गणेश हिमालका कारण पर्यटक आकर्षित

काठमाडौँ, २२ पुस । गणेश हिमालले धादिङको पर्यटन विकासमा ठूलो सहयोग पुगेको व्यवसायीले बताएका छन् । गणेश हिमाल पर्यटन विकास समितिको ‘पाँचाँै वार्षिक साधारण सभा तथा गणेश हिमाल स्मारिका विमोचन’ समारोहका सहभागिले धादिङको पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु गणेश हिमाल र रुवी भ्याली रहेको बताएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्राकृतिक सम्पदाले धनी देश नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पर्यटन क्षेत्रको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले विकास गर्ने हो भने पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।”

राज्यमन्त्री बाँनियाले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालमा भएका प्राकृतिक स्रोतसाधनको सही रुपमा उपयोग गरेमात्र देशले विकासको गति लिने बताउनुभयो ।

धादिङ क्षेत्र नं– १ का सांसद परशुराम तामाङले पूर्वाधारको विकास गर्नसकेमात्र पर्यटनको विकास सम्भव हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले लाङटाङ र मनास्लु हिमालको बीचमा रहेको गणेश हिमाल र रुवी भ्यालीको विकासका लागि बोर्डले गर्नसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष कुलबहादुर गुरुङ, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, टानका पूर्वअध्यक्ष रमेश धमलालगायतले धादिङको पर्यटन विकासका लागि सबै व्यावसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रुवी भ्याली मिडिया एम्बासडरमा पर्यटन न्यूज अभियानका सम्पादक शिव श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
सो अवसरमा रमेश धमला, ज्योति अधिकारी, राजेन्द्रप्रसाद सापकोटा, रामेश्वर सापकोटा, ठाकुरराज पाण्डे, पम्फा धमला, आशा गुरुङ, पवन सापकोटा, राजन सिङ्खडा, रुपचन्द्र गुरुङलगायतलाई पर्यटन व्यवसायी सम्मान–२०७३ बाट सम्मान गरिएको थियो । समितिले गणेश हिमालको पर्यटन विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका विभिन्न सञ्चारमाध्यामका सञ्चारकर्मीलाई समेत सम्मान गरेको थियो ।


Facebook Comment


No ads found for this position