गैंडा हेर्न चिनियाँ टोली चितवन

अब्दुल्लाह मियाँ

एकसिंगे गैंडा, तिनको बासस्थान र आहारलगायत व्यवस्थापन हेर्न चीनको वन मन्त्रालयबाट पाँच सदस्यीय टोली नेपाल आएको छ । चीनको स्टेट फरेस्ट्री एडमिनिस्टेसनका उपमन्त्री चेन फेंगसुईको नेतृत्वमा नेपाल आएको टोली बुधबार चितवन राष्ट्रिय निकुञ्ज पुगेको छ । चिनियाँ टोलीलाई बुधबार बिहान वन मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए । महानिर्देशक खडकाले चिनियाँ टोली बुधबारै गैंडा, बासस्थान र आहारलगायत संरक्षणको अवस्था अध्ययन गर्न चितवन निकुञ्ज गएको बताए ।

केपी ओली नेतृत्वको सरकारले गत असार पहिलो साता चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । चिनियाँ टोली फर्किएपछि नेपालका गैंडा विशेषज्ञ र वन मन्त्रालयको टोलीले चीन गएर नेपाली गैंडा राखिने बासस्थानको अध्ययन गर्नेछ । नेपालले २०६२ फागनु १६ पछि कुनै पनि मुलुकलाई गैंडा उपहार दिएको छैन । त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई जोडी गैंडा उपहार दिएको थियो ।

विगतमा आफ्नो देशमा पनि गैंडा भएको र विविध कारणले मासिएकाले फेरि गैंडाको संख्या बढाउन चाहेको भन्दै गत वर्ष माघमा चीन भ्रमणमा गएका तत्कालीन वनमन्त्री अग्नि सापकोटासँग चिनियाँ समकक्षीले गैंडा मागेका थिए ।

विगतमा सरकारले अमेरिकालाई पनि दुई पटक गरी दुई जोडी गैंडा उपहार दिएको थियो भने जर्मनलाई पनि दुई पटक एक/एकवटा गैंडा उपहार दिएको देखिन्छ । सिंगापुर, बंगलादेश, बेलायत, जापान र अस्ट्रियालाई पनि गैंडा उपहार दिइएको थियो । गैंडा गणना २०१५ अनुसार नेपालमा चितवन र बर्दिया निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा निकुञ्जमा ६ सय ४५ गैंडा छन् ।


Facebook Comment


No ads found for this position