टानले पदमार्ग निर्माण र पर्यटन प्रवर्द्धनमा ९ करोड खर्चने

१५ पुस, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नयाँ पदयात्रा मार्गको खोज तथा विकासमा झन्डै ९ करोड रुपैयाँ छुट्याएको छ । टानले पदयात्रा क्षेत्रमा पूर्वाधार विकास, पदयात्रा मार्गको मर्मत-सम्भार र देश विदेशमा प्रवर्द्धनका लागि उक्त रकम छुट्याएको हो ।

संघको हालै सम्पन्न ३८ औं वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक वर्ष ०७३/७४ का लागि अनुमानित आयव्यय विवरणमा उक्त कामहरूका लागि ८ करोड ७९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

टानका कोषाध्यक्ष लीलाबल्लभ दाहालले पदयात्रा मार्गहरू छान्दा भौगोलिक सन्तुलन मिलाएको बताए । “हामी पदयात्रामार्गको विकासका लागि पूर्वमा कञ्चनजंगा क्षेत्रदेखि सुदूरपश्चिममा अपि हिमालसम्मका पदयात्रा क्षेत्रहरू छानेका छौं,” दाहालले भने ।

टानले देशभर ६३ वटा पदयात्रा मार्ग छानेको छ । लम्जुङ-दूधपोखरी, लेते हुँदै नर्थ अन्नपूर्ण आधार शिविर, शैलुंग-तिमाल, जोगीमारा-शक्तिखोर, रामेछाप चक्रीय पदमार्ग, चतरा-मैनामैनी लगायतका क्षेत्रहरूमा नयाँ पदयात्रा मार्ग खोजिने दाहालले बताए ।

टानले विकास कार्यक्रमहरूका लागि पनि यथेष्ट बजेट छुट्याएको छ । यो आर्थिक वर्ष तिमालमा पर्यटन स्मृति पार्क, पर्यटक बसपार्कहरूमा घुम्ती शौचालय र मर्दी खोलामा पुल निर्माण गर्ने टानको योजना छ । यस्तै, साइक्लिङ मार्ग निर्माण, ठमेलमा सौर्य बत्ती जडान र खप्तड विकास कार्यक्रम पनि टानको योजनामा छन् ।

कोषाध्यक्ष दाहालले यो आर्थिक वर्ष मुख्य पदयात्रा मार्गहरूमा मौसम सूचना केन्द्र, धादिङमा पर्वतारोहण स्कुल र गोरखामा पदयात्रा सहयोगीहरूका लागि आवास गृह निर्माण गरिने जानकारी दिए । टानले काठमाडौं आसपासको क्षेत्रमा छोटा हाइकिङ ट्रेलको निर्माण गर्दैछ । “थानकोट-दहचोक-रामकोट-सीतापाइला मार्ग प्रवर्द्धन गरेर यसको सुरुवात गर्दैछौं,” उनले भने ।

मकालु क्षेत्रमा नयाँ पदयात्रा मार्ग निमाण गर्न  १६ लाख रुपैयाँ बजेट छुट्याएको टानले दामोदर कुण्ड, लार्के पास, कागमारा आधार शिविर र लुम्बा-सुम्बामा पदयात्रा सहयोगीहरूका लागि आवास गृह निर्माण गर्दैछ ।

टानले विश्व बजारमा पर्यटन प्रवर्द्धनअन्तर्गत अमेरिकाका लागि २४ लाख, रुसका लागि ६४ लाख, युरोपका लागि ३२ लाख, दक्षिण एसियाका लागि २० लाख, मध्यपूर्वका लागि ८० लाख, अस्ट्रेलियाका लागि ८० लाख र एसियाली बजारका लागि १२ लाख रुपैयाँ छुट्याएको छ ।


Facebook Comment