यसकारण घट्दै छ सेयर बजार
पछिल्ला ८ महिनामा नेप्से परिसूचक झन्डै ५ सय अंक बढ्यो र त्यति नै घटिसक्यो । यसबीच साढे ६ लाख लगानीकर्तामध्ये धेरैले कमाए र धेरैले गुमाए पनि । बजारको यो तीव्र उतारचढावलाई लिएर नियामक निकायदेखि विश्लेषक र सरकारी अधिकारी पनि भिन्नभिन्न प्रतिक्रिया दिइरहेका छन् । आर्थिक गतिविधि सुधारोन्मुख रहे पनि पछिल्ला ५ महिनामा ५ सय अंक घट्न सेयर बजारमा के कुरा (कुन विषय)ले काम गरेको छ ? उतारचढावले निम्त्याउने जोखिम के हुन् ? र यसको व्यवस्थापन कसरी सम्भव छ त ? स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले यसरी बताए :
बैंकमा तरलता संकट
बैंक तथा वित्तीय संस्थामा तरलता संकट भएको छ । यसले कर्जाको ब्याजदर बढेको छ । सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जामा कडाइ हुन थालेको छ । उल्टै बजार घटेका कारण मार्जिन कल गर्न थालिएको छ । आफ्नो बैंकलाई पैसा तिर्दै जानुपर्ने भएकाले लगानीकर्ताले थप सेयर किन्ने हैसियत गुमाउन थालेका छन् ।
सेयरको तरलता वृद्धि
बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न ठूलो परिमाणमा हकप्रद, बोनस सेयर जारी भएको छ । पहिलेपहिले हकप्रद सेयरमा आवेदन दिने, बाँडफाँट गर्ने, त्यसको प्रमाणपत्र लिने र कारोबार गर्ने प्रक्रियामा नै लामो समय लाग्ने गथ्र्यो । यसले बजारमा एकैपटक आपूर्ति बढाउन सकिन्नथ्यो । अहिले सिडिएससी कार्यान्वयनमा आएपछि सेयरको तरलता बढेको छ । अर्थात् कम्पनीले सेयरधनीको हितग्राही खातामा बोनस र हकप्रद सेयर एकसाथ राखिदिन्छन् । त्यो सेयर लगानीकर्ताले तत्कालै बिक्री गर्न सकिने भएको छ । यसले बजारमा आपूर्ति पक्ष बलियो बनाएको छ ।
लगानीकर्तालाई पैसाको जोहो
पुँजी वृद्धिकै लागि कम्पनीले ठूलो परिमाणमा हकप्रद र अतिरिक्त सेयर निष्कासन (एफपिओ) गरिरहेका छन् । त्यसका लागि लगानीकर्तालाई पैसा अभाव हुन्छ । राम्रा कम्पनीको हकप्रद र एफपिओ किन्नका लागि लगानीकर्ताले आफूस“ग भएका सेलेक्टेड सेयरको बिक्री गर्न थालेका छन् । व्यक्तिगत आवश्यकताको परिपूर्तिका लागि आवश्यक पैसा पनि बजारबाटै निकाल्नुपर्ने अवस्था पनि कतिपय लगानीकर्ताको छ । यसले पनि बिक्री चापलाई बढावा दिएको छ ।
माग बढ्न सकेन
बजारमा सेयरको आपूर्ति बढ्दै गए पनि त्यसलाई धान्ने गरी माग बढ्न सकेन । ठूला र संस्थागत लगानीकर्ताले सेयर बजार उचाइमा पुगेका वेला सेयर बेचेर बाहिरिएका छन् । उनीहरू अहिले पनि बजारमा पुनः प्रवेश गर्न चाहिरहेका छैनन् । यसले माग पक्षलाई कमजोर बनाइदियो । माग र आपूर्तिको सन्तुलन बिग्रन पुग्दा सेयर बजार निरन्तर ओरालो लागेको छ ।
बिमामा असुरक्षित
