होटलको अकुपेन्सी ५५ प्रतिशत, समग्र पर्यटन क्षेत्रकै लागि सकारात्मक संकेत

१५ पुस, काठमाडौं । सन् २०१६ मा पर्यटक आगमनदर बढेसँगै होटलको कोठा उपयोग (अकुपेन्सी) दर ५५ प्रतिशत पुगेको छ । सन् २०१५ मा भूकम्प र नाकाबन्दीका कारण होटलहरूको अकुपेन्सी ४० प्रतिशतमा झरेको थियो ।

अकुपेन्सीलाई पर्यटन क्षेत्रको मापक मानिन्छ ।  “सन् २०१६ मा ५५ प्रतिशत अकुपेन्सी पुगेको छ, यो भनेको समग्र पर्यटन क्षेत्रकै लागि सकारात्मक संकेत हो,” होटल संघ नेपाल (हान) महासचिव विनायक शाहले भने ।

भूकम्पका कारण सन् २०१५ मा ३२ प्रतिशतले घटेको आगमनदर ‘रिकभर’को चरणमा प्रवेश गरेसँगै होटलको अकुपेन्सी पनि बढेको हो । २०१६ को ११ महिनामा ६ लाख ५५ हजार १ सय ४४ पर्यटक भित्रिएका छन् ।

गत वर्षभन्दा ३४ प्रतिशतको वृद्धि भएसँगै अकुपेन्सीमा सुधार आएको शाहले बताए  । सन् २०१५ को ११ महिनामा जम्मा ४ लाख ८० हजार ६ सय ६६ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०१४ मा होटलहरूको अकुपेन्सी ६१ प्रतिशत थियो । सन् २०१७ मा पर्यटक आगमनदर ८ लाख ५० हजार पुग्ने प्रक्षेपण गर्दै महासचिव शाहले होटलहरूको अकुपेन्सी पनि ७२ प्रतिशत पुग्ने दाबी गरेका छन् । “होटलको संख्या बढेको छ, सोहीअनुसार पर्यटक संख्या नबढेकाले सस्तोमा रुम बिक्री गर्नुपर्ने होटलहरूको बाध्यता छ,” शाहले भने ।

नेपालबाट चीनका ठूला सहरहरूसम्म सीधा उडान गर्न नसक्दा चिनियाँ पर्यटक बढ्न नसकेको उल्लेख गर्दै शाहले सरकारले निगम जहाज किन्नुपर्ने र विमानस्थल निर्माणमा जोड दिन आवश्यक रहेको बताए । “अहिले नै होटलहरूको क्षमता १५ लाख पर्यटक धान्ने आवस्थामा छ, सन् २०२० सम्ममा २० लाख पर्यटक धान्ने पूर्वाधार तयार हुँदैछ,” शाहले भने ।

नेपालमा हालसम्मको सबैभन्दा धेरै अकुपेन्सी सन् २०११ मा ७२ प्रतिशत पुगेको थियो । २०१५ मा पाँचतारे होटलहरूको वार्षिक रुम संख्या ५ लाख २३ हजार ५ सय २३ रहेकोमा २ लाख ५३ हजार रुम मात्रै भरिएका थिए ।

२०१४ मा ३ लाख १९ हजार २ सय ८४ रुमले बिजनेस पाएका थिए । बाँकी रुमहरू भने खाली रहेका थिए । सन् २०१३ मा ५८.९ प्रतिशत रहेको थियो । त्यस्तैगरी सन् २०१२ मा होटलको अकुपेन्सी ६२.८ प्रतिशत पुगेको थियो ।

सन् २०१९ सम्ममा १० वटा ठूला पाँचतारे होटल थपिने निश्चित भएको समेत शाहले बताए । अबको केही वर्षपछि नेपालमा पाँचतारे होटलको संख्या २८ पुग्ने पक्का छ । निर्माणको चरणमा रहेका तीनतारे र चारतारे होटलको संख्या पनि दुई दर्जनभन्दा बढी छ ।


Facebook Comment


No ads found for this position