एउटै पुलले सिमकोट गाडी पुर्‍याउने लक्ष्य रोक्यो

नवराज महतारा

सिमकोटः चार वर्षदेखि निर्माणाधीन मुचुको तुम्कोट बेलीब्रिज निर्माण नहुँदा दुई वर्षभित्र सदरमुकाम सिमकोटमा गाडी पुर्‍याउने सरकारी लक्ष्य थप लम्बिएको छ ।चीनसँगको सिमाना हिल्सादेखि बनाउने भनिएको बहुप्रतिक्षित ९५ किलोमिटर लामो हिल्सा-सिमकोट सहडक आयोजनाको बीचमा पर्ने तुम्कोट पुल लामो समयसम्म निर्माण सम्पन्न नहुँदा सडक निर्माण सामग्री आयातमा समेत समस्या भएको हो ।

हिल्सा-सिमकोट सडक आयोजनाको ३८ किलोमिटरमा पर्ने उक्त पुलको निर्माणको जिम्मा लिएको कंग्री निर्माण सेवाले पुल निर्माण कार्य बीचमै रोकेपछि आगामी दुई वर्षमा हुम्लालाई सडक सञ्जालमा जोड्ने सरकारी लक्ष्य निर्धारित समयमा पूरा नहुने भएको हो ।

स्विस सरकारको आर्थिक सहयोगमा दुई वर्षमा निर्माण पूरा गर्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायअन्तर्गतको सडक पुल सहयोग इकाइमार्फत ६ करोड ४० लाखमा २०१३ सालमा सम्झौता भएको उक्त पुलको निर्माण कार्य सम्पन्न गर्न लाग्ने रकम भुक्तानी नभएकाले काम पूरा नभएको ठेकेदार कम्पनी कंग्री निर्माण सेवाका छिरिङमुटुक लामाले बताए ।

पुलको अधिकांश काम सकिएको बताएका लामाले भने, ‘पुल निर्माणको ८५ प्रतिशत काम पूरा भएको छ । पुल जोड्ने काम अर्को कन्सटेन्सीलाई दिएको हो । पुलको ग्याबिन लगाउन बाँकी छ । सिलिंग, जन्जिर सबै तयार छ ।’ पुल जोडेपछि मात्रै आफूले थप काम गर्न बाटो खुल्ने लामाले बताए ।

पुलनै नजोडेका कारण आफूले योजनास्थलमा लिएको सिमेन्टसमेत काम नलाग्ने गरी बिग्रिएको उनले दाबी गरे । उनका अनुसार ठकेदार कम्पनीका तर्फबाट पुलमाथि कालोपत्र राख्न र केही थोरै अन्य काम मात्रै बाँकी छ ।

इकाईसँग पुलको सबै काम पूरा गर्न सम्झौतामा उल्लेख भएको रकममध्ये एक करोड १५ लाख पाउन बाँकी रहेको दाबी लामाले गरे । उनले भने, ‘२०७२ कात्तिकमा तत्काल अर्को पत्र नआउन्जेलसम्म काम स्थगित गर्नू भन्दै सहयोग इकाईले औपचारिक चिठी दिएपछि काम स्थगित गरेको हुँ ।’

उनले सन् २०१४ सम्ममा पुल निर्माण गरिसक्ने सम्झौतामा उल्लेख भए पनि सुरुमा चिसोका कारण वर्षको ६ महिना मात्र योजनास्थलमा काम सञ्चालन गर्न सकिने बाध्यताले २०१६ सम्म लम्बिएको बताए । पछि रकम अभावल काम नगर्नू भनेर परिपत्र गरेपछि अहिलेको अवस्था आएको लामाको दाबी छ ।

केही समयअघि सडकले जिम्मा लिने भनिएको उक्त पुल कसैले नलिएकाले दुई वर्षदेखि लथालिंग अवस्थामा रहेको मुचुका ६२ वर्षीय छिमेल लामा बताउँछन् । आफू जीवित हुँदै गाडी चढेर सिमकोट र कैलाश मानसरोवर पुग्ने सपना बोकेका लामालाई २०५४ सालदेखि आरूनै आँगनमा गाडी गुडेको हेर्ने सपना पूरा नभएकोमा ठूलो चित्त दुखाइ छ ।

चार वर्षसम्म पुल निर्माण नहुँदा पनि रेखदेख नगर्ने सरकार, राजनीतिक दल र जिम्मा लिने तर समयमा पूरा नगर्ने ठेकेदार कम्पनीप्रति आक्रोशित हेप्का गाविसको धिगाका सोनाम ग्याल्जन लामा जिल्लाका जनप्रतिनिधिले समेत आवाज नउठाएका कारण यस्तो अवस्था आएको ठान्छन् ।

गएको आर्थिक वर्षदेखि बढीमा एक वर्षमा हिल्साबाट तुम्कोट हुँदै सदरमुकाम सिमकोट गाडी पुर्‍याउने लक्ष्यका साथ काम गरेको बताएको हिल्सा-सिमकोट सडक आयोजनाले पनि पुल नबनेका कारण आफ्नो लक्ष्य हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ ।

आयोजनाको ६८ किलोमिटर ट्र्याक खोलिएको आयोजना प्रमुख विजय थापाले जानकारी दिए । उनका अनुसार पुल नबनेका कारण हिल्साबाट आउने ट्रक र गाडी रोकिएका छन् । आयोजनाको काम मुचुको याल्वाङ गौडा र खगाल गाउँको च्याछहरा आसपासमा भइरहेको थापाले बताए । पुल नबनेका कारण हिल्साबाट इन्धनसमेत ल्याउन समस्या भएको उनले बताए । तत्काल पुल बनेमा अबको ६ महिनाभित्र ट्रयाक्टर भए पनि सिमकोट पुर्‍याउने योजना हिल्सा-सिमकोट सडक आयोजनाको छ ।


Facebook Comment


No ads found for this position