तिवारी हत्याका आरोपी मनोज, जो युवा संघकै पूर्वकोषाध्यक्ष हुन्

सोमबार अपरान्ह गोली हानी हत्या गरिएका युवा संघका रुपन्देही अध्यक्ष दूर्गा तिवारीको छवि राजनीतिक एवं व्यवसायिक प्रकृतिको थियो । तर, एमालेबाटै संरक्षण गरिएका केही आपराधिक पृष्ठभूमिका व्यक्तिकै कारण निर्दोष तिवारीले ज्यान गुमाउनुपरेको एमालेभित्रै विश्लेषण गर्न थालिएको छ ।सोमबार हत्या गरिएका युवा नेता तिवारी एमालेका माधव नेपाल गुट कार्यकर्ता थिए । उनको हत्यामा संलग्न भएको आशंका गरिएका मनोज पुन मगरचाँहि युवा संघकै रुपन्देहीका पूर्वकोषाध्यक्ष हुन् । र, उनी त्यसबेला केपी ओली समूहमा थिए ।

महेश बस्नेत युवा संघको केन्द्रीय अध्यक्ष भएका बेला मनोज युवा संघको नेतृत्वमा ल्याइएका व्यक्ति हुन् ।आफैं उद्योग व्यवसाय गरेर राजनीतिमा अघि बढिरहेका तिवारी युवा संघको जिल्ला अध्यक्ष बनेकोमा मनोज पुनलाई मन परेको थिएन ।सुरुमा रुपन्देहीका कार्यवाहक जिल्ला अध्यक्षमात्रै बनेका तिवारीलाई पूरै कार्यकालका लागि जिल्ला अध्यक्षको जिम्मेवारी दिने बेलामा पनि ओली पक्षका युवामा असन्तुष्टि देखिएको थियो ।

स्रोत भन्छ- ‘हत्या गरिएका तिवारी कलिलै उमेरमा आत्मनिर्भर बनेका युवा थिए । आफ्नै व्यवसायबाट टिकेर राजनीतिमा अघि बढेको देखेपछि ‘डन’ प्रवृत्तिका परनिर्भर व्यक्तिहरुको नजरमा उनी तारो बनेका थिए ।तिवारी वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पुगेर फर्किएपछि ईंटा उद्योगमा सञ्चालनमा लागेका थिए । उनी माधव नेपाल पक्षका युवा संघका नेता राजु गुरुङको समूहमा थिए । गुरुङको नाम विभिन्न ठेक्कापट्टामा समेत जोडिने गरेको छ ।

एमाले संरक्षित ‘डन’

युवा संघका पूर्वकोषाध्यक्ष मनोज पुन र दूर्गा तिवारी गाउँले अर्थात् देवदहकै बासिन्दा हुन् । पुनको समूहलाई गुण्डागर्दीमा संलग्न ‘ग्याङ’का रुपमा लिइने गरे पनि उनी एमालेको भातृ संगठन युवा संघको कोषाध्यक्ष बनाइएकाले एमालेबाटै संरक्षित थिए ।जतिबेला युवा संघमा चरी र बाहुन डनहरुको बिगबिगी थियो, त्यहीबेला जिल्लामा मनोजको समूहले एमालेको ब्यानरमा आफूलाई राम्रैसित संरक्षण गरेको थियो ।

गत फागुनमा युवाहरुको एक समूहले नकाब लगाएर तिवारीमाथि गोली प्रहारको असफल प्रयास गर्‍यो । त्यो हत्याको प्रयास राजनीतिक उद्देश्यले प्रेरित रहेको बुझाइ तिवारी पक्षको थियो । अर्थात् त्यो घटना युवासंघकै पूर्वकोषाध्यक्ष मनोजको समूहले गराएको र आफ्नो गुटलाई संगठनमा स्थापित गर्न तिवारीमाथि धावा बोलिएको माधव नेपाल पक्षका कार्यकर्ताहरुको दाबी थियो ।

तिवारीमाथि पहिलो आक्रमणमा दुई जना फरार रहे भने केही व्यक्तिहरु पक्राउ परे । यो घटनापछि युवा संघमा लागेर सुरक्षित महसुस गरिरहेका ‘डन’ले आफूलाई असुरक्षित महसुस गर्न थाले । र यही घटनापछि मनोज पुन प्रहरीबाट पक्राउ पर्ने डरले ‘भूमिगत’ बने । उनले बेलाबखत तिवारीलाई धम्की दिने गरेको स्रोत बताउँछ ।

युवा संघका नेता राजु गुरुङ समूहसँग मनोजको राम्रो सम्बन्ध थिएन । राजुले दूर्गा तिवारीलाई संरक्षण गरेका थिए, जसलाई मनोजले आफ्नो बाटाको काँडा ठानेका थिए । तिवारीको राजनीतिक व्यक्तित्व यसरी अघि बढ्दै थियो कि कुनै पनि दिन उनले युवा संघमा राजुलाई ‘क्रस’ गर्ने सम्भावना थियो ।

राजु गुरुङ माधव नेपाल गुटमै भए पनि उनको छवि नेताभन्दा बढी ठेकेदारको जस्तो बनिरहेको छ । तर, दूर्गा तिवारी राजनीतिक छविका कार्यकर्ता थिए । यद्यपि उनीहरु दुबै एउटै गुटमा थिए । उनीहरुवीच व्यवसायिक कारोबारसमेत थियो । राजुले पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टको कच्चापदार्थ ढुवानी गर्ने चुनढुंगाको समेत ठेक्कामा हात हालेका छन् ।

