कमिसन दोब्बर नबनाए ब्यवसायीले ग्यासको बिक्री रोक्ने

१२ पुस, काठमाडौं । डिलरले पाउने कमिसन बढाउन माग गर्दै ग्यास बिक्रेताहरुले कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । आफ्ना विभिन्न ७ बुँदे माग पुरा नभए डिलहरुको सरकारलाई नै तालाचाबी बुझाउने चेतावनी ग्यास बिक्रेता महासंघले दिएको छ ।

 

महासंघले कमिसन प्रति सिलिन्डर ग्यास मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग अघि सारेको हो । महासंघले अहिले प्रतिसिलिन्डर ३२ रुपैयाँ पाउँदै आएको कमिसनलाई ६७ रुपैयाँ बनाउन माग गरेको हो ।

उनीहरुको मागअनुसार डिलर कमिसन बढेमा आयल निगमले ग्यासको मूल्य पनि बढाउने निश्चित छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ६ वर्षदेखि कमिसन नबढेकाले यो पटक माग सुनुवाइ नभए ग्यासको वितरण ठप्प पार्ने चेतावनी दिए । तत्काल डिलरको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने माग पनि अघि सारिएको अध्यक्ष अर्यालले बताए ।

डिलर र डिलरमा काम गर्नेहरुको बिमा हुनुपर्ने, ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने र व्यवसायीमाथि थोपरिएको झुठा मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग महासंघले अघि सारेको छ ।

डिलरलाई इजाजत दिँदा तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने माग अघि सारेका छन् ।

माग पुरा नभए आगामी पुस २९ देखि ग्यास उद्योगमा धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । यसैगरी नेपाल आयल निगम घेर्ने कार्यक्रम पनि सँगसँगै छ । आफ्नो माग सम्बोधन नभए ग्यासको बिक्री वितरण रोक्ने चतावनी महासंघले दिएको छ ।

आयल निगममा बिक्रेताहरुले आफ्ना मागसहित ज्ञापनपत्र पेश गरिसकेका छन् । बढ्दो महंगीका कारण अहिले पाइरहेको कमिसन अपुग भएको बिक्रेताको तर्क छ ।


Facebook Comment


No ads found for this position