मन जित्दै सडक महोत्सव
पञ्चेबाजा घन्काउँदै, मादल र डम्फु बजाउँदै रंगीविरंगी पोसाकमा सजिएर हुलका हुल मानिस फेवाताल किनारमा निस्किँदा स्थानीयवासी र पाहुनाको मुहारमा खुसीको लाली पोतियो । सुन्दर पोखराको सबैभन्दा मनमोहक क्षेत्र लेकसाइडमा बुधबारदेखि सुरु भएको १८औँ सडक महोत्सवमा सहभागी स्वदेशी र विदेशी सांस्कृतिक झाँकीसमेत हेरेर दंग परे । लेकसाइडको हल्लनचोकदेखि सुरु भएको सांस्कृतिक झाँकीमा हिमाल, पहाड, तराई र विदेशका मनै लोभ्याउने रंगीविरंगी वेशभूषामा सजिएका मानवलस्कर देख्दा सबैजना लोभिए । पर्यटकीय नगरी पोखरामा मन बहलाउन आइपुगेका स्वदेशी र विदेशी पर्यटकहरू रंगीन माहोललाई आफ्नो क्यामरामा कैद गर्न व्यस्त देखिए । ‘महोत्सवमा देखाइएको नाच र बाजा अनौठो र रमाइलो लाग्यो,’ चीनका पर्यटक चुङले खुसी हुँदै भने, ‘यो क्षण हाम्रो टिमका लागि यादगार हुनेछ ।’ पर्यटन व्यवसायीले महोत्सवका बारेमा बताएपछि आाफूसहित सातजना साथीहरू पोखरा बसेको उनले बताए । देशका विभिन्न भागको नाचगान, कला, संस्कृतिको जमघट गराएर, स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जनका साथै राष्ट्रिय एकताको सन्देश दिन प्रदर्शन गरिएको झाँकी मेलाको मुख्य आर्कषण हो । हिमालको याक नाच, कास्कीको भजन चुट्का, खोटाङको किरात साम्पाङ राई नाच, कौडा नाच, बाग्लुङको गोपिचन नाटक, सुदूरपश्चिमको पौराणिक नृत्य बडाल चौला, चितवनको थारू लाठी नाच र अन्य जातजातिको नाच र पोसाकले सबैलाई लोभ्याएको थियो । भूकम्प र नाकाबन्दीका कारण पाहुना नआउँदा लगभग सुनसान बनेको लेकसाइडको लाली हराएको थियो । तर, अहिलेको समय अफसिजनमा पनि महोत्सवले चहलपहल ह्वात्तै बढाएपछि व्यवसायी र स्थानीयमा खुसियाली छाएको छ । ‘सधैँभर यसरी नै पाहुना आइदिए हामीलाई गुजारा गर्न सजिलो हुने थियो,’ लेकसाइडमा डुंगा व्यवसाय गर्दै आएकी सीमा सुनामले भनिन्, ‘पाहुना धेरै आए भने कोही दुःखी भएर बस्नुपर्दैन ।’ सडक पेटीमा राखिएका रेस्टुरेन्टमा बसेर रमझम हेर्दै रमाएका पर्यटक देखेर व्यवसायी पनि दंग परेका छन् । महोत्सवमा रेबानमा आबद्ध १ सय २ वटा रेस्टुरेन्टसँगै खाना र अन्य गरी ३ सयभन्दा बढी स्टलमा राखिएका छन् । खाली–खाली हुने होटेलका कोठाहरू बिस्तारै–बिस्तारै भरिने क्रम बढ्दै गएपछि व्यवसायीहरूले राहत महसुस गरेका छन् । ‘महोत्सवमा स्वदेशी पर्यटकको विशेष सहभागिता हुने र कारोबार पनि राम्रो हुने गर्दछ,’ क्षेत्रीय होटेल संघ पोखराका अध्यक्ष भरत पराजुलीले भने, ‘पहिला विदेशीलाई मात्रै पर्यटक ठान्ने चलन अहिले पूरै हटेको छ । नेपालीमा पनि घुमफिर गर्ने चलन बढेकाले स्वदेशी पर्यटक नै व्यवसाय उकास्ने सबैभन्दा ठूलो आधार हुन् भन्ने मान्यताको विकास भएको छ ।’ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले लेकसाइडमा गरेको महोत्सव आगामी १७ गतेसम्म चल्नेछ । लेकसाइडको फिस्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३.५ किलोमिटरको सडकमा हुने महोत्सवको उद्घाटन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले गरेका थिए । महोत्सवमा विभिन्न जातजाति, आमासमूह, संघसस्थासँगै विद्यार्थी, कर्मचारी र व्यवसायी सहभागी भएका थिए । महोत्सवलाई सुरक्षित बनाउन सडकमा सौर्यबत्ती र सिसी क्यामेरा जडान गरिएको छ । आगन्तुकका लागि राति ११ बजेसम्म र अन्तिम दिन १६ गते राति २ बजेसम्म रात्रिबस सेवा सञ्चालन हुने भएको छ । महोत्सवमा हरेक दिन दोहोरी, आधुनिक, पप गीत प्रस्तुत गरिनेछ । रेस्टुरेन्टका वेटर्सहरूबीच दौड, डुंगा दौड, सडकमा रस्साकस्सी, बच्चाहरूबीच मैनबत्ती र चम्मा दौडलगायतका कार्यक्रम राखिएको छ । करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा गरिएको महोत्सव सञ्चालनका लागि मुख्य प्रायोजन हिमालयन डिस्टिलरी प्रालि र गोर्खा बु्रअरी प्रालिले गरेको छ । सहप्रायोजन बोटलर्स नेपाल (तराई) लिमिटेडसँगै नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको छ ।
