‘न्यू इयर’ले तान्यो सौराहामा पर्यटक, खानाको परिकारदेखि जङ्गल सफारी सम्म .

पुस १६, चितवन । नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहाको सुविधायुक्त होटल वाइडलाईफ क्याम्पमा ४३ कोठा छन् । विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका सञ्चालक शङ्कर शैंलु बताउँछन् । ‘हाम्रो होटल तीन दिनदेखि भरिएका छन्, शैंजुले भने, आएका पर्यटकलाई अन्य होटलका रूम बुक गरेर पठाइरहेका छौँ, अन्त पनि धैरै होटल भरिइसके ।’

चालीसओटा कोठा रहेको रोयल सफारी होटलमा पनि पर्यटक भरिएर २० ओटाकोठा बाहिरको होटलमा राख्नुपरेको सञ्चालक शम्भु माली बताउँछन् । उनले विगतको वर्ष भन्दा यो पटक राम्रो पर्यटक आएको वताए । उनले चार दिनका लागि होटल बुक भएको पनि बताए । निकुञ्जसँग जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञजले बताएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ ।

निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले निकुञ्जमा हात्ती र जिप सफारीमा पर्यटक गइरहेको बताउँछन् । चितवनको सौराहामा मात्र सानाठूला गरी १ सय १० ओटा होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । यतिबेला सौराहाको रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले बताए । उनले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहाको राप्ती किनारमा पर्यटक रमाउने गर्दछन् ।
दैनिक दुई हजार ५ सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । ६० भन्दा बढी रेस्टुराँ र १ सय साना पर्यटन व्यवसाय सञ्चालित छ । चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गँैडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन् ।

पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक दुई लाख बढी पर्यटक आउँछन् । रासस


Facebook Comment


No ads found for this position