बच्चाबेलैदेखि घुमफिरको लत बस्यो

दीपकराज जोशी

जानेर हो या नजानेर बच्चाबेलैदेखि घुमफिरको लत बस्यो। बर्दियाको बगनाह गाउँमा जन्मे/हुर्केको म। एसएलसीसम्म गाउँकै चुरे माध्यमिक विद्यालयमा पढें। मंसिरमा स्कुलको परिक्षा सकिन्थ्यो। त्यही बेला बर्दियाका ठूल–ठूला फाँटमा जँगली वयर पाक्थ्यो। हामी बबई नदी र कर्नालीका भँगालामा पौडी खेल्थ्यौं। बयर खान्थ्यौं। नाच्थ्यौं। रमाउँथ्यौं।

कक्षा ९ पढ्दा साइकलमा नेपालगञ्जसम्म हुइँकिएको थिएँ। ७० किमि कच्चि सडकमा साइकल कुदाउन दिनभर लाग्यो। सम्झेर ल्याउँदा घुमफिरकै लतले साइकलमा नेपालगञ्ज पुर्‍याए जस्तो लाग्छ। एसएलसीपछि लखनउ, नेपालगञ्ज, दैलेख, सूर्खेत लगायत घुमें। मैले प्रविणता प्रमाणपत्र तह भारतको लखनउमा पढें। घुम्ने मन किन त्यत्तिकै बस्थ्यो र, त्यहाँ पढ्दा पनि बरोबर वरपर डुलिरहन्थें।शंकरदेव क्याम्पस काठमाडौंमा विकम पढ्दा घुमफिरले गति लियो। साथीहरुसँग इलाम, गोरखा, धादिङ, काभ्रे र नुवाकोट पुग्थ्यौं। नयाँ ठाउँ घुम्ने र नयाँ मान्छेसँग अन्तरक्रिया गर्ने मन हुन्थ्यो। त्यसो गर्दा सिक्न पाइन्छ। ज्ञान बढ्छ। ठूलो भएपछि तनावबाट मुक्त हुन पनि घुम्न थालें। शहरमा बस्दा बस्दा दिक्क भएपछि दुई चार दिन बाहिर जाँदा तनाव कम हुन्छ। स्वास्थ्यलाई पनि फाइदा पुग्छ।

एकपटक बुबासँग दुई हजार रुपैयाँ भारु मागेर एक्लै बम्बई घुम्न गएको थिएँ। नोभेम्बर २००० मा नेपाल पर्यटन बोर्डमा अधिकृतका रुपमा प्रबेश गरेपछि मैले साथीहरुसँग पदयात्रा गर्न थालें। बोर्डले कर्मचारीलाई भक्ता सहित घुमफिर बिदा दिन थालेपछि घुम्न सजिलो भयो। बोर्डमा आएपछि मैले थोराङला, सगरमाथा बेस क्याम्प, बाग्लुङ हुँदै डोल्पा, राराताल, जनकपुर, कोशीटप्पु, गोसाइकुण्ड–लाङटाङ, गौरीशंकर लगायत गन्तव्य घुमें।

परिवारसँग चाहिँ सजिला गन्तव्यहरु पोखरा, चितवन, लुम्बिनी, बर्दिया आदि घुमेको छु। श्रीमती नम्रता, छोरी वेदा र इभारासँग मौका मिल्दा घुम्छु। वेदा ७ वर्षकि भइ्न, इभारा भर्खर २ वर्षकि छन्। परिवारसँग घुम्ने क्यालेण्डर छैन। छोरीको स्कुल विदा र दशैंतिहारमा घुम्छौं।

नेपाल अनौठो देश। स्यानो देशमा कति धेरै विविधता! अन्नपूर्ण क्षेत्रको उपल्लो मुस्ताङ पुग्दा ‘नेपालमा पनि यस्तो भुगोल छ’ भन्ने मैले कल्पनै गरेको थिइन्। बेग्लै संसार रहेछ मुस्ताङ। मुगु जिल्लाको राराताल त्यति सुन्दर होला भन्ने सोचेकै थिइन्। सगरमाथा क्षेत्रको माथिल्लो भूभाग अचाक्ली महँगो लाग्यो। बेस क्याम्पतिर एक थर्मस तातोपानीकै डेढ सय रुपैयाँ र क्यामेरा चार्ज गरेको सय रुपैयाँ तिर्नु परेकेा थियो। बरु कोठा चाहिँ सस्तोमा पाइँदो रहेछ।

लालीगुराँसको बिशाल जंगल टिएमजे (तीनजुर, मिल्के र जलजले) ले पनि मलाई अचम्मित बनाएको छ। अर्को कुरा अन्नपूर्ण, सगरमाथा र लाङटाङ क्षेत्रमा पनि त्यति सफा कोठा, त्यति मिठो परिकार पाइएला भन्ने सुरुका दिनमा मलाई थाहै थिएन। युरोपियन खाना समेत पाइन्छ त्यहाँ।

