फेवाताल सौन्दर्यीकरण व्यवस्थापनको लागि झन्डै ८० लाख रुपैयाँ खर्च लाग्ने

अमृत सुवेदी

फेवाताल सौन्दर्यीकरण परियोजनाको काम सुरु भएको छ।पोखरा उपमहानगरपालिकाबाट सौन्दर्यीकरण गर्ने जिम्मा लिएको नेपाल एसबिआई बैंकले शनिबार शिलान्यास गरी काम थालेको हो। परियोजनाको एसबिआई बैंक मुम्बईका नायब प्रवन्ध निर्देशक सिद्धार्थसेन गुप्ताले शिलान्यास गरे।

सौन्दर्यीकरण परियोजनाकाका लागि बैंक र पोखरा उपमहानगरपालिकाबीच गएको भदौमा सम्झौता भइसकेको छ। बैंकले फेवातालको किनार (बाराहीघाटदेखि गैह्राको चौतारासम्म) मा हाल निर्माण भएको फुट ट्र्याकमध्ये १०० देखि २०० मिटर क्षेत्र वरिपरि अधिकतम २० फिटको फरकमा १३ वटा विश्रामस्थल र अवलोकन सेड निर्माण गर्ने, सो वरिपरि आकर्षक बगैंचा तयार पार्ने र हरियालीको विकास गर्ने कार्य गर्ने गर्नेछ।

सोही समझदारीपत्र अन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ टर्मिनल कक्षको समेत निर्माण गर्नेछ।
हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यीकरण तथा सोको वरपर नगरपालिकाले तोकेको क्षेत्रफलसम्मको ल्यान्डस्केपिङ समेत बैंकले गर्नेछ। संरचना निर्माणका अतिरिक्त बैंकले निर्माण गरेको एवं सौन्दर्यीकरण गरेको सम्पूर्ण संरचनाको ५ वर्षसम्स मर्मत सम्भार गर्ने जिम्मेवारी समेत बैंक स्वयंले निर्वाह गर्ने सम्झौता भएको छ । ताल छेउमा कुनै पनि स्थायी भौतिक संरचना निर्माण नगरिने सम्झौतामा छ।

आकर्षक वाटर फाउन्टेन निर्माण गर्नुको साथै हाल कायम रहेको लेक भ्यु रेस्कु टावर र वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्ने बैंकले जनाएको छ। फेवा किनार सौन्दर्यीकरण र व्यवस्थापनको लागि झन्डै ८० लाख रुपैयाँ खर्च लाग्ने छ।

यसैबीच, बैंकले बाराही घाटमा रहेको उद्धार टावरको जिर्णोद्धार तथा सजावटको काम गरिसकेको छ । शिलान्यासकै अवसरमा बैंकले स्टार चिल्डे«न होमलाई पानी ट्यांक, न्याना कपडा, स्कूल ब्याग र स्टेसनरी सामान समेत वितरण गरको छ।

शिलान्यासपछि बोल्दै नायब प्रबन्ध निर्देशक सेनगुप्ताले नेपाली समुदायका लागि प्रभावकारी सामाजिक क्रियाकलाप सञ्चालन गर्ने काम आउँदखा दिनमा पनि निरन्तर रहने बताए। क्षेत्रीय प्रशासक खगराज बरालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अभियान थालेकोमा खुसी व्यक्त गरे । बैंक संचालक समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यले सामाजिक क्रियाकलापमा बैंकले आफ्नो कर्तब्य मान्ने गरेकै कारण फेवाताल सौन्दर्यकरण परियोजनाको शुभारम्भ भएको बताए।

बैंकका संचालक निरञ्जनकुमार टिवरेवालाले फेवा ताल सौन्दर्यीकरणको जिम्मेवारी निर्वाह गर्न पाउँदा गौरवान्वित भएको बताए। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले नगर सौन्दर्यीकरणमा नगरवासीको भूमिका महत्वपूर्ण हुनेतर्फ जोड दिए। नगर प्रमुख नवराज ढुंगानाले बैंकले सुरु गरेको परियोजना आगामी दिनमा यस्तै परियोजना संचालन गर्न चाहनेका लागि नमूना परियोजना बन्ने विश्वास व्यक्त गरे।


Facebook Comment


No ads found for this position