सातै प्रदेशमा छुट्टा छुट्टै पर्यटकीय क्षेत्र तथा गन्तव्य विस्तार गरिने

अच्युत पुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७ प्रदेशस्थित एक–एक प्रमुख स्थानलाई केन्द्रबिन्दु मानी नयाँ पर्यटकीय क्षेत्र तथा गन्तव्य विस्तार गर्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले गुरुयोजना निर्माण गरी कार्यान्वयनमा लैजान लागेको हो । संघीय राज्य व्यवस्थाअन्तर्गत प्रत्येक प्रदेशमा एक–एकवटा नमुना शान्ति तथा सांस्कृतिक ग्राम निर्माणको योजना पनि मन्त्रालयले बनाएको छ । सोही योजनाबमोजिम मन्त्रालयले हालै गुरुयोजना र नमुना शान्ति तथा सांस्कृतिक ग्राम निर्माणका लागि ‘एक्स्प्रेसन अफ इन्ट्रेस्ट प्रस्ताव’ आह्वान गरेको छ ।

क्षेत्र पहिचान यसै आवमा

मन्त्रालयले नयाँ संविधानअनुसार निर्धारित सात प्रदेशमा एक–एक गन्तव्य तोकी उक्त स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको छ । चालू आर्थिक वर्ष ०७३-७४ भित्र सातवटै प्रदेशका एक स्थानलाई केन्द्रबिन्दु मानी पर्यटकीय क्षेत्रको पहिचानसहित गन्तव्य तोक्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालयका अनुसार गुरुयोजना र नमुना शान्ति तथा सांस्कृतिक ग्राम निर्माण गर्न बजेटसमेत विनियोजन भइसकेको छ ।

के–के सुविधा विस्तार ?

पर्यटनको दीर्घकालीन विकासका लागि सरकारले ‘दश वर्षे नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६–२०२५)’ कार्यान्वयनमा ल्याइसकेको छ । सोही योजनालाई आधार मानेर मन्त्रालयले सात प्रदेशमा नयाँ गन्तव्य विस्तारको योजना बनाएको हो । मन्त्रालयका अनुसार यी क्षेत्रमा सांस्कृतिक ग्राम तथा पर्यटकीय क्षेत्र बनाउन उपयुक्त स्थान पहिचान गरी गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार बन्नेछन् । गुरुयोजनामार्फत ती क्षेत्रमा आवश्यक पर्ने भौतिक पूर्वाधार, होटेल–लज व्यवस्थापन, यातायात तथा सञ्चार, स्वास्थ्यचौकी, सुरक्षालगायत सुविधा विस्तारको सम्भावना खोजी गरिने मन्त्रालयले उल्लेख गरेको छ । सात प्रदेशसँगै मन्त्रालयले मुक्तिनाथ, इलामको गजुरमुखीधाम र डडेलधुरास्थित उग्रतारा मन्दिरको बृहत्तर विकासका लागि गुरुयोजना बनाउने तयारीसमेत गरेको छ ।

घनश्याम उपाध्याय, प्रवक्ता, पर्यटन मन्त्रालय

संविधान र राणनीतिक योजना कार्यान्वयनको एक चरण’  

सात प्रदेशमा नयाँ गन्तव्य विस्तार र नमुना शान्ति सांस्कृतिक ग्राम निर्माणको योजना नयाँ संविधान तथा १० वर्षे नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६–२०२५) अनुसार अगाडि बढेको हो ।

यसले मुलुकभित्र थप गन्तव्य विस्तारसहित मुलुकभित्र समानुपातिक रूपमा पर्यटकीय गतिविधि बढाउन सहयोग गर्नेछ । /नयाँ पत्रिका


Facebook Comment


No ads found for this position