाभ उठाउने गर्छन् । यस्तो अवस्थामा बहुसंख्यक साना लगानीकर्ताको जोखिम दर उच्च हुन्छ । हाम्रो बजारमा पनि त्यस्तै अवस्था छ ।

लगानीकर्ताको रणनीति

व्यापारिक प्रयोजन वा अल्पकालीन कारोबारका लागि सेयर किन्ने लगानीकर्ताको बढ्दो प्रवृत्तिले पनि सेयर बजारमा जोखिम बढाएको छ । दीर्घकालीन रूपमा सेयर होल्ड गर्छु भन्ने लगानीकर्ता अहिले बजारमा निकै कम छन् । यसले कुनै दिन लगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ । यो अपरिपक्व बजारको अर्को ठूलो जोखिम हो ।नयाँ पत्रिका


Facebook Comment


No ads found for this position