पर्यटकको पर्खाईमा म्यादीको गुफाडिल, जहाँबाट देखिन्छ, मनोरम हिमश्रृङ्खला

पर्यटकीय एवं रमणीयस्थल गुफाको डिल, जहाँबाट संसारकै सातौं अग्लो धौलागिरी हिमाल देखिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–११ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणको रुपमा रहेको छ । जगन्नाथ मन्दिर दर्शन एवं पूजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् ।

बेनीको शीरमा रहेको गुफाको डिलबाट नेपालकै दोस्रो अग्लो हिमश्रृङ्खला धौलागिरीसहित अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, मानापाथी, गूर्जा, गणेश हिमाललगायतका दर्जनौं हिमश्रृङखलाहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरी हिमालमा मात्रै विभिन्न सातवटा चुचुराहरु छन् ।

आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालहरुको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुन्छ । नाङ्गो आँखाले गूर्जा हिमालदेखि माछापुच्छ्रेसम्म एकै नजरमा हेरेर पनि भ्याइन्छ । गुफाको डिलबाट हिमाल मात्रै होइन म्याग्दीका साविकको ४१ गाविसमध्ये ३७ गाविस एकै नजरमा सररर हेर्न सकिन्छ । यसैगरी पर्वतको उत्तरी भू–भाग, बागलुङ जिल्लाको केही भाग र गुल्मी, स्याङ्जा, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाका डाँडाकाँडाहरु समेत गुफाको डिलबाट देखिन्छ ।

गुफाको डाँडाबाट सबै किसिमका ठाउँ र दृश्य देखिने भएकाले एकपटक त्यहाँ पुगेर फोटो खिचाउनका लागि पनि मानिसहरु पुग्ने गर्छन् । म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर ३ घण्टा र गाडीबाट डेढ घण्टाको समयमा पुगिने गुफाको डिल समुद्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा अवस्थित छ । गुफाको डिलमा २ ओटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि रहेको छ ।यो ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजङ्गलहरु देख्न पाइन्छ ।

 

त्यस ठाउँमा जुनसकै समयमा पनि ड्राई पिकनिकका लागि जान मिल्ने उपयुक्त ठाउँ रहेको त्यहाँ पुग्नेहरु बताउँछन् । जगन्नाथ मन्दिरदेखि ५ मिनेटको दूरीमा रहेको गुफा डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटकहरु भित्र्याउन सकिने जगन्नाथ आधारभुत विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले बताउनुभयो । प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पर्याप्त मात्रामा पयर्टकहरु तान्न सकिने उहाँको भनाई छ ।

 

सन् १५६० मा तत्कालीन राजा दिलिपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको हुँदा त्यसैका कारण गाजने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किम्बदन्ती रहेको छ ।


Facebook Comment


No ads found for this position