बिमा कम्पनीको पुँजी वृद्धि गर्ने कुराले धेरै लगानीकर्तालाई आकर्षित गरेको थियो । बिमा ऐनको संशोधन मस्यौदामा बिमा कम्पनीको चुक्ता पुँजी १६ गुणासम्म बढाउने प्रस्ताव गरिएको खबर आएका छन् । बिमा कम्पनीको नाफा पनि राम्रै भएकाले लगानीकर्तामा आकर्षण थियो । लगानी विविधीकरण गर्न चाहने लगानीकर्ताले बिमालाई रोजाइमा राखेका थिए । तर, लामो समय बित्दा पनि बिमा कम्पनीको पुँजी बढाउने प्रस्ताव अलपत्र परेको हो कि भन्ने भान लगानीकर्तामा परेको छ । निर्णय प्रक्रिया रोकिँदा लगानीकर्ताले बिमाको सेयरमा पनि असुरक्षित महसुस गर्न थालेको देखिएको छ । यसले पनि नेप्सेलाई ओरालो लाग्न सहयोग गरेको छ ।
भारु प्रतिबन्ध
भारत सरकारले पुराना ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली सेयर बजारमा पनि परेको छ । नेपाल–भारत व्यापारमा निकै ठूलो हिस्सेदारी रहेको मारबाडी समुदायले सेयर बजारमा पनि लगानी गरेका थिए । सामान्यतया विगतमा पनि नेपाली बजारमा भारु सधैँ अभाव हुने गरेको थियो । सीमावर्ती क्षेत्रमा भारुको कारोबार हुँदा स्थापित विनिमयदरभन्दा निकै महँगो पर्ने गरेको समाचार वेलावेला आइरहेकै हुन् । त्यस्तो अवस्थामा व्यापारीले आफूलाई नियमित आवश्यक पर्ने भारुको सञ्चिति गरेका थिए । एकजना व्यापारीले २०–३० लाख भारु सञ्चित गरेको रहेछ भने पनि त्यो ठूलो अंक हो । त्यसरी सञ्चय गरेको भारु काम नलाग्ने भएपछि उनीहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि सेयर बजारबाट लगानी निकाल्न थालेको सुनिन्छ । यसरी भारु प्रतिबन्धले निम्त्याएको वित्तीय घाटाको परिपूर्ति गर्न सेयर बजारबाट लगानी फिर्ता गर्दा नेप्सेमा बिक्री चाप बढेको छ ।
संस्थागत निक्षेपको सीमा घट्नु
बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपको हिस्सा घटाउनुपर्ने कानुनी व्यवस्था राष्ट्र बैंकले गर्यो । यसबाट व्यक्तिगत निक्षेप आकर्षित गर्न बैंकमाथि ठूलो दबाब सिर्जना गर्यो । परिणामस्वरूप छिटोछिटो व्यक्तिगत निक्षेपको ब्याजदर बढ्न थाल्यो । कर्जाको ब्याजदर बढ्न पनि यसले सहयोग गर्यो । यसबाट मानिस सेयरको पैसा निकाल्दै निक्षेप राख्ने बाटो रोज्न प्रेरित भए । ऋण लिएर सेयर किन्ने पनि निरुत्साहित हुन थाले ।
मार्जिन कल
सेयर बजार ओरालो लाग्न थालेपछि बैंकहरूले आफ्ना ऋणीलाई मार्जिन कल गर्न थालेका छन् । १५ सय अंकभन्दा माथि नेप्से पुग्दा ऋण लिएर सेयर किनेका लगानीकर्ताले बैंकलाई मार्जिन तिर्नुपर्ने अवस्था आएको छ । त्यसका लागि लगानीकर्ताले सेयर बेचेर बैंकलाई पैसा तिर्नुपरेको छ । घाटामै भए पनि सेयर बेचेर ऋण तिर्नुपर्ने अवस्था देखिएको छ । यसले पनि बिक्री चापमा प्रभाव पारेको छ ।
बुक–क्लोज असर
