सडक विस्तारले पदमार्ग विस्थापित,व्यवसायी चिन्तीत

मंसिर २५,म्याग्दी घुमफिर,केही वर्ष अगाडिसम्म पर्यटकको निकै चहलपहल हुने म्याग्दीको घार, शिख र फलाटेका होटल अहिले सुनसान बनेका छन् । सडक सञ्जालको विस्तारले विश्वमै प्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्राले समेटिएको पोखरेबगर–घार–शिख हुँदै घोरेपानी पुग्ने यस खण्डको पदमार्गमा पर्यटकको आगमन घट्न थालेपछि होटल सुनसान बनेका हुन् । पदमार्ग हुँदै सडक विस्तारले धुलो, हिलो र सवारीसाधनको आवतजावत हुन थालेपछि त्यस खण्डको पदमार्गमा पर्यटक आउन छाडेको स्थानीय बताउँछन् ।

सडकले पदमार्गलाई विस्थापित गराएसँगै यस खण्डमा सञ्चालित होटल तथा रेस्टुराँसमेत बन्द हुने अवस्थामा पुगेका छन् । पहिले दैनिक सयौँ पर्यटक आवातजावत गर्ने भए पनि अहिले यो पदमार्ग हुँदै निकै कम मात्रामा पर्यटक आउने गरेको घार–६ का होटल व्यवसायी सक्कली बरुवालले बताउनुभयो । “पर्यटक आउँदा हामीलाई भ्याइनभ्याइ हुन्थ्यो, सडक विस्तार पछि पर्यटकको आगमन नै घट्यो, पहिलेदेखि गर्दै आएको होटल व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको छ, बरुवालले भन्नुभयो ।” अहिले बेनी–जोमसोम सडकखण्डअन्तर्गत पोखरेबगरदेखि घार, शिख हुँदै घोरेपानी नजिक चित्रेसम्म सडक विस्तार भएको छ ।

पदमार्गको अधिकांश भाग अहिले सडकमा परिणत भएको देखिन्छ । कास्कीको नयाँपुल, वीरेठाँटी, घान्द्रुक, घोरेपानी हुँदै तातोपानी, जोमसोमसम्मको पदयात्राका लागि प्रमुख पदमार्गको रुपमा चिनिएको यो खण्डमा सडकले पदमार्ग विस्थापित गराएपछि पर्यटक आउन छाडेका हुन् ।

पहिले दैनिक २,३ सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने भए पनि अहिले फाट्टफुट्ट रुपमा मात्रै पर्यटक आउने गरेको शिख–३ फलाटेमा बराही गेट हाउस सञ्चालन गरेका खेम शेन्च्युरीले बताउनुभयो । पदमार्ग क्षेत्रमा भएका दर्जनौँ होटल पर्यटकीय याममा समेत बन्द अवस्थामा छन् । फाट्टफुट्ट खुलेका होटलमा पनि एकाध पर्यटक मात्र आउने गरेको होटल व्यवसायी बताउँछन् ।

सुविधा सम्पन्न र पर्यटन लोभ्याउने गरी बनाइएका होटल यतिबेला पर्यटकको पर्खाइमा छन् । पर्यटकीय याममै पदमार्ग सुनसान बनेपछि होटल व्यवसायी पनि निराश छन् । मोटरबाटो विस्तार नहुँदासम्म घान्द्रुक–घोरेपानी हुँदै तातोपानी निस्केर मुक्तिनाथ जाने प्रमुख पदमार्ग यही भए पनि सडक विस्तारपछि भने वैकल्पिक पदमार्ग हुँदै पर्यटक आवतजावत गर्न थालेको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो ।


Facebook Comment


No ads found for this position