करिब १ करोड आम्दानी लक्षित महोत्सवबाट करिब २० लाख बचत हुने अनुमान आयोजकले गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, सभाहल र पार्क पोखरेलीको साझा माग महानगर बन्दै गरेको पोखरा र लेखनाथलाई अन्तर्राष्ट्रिय सहर बनाउन कास्कीका राजनीतिक दल, सभासद्, पर्यटन व्यवसायी र नागरिक समाजका प्रतिनिधिले जोडदार माग गरेका छन् । पर्यटकीय नगरलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग सीधै जोड्न छिनेडाँडामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र लेखनाथको लामेआहालमा व्यवस्थित बसपार्क बनाउने काम तत्काल सुरु गर्न उनीहरूले माग गरेका छन् । सभासद् शारदा पौडेलले पोखरामा चार दशकअघि योजना बनाए पनि अहिलेसम्म पूरा नभएका विभिन्न योजना पूरा गर्नुपर्ने बताइन् । पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय सभाहल र व्यवस्थित बसपार्क बनाउन एकजुट भएर दबाब दिन उनले आह्वान गरिन् । महोत्सवले पोखराको मात्र नभएर समग्र देशको पर्यटन क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ थियो ।
पोखरामा विकासको गुरुयोजना नबन्दा यस क्षेत्रको विकासमा समस्या भएको बताउँदै सभासद् यज्ञबहादुर थापाले विमानस्थलसँगै अन्तर्राष्ट्रिय सभाहल निमार्णको काम तत्काल सुरु गर्नुपर्ने माग राखे । लेखनाथ ५ स्थित सिलिगो डाँडाका स्थानीय जनता सम्मेलन केन्द्रका लागि ४ सय ८२ रोपनी जग्गा निःशुल्क दिन तयार रहेकाले सरकारी तबरबाट काम सुरु गर्न उनले आग्रह गरेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले महोत्सवलाई मर्यादित बनाएर पाहुनाको मन जित्नुपर्नेमा जोड दिए । पर्यटक फेरि–फेरि आउने माहोल बनाए मात्र महोत्सव सफल हुने उनले बताए । महोत्सवलाई खाना र मनोरञ्जनमा मात्र सीमित नराखी ज्ञानवद्र्वक र शिक्षामूलकसँगै नयाँ उत्पादनमा जोड दिन उनले सल्लाह दिए ।
पोखरा उपत्यका नगर विकास समितिका सभापति प्रकाशमोहन खनालले सरकारले जुन प्रयोजनका लागि जग्गा अधिग्रहण गरेको हो त्यहीअनुसार योजना बनाउनुपर्नेमा जोड दिए । उनले पोखराको वसुन्धरा पार्कको १ सय ८ रोपनी जग्गा पार्क बनाउन अधिग्रहण गरेकाले अब ग्रिन पार्कका रूपमा विकास गरिने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पर्यटकीय दृष्टिले महŒवपूर्ण स्थान पोखरामा धेरै रहेको भए पनि सरकारबाट त्यसको संरक्षण हुन नसकेको बताउँदै संरक्षणका लागि काम थाल्नुपर्नेमा जोड दिए । महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले महोत्सव पोखराको मात्र नभएर नेपालकै ब्रान्ड बनेको भन्दै आर्थिक तथा सामाजिक विकासमा यसले धेरै योगदान गरेको बताए । पोखरा, चितवन, लुम्बिनी र काठमाडौंलाई जोड्ने गरी एउटा मार्ग आवश्यक रहेको उनको भनाइ थियो । पूर्वाधार अभावका कारण सोचेजति विकास हुन नसकेको बताउँदै सरकारले सडकमार्गसँगै हवाई मार्ग र निकायलाई व्यवस्थित गर्नुपर्र्ने उनको आग्रह थियो । प्रेम नेपाली/रोहित पराजुली