घट्दो बजारमा बुक क्लोजपछि सेयर किन्न लगानीकर्ता इच्छुक देखिएनन् । सेयर मूल्य बढिरहेका वेलामा मात्रै लगानीकर्ताले पुँजीगत लाभ प्राप्त गर्ने सम्भावना हुन्छ । अन्यथा अहिलेको अवस्थामा सेयर किन्दा प्रतिफल पाउन अर्को १ वर्ष लाग्छ । त्यसपछि पनि बजारको प्रवृत्ति कता जान्छ भन्नेमा लगानीकर्ता सशंकित देखिन्छन् । यसले लगानीकर्तालाई आकर्षित गर्न सकेको छैन । जसबाट बजारलाई निरन्तर ओरालो लाग्न थप बल पुगेको छ ।
राजनीतिक अन्योल
राजनीतिक वृत्तमा फेरि अन्योलता बढ्न थालेको छ । संघीयताको कार्यान्वयन, निर्वाचनजस्ता विषयलाई लिएर दलबीचको बढ्दो विवादले अन्तत्वगत्वा लगानीको वातावरणमा प्रभाव पार्ने डर लगानीकर्तालाई छ । यसले लगानीकर्ताको मनोबल सुधार हुनुको साटो झन् कमजोर बनाउन मद्दत गरेको छ । राजनीतिक परिस्थिति नसुध्रिने डरले सेयर लगानीकर्ता पनि आक्रामक बन्न सकेका छैनन् ।
डुब्दै नवप्रवेशी
सेयर बजारमा बियरिस प्रवृत्ति देखिन थालेपछि नवप्रवेशी लगानीकर्ता जोखिममा परेका छन् । हरेक बुलरनको समयमा नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने गर्छन् । अहिले पनि धेरै नयाँ मानिस सेयर बजारमा छिरेका थिए । उनीहरूले नेप्से कम्तीमा २ हजारदेखि २५ सय अंकमा पुग्छ भन्ने अनुमानमा लगानी गरिरहेका थिए । केही लगानीकर्ताले यसबीचमा नाफा सुरक्षित गरेर सेयर बेचे । कतिपयले बजार घट्न थालेपछि आत्तिएर पनि सेयर बेचेको देखियो । जतिले सेयर होल्ड गरेर बसे, उनीहरू डुब्ने अवस्था बनेको छ । उनीहरूलाई अब उत्रिन अर्को बुलरनसम्म कुर्नुपर्ने हुन्छ । यसका लागि निकै लामो समय लाग्न सक्छ ।
उतरचढावको व्यवस्थापन कसरी ?
अहिलेको अवस्थामा बजार निकै उतारचढावपूर्ण देखिएको छ । आज ४० अंक बढ्यो भने भोलि ३० अंक घट्ने गरेको छ । सामूहिक लगानी कोषको पनि ६०–७० करोडदेखि १ अर्ब रुपैयाँको फन्ड संकलन गरेर आउँछन् । सेयर बजारमा दैनिक डेढ अर्बसम्मको कारोबार हुन्छ । अरू संस्थागत लगानीकर्ताको अवस्था पनि त्यस्तै कमजोर छ । सानोसानो समूहमा इन्भेष्टमेन्ट कम्पनी खोलेर लगानी गर्न थालेका छन् । तर, त्यसले सेयर बजारमा माग र आपूर्तिको सन्तुलन गर्न पर्याप्त छैनन् । माग बढ्दा आपूर्ति बढाउन पनि नसक्ने, बिक्री बढ्दा माग सिर्जना गर्न पनि नसक्ने अवस्थामा छन् । बजार निर्माताको उपस्थिति छैन । हाम्रो बजारमा ठूला संस्थागत लगानीकर्ता र बजार निर्माताको खाँचो छ ।
अर्कोतिर नेप्से, सिडिएससी, धितोपत्र बोर्डजस्ता निकायको भूमिका प्रभावकारी बन्न सकेको छैन । लगानीकर्तालाई सेयरबारे सचेतना दिने र प्रशिक्षित गर्ने काम हुन सकेको छैन । त्यसकारण लगानीकर्तासामु बजारमा चलेका हल्ला र सञ्चारमाध्यममा आएका सूचनाको भरमा रणनीति बनाउनुपर्ने बाध्यता छ । त्यसले बजारलाई अस्थिर बनाएको छ । बजारलाई अस्थिर र उतारचढावपूर्ण बनाउने यी दुईवटा बाटो बन्द गर्न सकेमा बजार प्रवृत्तिलाई वास्तविक बाटोमा लान सकिन्छ ।