ढोरपाटनमा नाउरको सङ्ख्या वृद्धि

बागलुङ, २२ पुस । ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्यामा वृद्धि भएको छ । आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा दुई हजार २०२ वटा नाउर भेटिएका छन् ।

पाँच वर्षअघि भएको गणनाअनुसार एक हजार ६४८ नाउर आरक्षमा थिए । कार्यालयले प्रत्येक पाँच वर्षको फरकमा नाउरको गणना गर्ने गरेको छ । गत वैशाख÷जेठमा कार्यालयले आरक्षका सातमध्ये छवटा ‘ब्लक’ मा नाउर गणना गरेको थियो ।

सुर्तीवाङ ‘ब्लक’मा भने नाउर नपाइने आरक्ष कार्यालयले जनाएको छ । गणना वर्षलाई तुलनात्मक रुपमा हेर्दा नाउरको सङ्ख्या बढ्दै गएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

दसवर्ष अघि गरिएको गणनामा आरक्ष क्षेत्रमा जम्मा ७५५ नाउर फेला परेका थिए । ‘यो वर्ष गरिएको गणनामा ८३ समूहमा नाउर भेटिएका थिए’ अधिकृत बरालले भन्नुभयो “त्यसमध्ये भाले नाउर ६५६, पोथी नाउर एक हजार ४३६ र केही पनि नछुट्टिएका ११० नाउर फेला परे ।” टाढाबाट गणना गर्दा साना नाउरलाई भाले÷पोथी छुट्टाउन गाहे हुने उहाँको भनाइ छ ।

सिकार कार्यसँग अनुभवी स्थानीयवासीको सहयोगमा तीन टोली बनाएर आरक्षले नाउरको गणना गरेको थियो । जसमा आरक्षका कर्मचारी र भरिया सम्मिलित थिए । गणनापछि भेटिएका नाउरको सङ्ख्याको आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ ।

‘यो वर्ष नाउर गणना नगरे आउँदो सिकार याममा सिकारको लागि अनुमति रोकिने थियो, हामीले समयमै गणना गरेर प्रतिवेदन विभागमा पठाएका छौँ’ अधिकृत बरालले भन्नुभयो । हिउँ पर्ने याम र वर्षामा गणना गर्न नसकिने हुँदा वैशाख, जेठ महिना गणनाको लागि उपयुक्त मानिने आरक्षका ‘सिनियर गेम स्काउट’ तुलसीराम सुवेदीले बताउनुभयो ।

विभागले पछिल्लो समय गणनाको लागि छुट्टै बजेटको पनि व्यवस्था गर्ने गरेको छ । ढोरपाटन क्षेत्र अत्यन्त विकट रहेकाले गणना कार्य जटिल हुने गरेको कार्यालयका कर्मचारी बताउँछन् । कार्यालयदेखि पाँच÷सात दिनमा पुुगिने ठाउँसम्म आरक्ष क्षेत्र फैलिएको छ ।

यस आरक्षमा बर्सेनि २६ नाउरको सिकार खुल्ला गर्ने गरिएको छ । असोज मङ्सिरको पहिलो याममा १३ र फागुन–वैशाखको दोस्रो याममा १३ नाउरको सिकार ‘कोटा’ छुट्ट्याउने गरिएको छ ।

नाउरसँगै दुबै याममा ६÷६ गरी १२ झारलको सिकार अनुमति दिइने गरिएको छ । विदेशी सिकारी नाउरको सिकारमा बढी आकर्षित हुने गरेका छन् । बाख्रा र भेँडाजातिको बीचमापर्ने नाउर–४ हजारदेखि पाँच हजार मिटरको उचाइमा पाइने गरेको छ । सिकारको लागि विभिन्न सिकार एजेन्सीबीच प्रतिस्पर्धा चल्ने गरेको छ ।

ती एजेन्सीले विदेशी तालिमप्राप्त सिकारीलाई सिकार खेलाउने गरेका छन् ।


Facebook Comment


No ads found for this position