पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न तयार छौं: राजदूत पेरेला

पोखराः नेपालका लागि श्रीलंकाकी राजदूत डब्लू एस पेरेलाले पर्यटन प्रवद्र्धनका लागि नेपालसँग सम्झौता गर्न श्रीलंका तयार रहेको बताएकी छिन् । पोखराका पर्यटन व्यवसायीसँगको छलफल कार्यक्रममा श्रीलंकाकी राजदूत पेरेलाले नेपाल विश्वकै सुन्दर देशमा पर्ने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न श्रीलंका तयार रहेको बताइन् ।

उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड र श्रीलंकाको टुरिज्म प्रमोसन ब्युरोले सहकार्य गर्दा राम्रो हुने बताइन् । उनले केही समय अघिसम्म गौतमबुद्धको जन्मस्थल कपिलवस्तु नेपालमा पर्छ भन्ने कुरा आफूलाई समेत थाहा नभएको उल्लेख गर्दै गौतमबुद्धको जन्मस्थलको प्रचार गरेर जतिसक्दो धेरै श्रीलंकालीलाई नेपालमा ल्याउन सक्ने बताइन् ।

उनले भनिन्, “गौतम बुद्धको जन्मस्थल भनेपछि श्रीलंकालीहरू हुरुक्कै हुन्छन्, नेपालले यसबाट फाइदा लिन सक्नुपर्छ ।” गत वर्ष एक लाख श्रीलंकालीले नेपाल भ्रमण गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले श्रीलंकासँग पर्यटन प्रवद्र्धनसम्बन्धी सम्झौता गर्न सरकार तयार रहेको बताए ।

उनले भने, “भारतले अझै पनि कपिलवस्तु भारतमा पर्छ भन्ने भ्रम फैलाउने गरेकाले त्यो भ्रम चिरेर श्रीलंकाली पर्यटकलाई वास्तविकता अवगत गराउन हामी मिलेर काम गर्न तयार छौं ।”


Facebook Comment


No ads found for this position