८६ वर्षको उमेरमा वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

१४ पुस, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो ।

मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ ।

१९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए ।

दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।

मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष  रहेका दीक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यावसायिक संघसंस्थामा सक्रिय थिए । मदन पुरस्कार गुठीबाट प्रकाशन हुने नेपाली त्रैमासिक पत्रिकाको वि. सं. ०१३ देखि सम्पादन गर्दै आएका थिए ।

उनका तीन सन्तान छन् । छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित तथा छोरी रूपा जोशी पत्रकारितामा क्रियाशील छन् । पत्नी अञ्जु पौडेलको गत वर्ष पुस ३ गते निधन भएको थियो ।


Facebook Comment


No ads found for this position