नयावर्ष मनाउने पर्यटकले पोखराका सबैै होटलहरु भरिभराउ
रेवान पोखराको आयोजनामा पोखराको लेकसाइडमा १८औं पोखरा सडक महोत्सव जारी छ । महोत्सवको चौथो दिन शनिबार राति १२ बजे अंग्रेजी नयाँ वर्ष २०१६ लाई बिदाइ गरी २०१७ लाई भव्य कार्यक्रमका बीच स्वागत गरिदै छ ।
सडक महोत्सवको सबैभन्दा महत्वपूर्ण इभको दिनलाई मानिन्छ । सडक महोत्सवमा इभ मनाउन देश तथा विदेशबाट पाहुनाहरु पोखरामा आइसकेका छन् । कतिपय पर्यटक आज साँझसम्ममा पोखरा आइपुग्नेछन् । महोत्सवको तेस्रो दिन शुक्रबार पनि बिदा परेकाले महोत्सव अवलोकनकर्ताहरुको भिड लागेको थियो । सडक महोत्सव मनाउन पोखरा आएका पर्यटकले पोखराका सबैै होटलहरु भरिभराउ भएका छन् । सडक महोत्सवमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक पोखरा आउने विश्वास गरिएको महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले बताए । ‘नेपालमा घुम्ने कल्चरको विकास भएको छ,’ उनले भने, ‘अंग्रेजी नयाँ वर्ष मनाउने पहिलो गन्तव्य सडक महोत्सवले पोखरालाई बनाएको छ ।’ यसपटक बिगतको वर्षमा भन्दा करिब २० प्रतिशत दर्शक बढ्ने अनुमान गरिएको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताए ।
यसैबीच इभको दिन लेकसाइडमा निकै आकर्षक कार्यक्रमहरु प्रस्तुत हुने रेवान पोखराका महासचिव विश्वराज पौडेलले जानकारी दिए । ‘महोत्सव अवलोकन कर्तालाई हामी विविध कार्यक्रम मार्फत भरपुर मनोरञ्जन प्रदान गर्न सफल हुनेछौं,’ उनले भने, ‘पोखरालाई संसारभर चिनाउन तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।’