म जहाँ पुग्छु सकेसम्म लोकल परिकार खोज्छु। कोशी टप्पु क्षेत्रको घोंगी, अन्तुडाँडामा स्यालको मासु समेत राखेर बनाइएको रक्सी, मनाङतिरको फापरका परिकार, दैलेखको प्याज मिसिएको भाङको अचार, थारु गाउँको पोलेको ढिकरी, थकाली खाना, ठाउँ ठाउँका लोकल रक्सी, पाल्पाको चुकाउनी र हाँसको छोयला सम्झँदै मुख रसाउँछ।

खासमा नेपाली परिकार स्वादिला र स्वास्थ्यबर्धक छन्। विदेश पुगेका बेला पनि नेपाली परिकार मिस गर्छु।

सगरमाथा क्षेत्र बाहेक घुम्न खासै महँगो छैन। तर, विराटनगर, नेपालगञ्ज, भैरहवाका होटल महँगा छन्। साहसिक गतिविधिमा भाग लिन मन लाग्छ। राफि्टङ, साइक्लिङ, प्याराग्लाइडिङ, बञ्जि, अल्ट्रालाइट गरिसकें। भ्याएसम्म पदयात्रामा निस्कन्छु। अब मलाई हुम्लाको लिमी भ्याली, ताप्लेजुङको पाथीभरा मन्दिर र कञ्चनजंघा पदयात्रा गर्ने मन छ। फुर्सद पाएँ भन्ने फेरी अन्नपूर्ण चक्रिय पदमार्गको फन्को मार्छु।

राम्रो तयारी नगरी यात्रामा निस्के दुःख पाइन्छ। यात्रा सधैं सजिलो हुँदैन। धेरैपटक दुःख पाएका छौं हामीले। एकपटक धम्पुसबाट हामी पोखरा झर्‍यौं। डेढ–दुई घन्टाको बाटो त हो सिरुबारी (नेपालमा पहिलोपटक क्याप्टेन रुद्रमान गुरुङले होमस्टे सहित पर्यटन सुरु गरेको स्याङजाको गाउँ) जाऔं भन्ने भयो। भरे राती हामी १० बजे मात्रै दूःखले त्यहाँ पुग्यौं।

डोल्पा यात्रामा ओडारमा बास बस्दा रोमाञ्चक अनुभव भयो। बिहानै हिँड्यौं। अचानक हिउँ पर्‍यो। गाइड धर्म अघि लागे। हामी चार जना थियौं पर्यटन बोर्डका साथीहरु प्रदिप, जितेन्द्र, रोहिणी र म। हिउँले बाटो पुरियो, कता हो कता, रनभुल्ल पर्‍यौं। गाइड परिपक्व रहेनछन्, उनी हामी भन्दा निकै अघि लाग्दा दुःख पायौं। हाम्रो मुखबाट निस्केको थियो धर्म! धर्म! धर्म! हामी हराएको सम्झेर गाइड फर्केर आएपछि मात्र सास आयो। बिहान ४ बजे हिँडेका हामी बेलुकि ९ बजे मात्रै सहरतारा गाउँ पुग्यौं।

संकटकालमा पनि हतारमा यात्रा गर्दा दुःख पाएका थियौं। टवाइलेटमा पिसाब फेर्दा घुम्न निस्कौं न त भनेर निस्केको सेनाले बाटो नखोल्दा रातभर नारायणगढमा गाडीमै बस्नु पर्‍यो।

त्यसैले राम्रो तयारी गरेर मात्र घुमफिरमा निस्कनु पर्छ। नत्र गन्तव्यका होस्ट र यात्री दुबैले दुःख पाउँछन्। नेपालीको घुम्ने प्रबृत्तिले आशा जगाएको छ। हामीले घुम्ने फेशन दिनदिनै बढाउँदै लानु पर्छ। त्यसो भएमा गन्तव्यमा आशा जाग्छ। लगानी बढ्छ। सुविधा थपिन्छ।

खानपिनमा बढी खर्च गर्ने, अरु गतिविधि नगर्ने प्रबृत्ति छ नेपालीमा। हामीले खानपिनमा भन्दा त्यहाँ उपलब्ध सेवा सुविधा उपयोग गर्नमा बढी खर्च गर्न सके राम्रो हुन्छ। ज्ञान बढ्छ। समुदायलाई फाइदा पुग्छ। सिंगो नेपाल आफैंमा पर्यटकीय गन्तव्य हो। हिमाल, पहाड र तराई सबै घुम्न लायक छन्। तैपनी नेपालीले सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, चितवन, बर्दिया, रारा, खप्तड, पाल्पा, इलाम, जनकपुर, डोल्पा, पाथीभरा लगायत गन्तव्य छुटाउनै हुँदैन। आन्तरिक पर्यटन प्रबर्धन गर्न हामी ५ महिनाभित्र नेपाल पर्यटन बोर्डमा छुट्टै शाखा खोल्दैछौं। साभार नागरीक (लेखक नेपाल पर्यटन बोर्डका सिइओ हुन्।)


Facebook Comment