त्यसो त मनोज पुन र दूर्गा तिवारीका वीचमा पनि विगतमा केही ‘बिजनेस स्वार्थ’हरु जोडिएको प्रहरीको प्रारम्भिक दाबी छ, जसको पुष्टि गर्ने आधारहरु बाहिर आइसकेका छैनन् ।

अपराधीलाई संरक्षण गर्दा आफैंलाई असुरक्षा

नेकपा एमालेमाथि ‘डन’हरुलाई संरक्षण गरेको आरोप निकै पहिलेदेखि नै लाग्दै आइरहेको हो । विगतमा चरी डनलाई अध्यक्ष केपी ओलीले नै संरक्षण गरेको आरोप पनि लागेको थियो । विशेष गरी महेश बस्नेत युवा संघको अध्यक्ष भएका बेला संघमा धेरै ‘डन’ हरु प्रवेश गरेका थिए । बस्नेतले डनलाई सुधार्ने भन्दै एमालेमा भित्र्याए पनि पछि उनी पेशेबर अपराधीहरुलाई सुधार्न नसकिने निश्कर्षमा पुगेका थिए ।

तर, एकपटक पार्टीमा प्रवेश गरेका डनहरुले आफू सुधि्रनु त परै जाओस् पार्टीभित्रैका नेता कार्यकर्तालाई सिध्याउनेसम्मको हर्कत गर्ने दृष्टान्तका रुपमा तिवारीमाथिको आक्रमणलाई हेर्न थालिएको छ ।अहिले पनि विभिन्न जिल्लामा एमालेको युवा संघभित्र ‘ग्याङ फाइट’ गर्ने समूहहरुको बोलबाला घटेको छैन ।गत वर्ष मीनभवनमा युवा संघका केन्द्रीय नेता अशोक चन्द निर्घात पिटिए । उनलाई पिट्नेहरु अरु कोही नभएर युवा संघकै केपी ओली गुटका कार्यकर्ताहरु थिए ।

त्यसो त एमाले मात्रै होइन, नेपाली कांग्रेस र माओवादीभित्र पनि डनलाई संरक्षण गर्ने प्रचलन एउटा राजनीतिक विकृतिका रुपमा देखा पर्ने गरेको छ । प्रहरीद्वारा इन्काउन्टरमा मारिएका घैंटेलाई कांग्रेस नेताहरुले संरक्षण गरेका थिए भने दीपक मनाङ्गेजस्ता पुरानो पुस्ताका डनहरु पनि राप्रपा लगायतका पार्टीबाट संरक्षित हुँदै आएको देखिन्छ । माओवादी पार्टी पनि यो विकृतिबाट मुक्त छैन ।

तिवारी हत्याको घटनाले राजनीतिक दल र संगठनभित्र मौलाइरहेको अपराधीकरणबारे गम्भीर रुपमा सोच्न दलहरुलाई घच्घच्याएको छ ।

मनोज पुन नै हत्यारा हुन् त ?

तिवारीको हत्यामा जरी मनोज पुनको नाम अगाडि आएको छ, त्यसको अहिलेसम्म पुष्टि भइसकेको छैन । स्वतन्त्र रुपले पुष्टि नहुँदासम्म कसैलाई हत्यारा भनिहाल्न सकिँदैन । प्रहरी र एमालेभित्रैका नेताहरुले मनोज पुनमाथि आशंका गरे पनि यसबारे थप अनुसन्धान हुन बाँकी नै देखिन्छ ।

इन्टरनेटको प्रयोगबाट गरिएको टेलिफोनमार्फत मनोजले हत्या स्वीकार गरेर प्रचार गरिए पनि हत्याराहरु अन्यत्रै लुकेर बसेका पनि हुन सक्छन् ।र, उनीहरु एमालेभित्रै संरक्षित पनि हुन सक्छन् । वा मनोजको नाम मुछेर घटनालाई विषयान्तर गर्दै बाहिरै लुकेर बसेका पनि हुन सक्छन् । घटनालाई मनोजतिर देखाइदिएर अपराधीहरु जोगिन खोजेका हुन् भने त्यता पनि ध्यान दिन जरुरी छ ।

विषयान्तरको प्रयास र शंकाको सुई

यसैवीच युवा संघको स्थायी कमिटीको बैठकमा यो घटनालाई तराईको सशस्त्र समूहको ‘सार्प शुटर’को प्रयोग गरिएको भन्दै राजनीतिकरण गर्ने प्रस्ताव पनि नआएको होइन । तर, घटनालाई विषयान्तर गर्न नहुने भन्दै अर्को पक्षको विरोधका कारण ‘सार्प सुटर’ तिर देखाउने निर्णय युवा संघले गरेन । र, छानविन टोली बनाउने माग अघि सार्ने निर्णय युवा संघको बैठकले गर्‍यो ।

तिवारी हत्याबारे एमाले महासचिव ईश्वर पोखरेलकै हस्ताक्षरमा जारी गरिएको वक्तव्यमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधीको समेत नाम जोडिएको थियो । तर, यसको अनुसन्धानको सुईचाँहि अहिलेसम्म युवा संघकै पूर्व कोषाध्यक्ष मनोजतिर सोझिइरहेको छ । र, यो हत्या राजनीतिक कारणले, अर्थात युवा संघभित्रैको राजनीतिक कारणले भएको हुन सक्ने आशंकाले मलजल पाइरहेको छ ।

आशा गरौं, युवा नेता एवं व्यवसायी तिवारीको हत्या युवा संघभित्रैको गुटगत झगडाबाट सिर्जित भएको प्रमाणित नहोस् ।


Facebook Comment


No ads found for this position