पूर्वराजा जिग्मे पलवर बिष्टप्रति अन्तिम श्रद्धाञ्जली
बौद्धस्थित बौद्धनाथ स्तुपसँगै छ मुस्ताङ गुम्बा। शनिबार यता मुस्ताङ गुम्बामा निकै भिडभाड देखियो। दैनिक हजारभन्दा बढी मानिस गुम्बामा पुगे। गुम्बा पुग्ने अधिकांश मुस्ताङबासी हुन्। गुम्बा पुग्ने सबैको उद्देश्य एउटै थियो, उनीहरूका पूर्वराजा जिग्मे पलवर बिष्टप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु।
जिग्मेको उपचारका क्रममा ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएपछि मुस्ताङी पनि राजधानी आए। राजतन्त्र अन्त्य भएपछि जिग्मे पनि मुस्ताङ राज्यको राजाको पदमा थिएनन्। मुस्ताङीले भने उनलाई राजा मानिरहेका छन्।
‘उहाँ जिग्मे हाम्रा राजा नै हुनुहुन्छ,’ मुस्ताङबाटै अन्तिम श्रद्धाञ्जलीका लागि राजधानी आएका तेन्जिङ गुरुङले भने, ‘उहाँको निधनसँगै मुस्ताङलाई ठूलै शोक परेको छ।’ कानुनले राजा हटाए पनि परम्परालाई आफूहरूले नहटाएको मुस्ताङीले बताए। जिग्मे कुशल अभिभावकसमेत भएको बताउने मुस्ताङी ठूलै शोकमा छन्। अन्त्येष्टिका लागि सोमबार गुम्बाबाट जिग्मेको शवयात्रा निकाल्दा अधिकांश मुस्ताङीका आँखा रसाएका देखिन्थे।
उनकै अन्त्येष्टिका लागि हजारौं मुस्ताङी राजधानी आएका थिए। ‘गाउँबाट राजाकै बिदाइका लागि भनेर सबै आइसकेका छन्,’ कागबेनीका अमृतबहादुर गुरुङले भने, ‘कारणवश आउन नपाएकाले उहाँको नाममा विशेष पूजा गरिरहेका छन्।’ मुस्ताङी रहेको ठाउँ पोखरालगायत क्षेत्रमा समेत पूजा भइरहेको अमृतले बताए।
जिग्मेले मुस्ताङको विकास, भाषा, संस्कृतिको संरक्षणसाथै तिजीजस्ता पुराना पर्व बचाउन ठूलो भूमिका खेलेकाले पनि मुस्ताङीले सम्मान गर्दै आएका हुन्। ‘अहिलेको मुस्ताङ बनाउन, भाषा, संस्कृतिको विकास गर्न ठूलो भूमिका खेल्नुभएको छ,’ जाम्लिङ गुरुङले भने, ‘राजतन्त्रको अन्त्यपछि पनि उहाँ हामीमाझ रहेर हाम्रा समस्या सुल्झाउन लागिरहनुभयो।’ जिग्मे राजाको जिम्मेवारीबाट हटे पनि स्थानीयको सेवामा भने निरन्तर थिए। राजसंस्थाको अन्त्यसँगै जिग्मे आफैंले राजाको भूमिकामा नरहेको बताएका थिए। स्थानीयले भने परम्परा छोडेका छैनन्। जिग्मेको निधनसँगै स्थानीयले उनका छोरा जिग्मे प्रबल सिंह बिष्टलाई राजा मान्न थालिसकेका छन्। ‘राजा त हाम्रो परम्परा हो, हाम्रा अभिभावक हुन्,’ लालबहादुर गुरुङले भने, ‘अब साना राजा ९जिग्मेका छोरा० नै हाम्रा राजा हुन्।’ परम्परा धान्न र जनतालाई पर्ने समस्या, झैझगडा सुल्झाउन राजा आवश्यक पर्ने उनीहरूको भनाइ छ।
जिग्मे मुस्ताङका २४औं राजा हुन्। राजाको निधनपछि जेठो छोरो राजा हुने परम्पराअनुसार जिग्मेका दाजु राजा भए पनि अल्पायुमा दाजुको मृत्युपछि २०२२ सालबाट उनले राजाको जिम्मेवारी सम्हालेका थिए। तत्कालीन समयमा मुस्ताङ राज्यको राजालाई १० पञ्चायतको पञ्च संयोजक, नेपाली सेनाको कर्णेल, राज्यसभा स्थायी समितिको सदस्य र तिब्बती सिमानाको संयोजकको जिम्मेवारी तोकिएको हुन्थ्यो। त्यहीअनुसार जिम्मेवारी निर्वाह गर्दै आएका जिग्मे मुलुकमा गणतन्त्र आएसँगै जिम्मेवारीविहीन भएका थिए।
सेनाको सलामीपछि बौद्धपरम्पराअनुसार अन्त्येष्टि
बौद्ध परम्परामा तीन रात चार दिन शव राख्नुपर्ने मान्यता छ, जसलाई बौद्ध परम्परामा स्याक्सुम ढोप्सी भनिन्छ। यो समयमा शव गुम्बामा राखेर लामाहरूले पूजापाठ गर्छन्, आफन्तले श्रद्धाञ्जली दिन्छन्। लामाले जुराएको साइतमा गुम्बाबाट निकालेर अन्तिम संस्कार गरिन्छ। अन्तिम संस्कारपछि सातसात दिनमा ४९ दिनसम्म विशेष पूजा हुन्छ। जिग्मेको पनि सोही परम्पराअनुसार सोमबार टेकुदोभानमा अन्त्येष्टि गरिएको छ। यसअघि बौद्धनाथ स्तुप परिक्रमा गरेर निकालिएको शवयात्रामा हजारौं सहभागी थिए। नेपाली सेनाले जिग्मेलाई टेकुदोभानमा नै सलामी दिएको थियो। यअसघि जिग्मेलाई अन्तिम श्रद्धाञ्जली दिन ऊर्जामन्त्री जनार्दन शर्मा गुम्बामै पुगेका थिए। जिग्मेका श्रीमती र एक छोरा छन्।